चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छः भुवन केसी

फाइल तस्बिर

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताएका छन्।

मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुने बताए।

उनले चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी आजै बुझाउने तयारी गरेको बताए। उनले विधेयकलाई छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता मिल्ने बताए।

उनले भने, ‘चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुन्छ । तसर्थ चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि यो क्षेत्र मर्यादित र व्यवस्थित बनाउनुपर्छ । माननीय मन्त्रीज्यु र श्रीमान सचिव ज्युको चासो र निर्देशन बमोजिम चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी बुझाउने छौँ । यसलाई सकेसम्म छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता हुनेछ ।’

संविधान दिवस २०८० को अवसरमा कलाकारिताको क्षेत्रबाट समाज र देशमा योगदान पुर्‍याएका  कलाकारहरु मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला लगायतका कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

 

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्