राजा महाराजाको बक्सिसबाट बनेको संविधान होइनः पूर्वमुख्यमन्त्री अधिकारी

फाइल तस्बिर।

पोखरा- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले वीर सहिदका रगतको मसीले लेखिएको संविधान खेलाची नभएको बताएका छन्।

गण्डकी प्रदेश सरकारले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले संविधानको बारेमा हल्का टिप्पणी गर्ने छुट कसैलाई नभएको बताए।

‘संविधानको अब औचित्य छैन भन्ने टिप्पणीहरु सुन्ने गरेको छु, यसको कुनै अर्थ छैन’, उनले भने, ‘संविधान नेपालको इतिहासमा जनताको प्रतिनिधिद्वारा पहिलो पटक आफैंले निर्माण गरेको संविधान सभाले बनाएको संविधानप्रति कसैको गुनासो हुनुलाई हामी समर्थन गर्न सक्दैनौं। राजा महाराजाको बक्सिसबाट, कसैको अनुकम्पबाट यो संविधान आएको होइन।’

सरकारको व्यवहार शैली र कार्यन्वयनलाई संविधानसँग दाज्न नसकिने उनको भनाइ छ।

‘सरकार फेरिन सक्छ। सरकारका शैलीहरू फेरिन सक्छन्। तर सरकारका काम कारबाहीलाई हेरेर नेपालको मूल कानुनप्रति टिप्पणी गर्नु सान्दर्भिक होइन’, नेकपा एमाले गण्डकी दलका नेता समेत रहेका अधिकारीले भने।

विकास निर्माणको काम धीमा गतिमा हुँदा जनआकर्षणमा उल्लासमय हुन नसकेको उनको स्विकारोक्ति छ। उनले प्रदेश सरकारले ऐन कानुन निर्माणमा ढिला गर्न नहुने बताए।

अब केन्द्रीय मानसिकताबाट नेपाल सरकार मुक्त हुन नसके संघियताप्रति प्रश्न उठिरहने उनको दाबी छ।

‘नेपाल सरकारका कतिपय राम्रा कुरा छन् तिनको हामी पक्षपोषण गर्न चाहान्छौं। नेपाल सरकारले खासगरीकन नयाँ संरचना प्रदेश सरकार हो। प्रदेशको औचित्यमाथि कतिपय हाम्रै कारण पनि प्रश्न उठेका सत्य हुन्’, अधिकारीले भने, ‘बारम्बार सरकार परिवर्तन भइरहनु २ महिना ३ महिनामा। अझ कोशी प्रदेशको त दिनदिनै हो कि जस्तो छ। त्यस कारण यसकाप्रति हामी कच्चा खेलाडी बन्न हुँदैन। त्यसको दोष संविधानलाई दिन पाइँदैन। हाम्रा क्रियाकलापले हामी दोषी हुन सक्छौं।’

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्