संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकतावद्ध हुन जरुरी: कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामूलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

बुधवार सविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री समेत रहनुभएका खड्काले अबको देशको कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताए।

उनले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशिघ्र साकार तुल्याउन अब सबै थप समर्पण भावका साथ जुट्नुपर्ने बताए।

उनले सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरूको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सक्दो प्रयास गरिरहेको समेत उल्लेख गरे।

कार्यवाहक प्रधानमन्त्री खड्काले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताए।

उनले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकतावद्ध हुन जरुरी रहेको बताए।

उनले संविधान देशको मुल कानून हुनका साथै समाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको पनि बताए।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्