कोशी सरकार मुख्यमन्त्री कार्यालयको कार्यक्रममै सीमित

मोरङ- मुलुकले संविधान दिवस मनाईरहँदा कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयभित्रको कार्यक्रममा सीमित बनेको छ।

प्रत्येक वर्ष संविधान दिवसका अवसरमा प्रदेश सरकारले गाजाबाजासहित सुरक्षाकर्मी, कर्मचारी, नागरिकको सहभागितामा प्रभातफेरिको आयोजना गर्दै मनाउने गरेको थियो। यसपटक भने प्रदेश सरकारले प्रभातफेरिलाई स्थगित गर्दै मन्त्रालयमा आयोजना गरिने कार्यक्रममा सीमित भएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्री तिलकुमार मेन्यांग्बोका अनुसार मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुखसहितको कार्यक्रम, स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम गरिरहेको बताए।

नवौं संविधान दिवसको शुभकामना ब्यक्त गर्दै मन्त्री तथा सरकारका प्रवक्ता मेन्यांग्बोका अनुसार सरकारले सहज रुपमा छोटो कार्यक्रमहरु मनाउने भएको हो। विगतमा जस्तो बिहानैबाट तामझामका साथ प्रभातफेरिबाट संविधान दिवस सुरु हुने गरिएको भएपनि यसपटक त्यसो हुन नसकेको उनको भनाइ छ। यद्यपि, मुख्यमन्त्री कार्यालयमा संविधान दिवसलाई भब्य रुपमा मनाइएको उनले बताए।

स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा समेत रहेका मेन्यांग्बोले संविधान दिवसलाई लक्षित गरि मन्त्रालयमातहतमा असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरिने, बृद्धबृद्धा, आश्रममा फलफुल वितरण लगायतका कार्यक्रम राखिएको जानकारी दिए। यसपटक भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयभित्र प्रदेश प्रमुख परशुराम खापुंग, मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आतिथ्यतामा कार्यक्रम गरिएको छ।

प्रदेश सरकार गठन भएको २०७५ सालमा तत्कालिन मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहांगको आतिथ्यतामा विराटनगरको सहिद मैदानमा तीनवटा सुरक्षा निकायको कवाज, विभिन्न जातजातीको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो। त्यसैगरी, गतवर्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईको आतिथ्यतामा विराटनगरको रानीदेखि उत्तर बरगाछीसम्म सडकमा बृक्षारोपण गरेर संविधान दिवस मनाइएको थियो। सो क्रममा सडक डिभाइडमा २ हजार १ सय ५० वटा विभिन्न प्रजातिका विरुवा रोपिएको थियो।

अर्कोतर्फ, पहिचानवादीको आन्दोलनका कारणसमेत प्रदेशमा संविधान दिवसको केही कार्यक्रम सीमित गरिएको हो। प्रदेशको नामाकरण खारेजीको माग गर्दै आएका पहिचानवादीहरुले मंगलबारबाट पुनः आफ्नो आन्दोलन अघि बढाएकाछन्। प्रदेश राजधानी विराटनगरका केही भागलाई केन्द्रीत गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेबाट दुई महिनासम्म निषेधाज्ञा जारी गरेकाछन्।

२०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेसंग प्रत्येक वर्ष संविधान दिवस मनाउने गरिन्छ‍।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्