शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्छः नेता थापा

फाइल तस्बिर।

काठमाडौँ – कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन्।

बिहीवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग उनले कोशी सरकार गठन समस्याको रुपमा रहेको बताए।

उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए। उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए।

उनले कांग्रेसले मध्यावधिमा जान नचाहेको भन्दै मध्यावधिमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पारे।

उनले भने, ‘कोशी सरकार गठन समस्याको रुपमा छ। कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ। भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदै छ। विकास निर्माण ठप्प छन्। केन्द्रीय नेताको सहमति र निर्णयबाट विशेष ढंगले सोच्नुपर्छ। हामीले चाह्यौँ भने मध्यावधिमा जान र मध्यावधिबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावधि होइन। त्यहाँको समस्या समाधान मध्यावधिमा गएर हुने होइन।’

कांग्रेस नेता थापाले प्रदेशलाई अधिकार सम्पन्न नबनाए संघीयता कमजोर हुने बताए। उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए।

नेता थापाले कांग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भए पनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताए।

संघीयता सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको भनाइ छ।

असोज ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्