निजी क्षेत्रको मनोबल बढाउन बैंकले ब्याजदर घटाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्।

बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए।

अर्थमन्त्री महतले बैंकहरूले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्टि जनाए। उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरूले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गरे। उनले पछिल्लो समय बैंकहरूलाई लगानी नगर् भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताए। उनले अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताए।

उनले निजी क्षेत्रले अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने बताए। उनले बैंकहरूले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरूले ब्याज बढाउनु राम्रो नभएको बताए।

उनले सरकारी बैंक ब्याजदर घटाएको भन्दै अन्य बैंकले पनि ब्याजदर घटाउने तर्फ ध्यान दिन आवश्यक रहेको बताए। अर्थमन्त्री महतले निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा लगानीमा टेक्टोलोजी प्रणालीमा अग्रणी भूमिका खेल्न आवश्यक रहेको बताए।

उनले निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेपकर्ताको लगानी जोखिमलाई न्यूनीकरण गर्न सके मात्रै निक्षेप बढ्न सक्ने बताए।

उनले स–साना बचत कर्जा र उद्यमहरूको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जान सक्ने बताए।

त्यस्तै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मुलुक अर्थतन्त्रलाई सपोर्ट गर्ने कर्जालाई प्राथमिता दिनु पर्ने बताए। उनले बैंकको कर्जा दिगो विकासको लागि ग्यारण्टी गर्नसके मुलुकको अर्थतन्त्रमा सुधार आउने बताए। उनले त्यसबाट बैकहरूलाई पनि राम्रो हुने अवस्था रहेको बताए।

उनले भदौमा बैंकबाट ४१ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको बताए। उनले गत वर्ष भदौको भन्दा यो वर्ष राम्रो सुधार भएको बताए।

उनले मुलुकको वित्तीय परिसूचक प्रायः सबै राम्रो रहेको बताए। उनले बैंकको कर्जाको ब्याजदर पनि १३ प्रतिशतबाट १२ प्रतिशतमा आएको बताए।

असोज ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्