यु–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिकः समूह चरणमा उपाधि दाबेदार टोलीसँग भिड्दै नेपाल

फाइल फोटो।

काठमाडौँ – श्रीलंकामा २०२४ को जनवरीमा हुने आइसिसी यु–१९ विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। १६ टोली सहभागी प्रतियोगितामा ४ समूह बनाएर खेल तालिका सार्वजानिक गरिएको हो। नेपालले समूह ‘डी’मा रहेर पाकिस्तान र न्युजिल्यान्डसँगै अफगानिस्तानको सामना गर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल उपाधि दाबेदार टोलीसँग समूह चरणमा भिड्ने छ।

सार्वजानिक तालिकाअनुसार पहिलो खेलमा नेपालले १३ जनवरीमा न्युजिल्यान्डविरूद्ध खेल्ने छ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग खेल्दा समूह चरणको अन्तिम खेलमा २० जनवरीमा अफगानिस्तानको सामना गर्नेछ।

यो संस्करणको यु–१९ विश्वकपमा आइसिसीले प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ। १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्। अर्को समूहबाट आफ्नोभन्दा फरक स्थानमा छनौट भएका टोलीसँग यी दुई खेल हुनेछन्।

नेपाल रहेको समुह ‘डी’का शीर्ष टोली भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको समूह ‘ए’का शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह ‘बी’मा रहेका इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्डमध्ये शीर्ष तीन टोलीले समूह ‘सी’मा रहेका अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबियाबाट छानिएका शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह ‘ए’को चौथो टोलीले समूह ‘डी’को चौथोसँग र समूह ‘बी’को चौथो टोलीले समूह ‘सी’को चौथोसँग खेलेर प्रतियोगिता टुंग्याउने छन्। सुपर सिक्स चरणमा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनोट हुनेछन्।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्