एसियाडमा नेपालः आज फुटबलसहित सबै इभेन्टमा पराजित

काठमाडौँ – १९ औँ एसियाली खेलकुदमा नेपाल महिला फुटबलको पहिलो खेलसँगै आज (शुक्रबार)का दुई इभेन्टका तीन स्पर्धामा नै पराजित भएको छ। महिला फुटबलमा नेपाल भियतनामसँग २–० ले पराजित हुँदा टेबलटेनिसमा महिलातर्फ सिंगापुर र पुरुषतर्फ जापानसँग पराजित भएको छ।

फुटबलमा नेपाली महिला टिमले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा दुई गोल खान पुगेको थियो। भियतनामलाई फाम हाइ एनले ५३ औं मिनेट गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। टिमका लागि दोस्रो गोल ६४ औँ मिनेटमा एनगुएन थि बिच थाइले गरेकी थिइन्। नेपालले अब दोस्रो खेलमा २५ सेप्टेम्बरमा जापानसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार नै टेबुल टेनिसअन्तर्गतको स्पर्धाअन्तर्गत खेलिएको समूह ‘एफ’ को प्रारम्भिक चरणमा महिला र पुरुष इभेन्टमा नै नेपाल पराजित भएको छ। महिलातर्फ नेपाल सिंगापुरसँग ३–० को सेटमा पराजित भयो। नेपालकी नविता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०–३ सेटले पराजित हुँदा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०–३ कै सेटमा पराजित भइन्। त्यस्तै, इभाना थापा मगर पनि सिंगापुरकी प्रतिद्वन्द्वी रु झिनसँग ०–३ सेटले पराजित भइन्।

त्यस्तै, पुरुषतर्फ समूह ‘बी’मा रहेको नेपालले प्रारम्भिक चरणको खेलमा जापानसँग ३–० को सोझो सेटमा पराजित भयो। पहिलो खेलमा जापानका तोमोकाजु हारिमोतोले नेपालका रुविन महर्जनलाई ३–१ को सेटमा पराजित भए।

त्यस्तै, अर्को खेलमा जापानका माहरु योसिमुराले नेपालका संयोग कपालीलाई ३–० को सेटमा पाखा लगाए। तेस्रो खेलमा जापानका सुनसुके तोगामीले नेपालका विलास श्रेष्ठलाई ३–० सेटमा पराजित गरे। यसअघि एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्