ओलीको टिप्पणीः सरकारले अपराधको राजनीतिकरण गर्‍यो

फाइल फोटो।

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे।

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको भनाइ थियो।

शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको बताए।

फागुन १ गते माओवादी विद्रोहको सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो लिएको जिकिर गरे। अध्यक्ष ओलीले सरकारले ध्यान गरिबी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्