जिल्लास्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरिने

सिमकोट – कात्तिक ११ गतेबाट जिल्लास्तरीय रानीबन गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। रानीबन युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

क्लबका संस्थापक सदस्य धीरज रोकायाका अनुसार हालसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता आयोजना हुनेछ। खुला प्रतियोगिता भएका कारण जिल्लाभरिका क्लब र छिमेकी जिल्लाको समेत प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

खेल मैदानको चौडाइ कम भएका कारण नाइन एसाइटका रुपमा प्रतियोगिता सञ्चालन गरिनेछ। यसका लागि प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ।

यसअघि जिल्लामा सञ्चालित फुटबल प्रतियोगितामा ५० हजारसम्म पुरस्कार राशि थियो। रानीबन गोल्ड कपलाई क्लबले बर्सेनि सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगिताका लागि लाग्ने खर्चका लागि क्लबले प्रतियोगी क्लबबाट टिम दर्ता शुल्क र सहयोग जुटाइनेछ।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्