क्रिकेटको विस्तार र सवलीकरणमा उच्च प्राथमिकता दिन्छौँः कार्यबाहक प्रधानमन्त्री खड्का

फाइल तस्बिर।

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा सुरु भएको नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रस्तुति गौरवयोग्य रहेको बताए।

उनले चुनौतीहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियामक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए।

उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरे।

उनले नेपाली टिमको औसत उमेर हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताए। उनले क्रिकेटको विस्तार र सवलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिबद्धता जनाए।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्