जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्ला अस्पताललगायत सात वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लाभरिका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिकास्तरमा ०७९÷८० मा भएका कामको लेखाजोखा सुरु भएको बताए।

यसका लागि समीक्षाको पहिलो दिन स्वास्थ्य सेवा कार्यालय, सिमकोट, नाम्खा, खार्पुनाथ, चंखेली गाउँपालिकाको प्रगति प्रस्तुति गर्ने कार्य भएको छ भने दोस्रो दिन जिल्ला अस्पताल, र बाँकी गाउँपालिकाका हुनेछ।

गाउँपालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि चालिएका कदमको विवरणसमेत प्रस्तुत गरिएको थियो। प्रस्तुतिलाई आधार बनाएर सबै स्वास्थ्य संस्थाको काम र स्वास्थ्य अवस्थाको मुल्याङ्कन गर्न एक मूल्यांकन समिति पनि निर्माण गरिएको छ।

सो समितिले कार्यक्रमको अन्तिम दिन आफ्नो प्रतिवेदन सार्वजनिक गरेर जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थासमेत घोषित गरिनेछ।

यसअघि चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले कार्यक्रम सुरु गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया भामलगायत सहभागी थिए।

असोज ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्