‘प्रहरी निष्ठापूर्वक, उच्च मनोबलसाथ नागरिक सेवामा लाग्नुपर्छ’

मोरङ – कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाले प्रहरीले निष्ठापूर्वक, इमान्दारीसहित उच्च मनोबलसाथ नागरिक सेवामा लाग्नुपर्ने बताएका छन्।

विराटनगरस्थित कोसी प्रदेश प्रहरी तालिम केन्द्रमा आइतबार आयोजित दीक्षान्त कार्यक्रम समारोहमा प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी पेशा चुनौती र जोखिमपूर्ण रहेको बताए।

प्रदेश प्रहरी प्रमुख बास्तोलाले समाजमा देखिने जोखिमलाई चिर्दै नागरिकको सेवा र अमनचैन कायम गर्न प्रहरी सदैव तयार रहनुपर्नेमा जोड दिए।

उनले दीक्षित भएका २९५ जना प्रहरी जवानका परिवारलाई धन्यवादसमेत दिए। उनले भने, ‘प्रहरीको पेशा मर्यादित भएको हुदाँ, सधैँ मन बचन र कर्मले निष्ठापुर्वक, इमान्दार र बफादारी भई उच्च मनोवलका काम गर्नुपर्छ। यहाँ जोखिम र चुनौती पनि छन्। यसका बाबजुद प्रहरीको सदस्यमा परिवारलाई प्रवेश गराउन हौसला प्रदान गर्ने सबै प्रहरी परिवारका सदस्यलाई धन्यवाद छ।’

कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले गतिशील समाजको लागि संगठनले अपेक्षा गरेअनुसार प्रहरीले निष्ठापूर्वक काम गर्नुपर्नेमा जोड दिए।

प्रहरी जवान १ सय ४० औँ समूहको आधारभूत तालिममा सहभागी हुँदै ५३ महिला र २ सय ४२ पुरुष दीक्षित भएका हुन्। ०७९ साल कात्तिक २० गतेदेखि सञ्चालित २ सय ३४ कार्यदिनको आधारभूत तालिमपछि उनीहरूलाई दीक्षित गरिएको हो।

असोज ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्