पालले छोपेर प्रहरी चौकी सञ्चालन गर्नुपर्ने बाध्यता

सिमकोट- हुम्लाको नाम्खा गाउँपालिका- ५ मा रहेको यारी प्रहरी चौकीको कार्यालय भवनलाई पालले छोपेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।

माटोले छापेको भवनमा पानी पर्दा चुहिने समस्या भएको कारण पालले ढाक्नु परेकाे हाे।

यारी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तेजेन्द्र ऐरीले बर्खाभरि पालले छोपेर प्रहरीचौकी भवनमा बस्नु परेको जानकारी दिए।

प्रहरी चौकी व्यक्तिकाे घरमा भाडामा बस्दै आइरहेकाे छ।

तीन कोठे भवनमा एउटा कार्यालय र दुई कोठामा एउटा भान्सा र अर्कोमा सबै प्रहरी बस्छन्।

दशजना प्रहरी दरबन्दी रहेको सो चौकीमा हाल आठजना प्रहरी कार्यरत रहँदै आएका छन्।

यारीको दहमा रहेको प्रहरी चौकीका लागि नयाँ भवन भाडामा लिन खोज्दा स्थानीय दिन नमानेकाे समेत प्रहरीको भनाइ छ।

जनताको शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरीलाई पानी परेको बेला आफ्नै सुरक्षा गर्न समेत कठिन अवस्था रहेको छ।

यो समस्या बर्खामा मात्र प्रहरीले भोग्नु परिरहेको छैन, हिउँदमा हिमपात भएको बेला उस्तै समस्या रहेको निरीक्षक ऐरीले बताए।

प्रहरी चौकीको नाममा जग्गासमेत नभएको कारण आफ्नो भवन निर्माण गर्न सकिने अवस्था समेत रहेको छैन।

असोज ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्