धानमा गबारो रोग लागेपछि पर्साका किसान चिन्तित

वीरगञ्ज- धान बालीमा अहिले विभिन्न किसिमको रोगको संक्रमण बढेपछि पर्साका किसान चिन्तित बनेका छन्। पर्सामा किसानहरूले लगाएको धान बालीमा गवारो रोग र धानको बोट कुहिने रोग लागेको छ।

यो रोग लागेपछि किसानहरू भने समस्यामा परेका छन्। औषधि छर्केपनि रोग निको नभएपछि किसानहरू मारमा परेका हुन्। धान रोप्नुअघि र बिउ राख्ने बेला खडेरीको मार खेपेका पर्साका किसानले अहिले रोगको संक्रमण बढेपछि चिन्तित बनेका हुन्।

रोग लागेर बोट नसप्रने, पात सडेर गल्ने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। पर्साको ठोरी,जिराभवानी,पटेर्वा सुगौली गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका लगायतका स्थानमा ग्वारो रोगको प्रकोप बढी देखापरेको छ।

पालिकामा थुप्रै किसानहरूले लगाएको बालीमा गवारो रोग देखिएको पटेर्वा सुगौली गाउँपालिका ४ सुगौलीका किसान जगतनारायण पञ्जियारले बताए। यसपालि मलखादको सहज आपुर्ति भएका कारणले किसानहरुले यसपालि मलको मात्रामा ध्यान नदिदा धानबालीमा प्राय रोग देखा परेको छ।

पर्साको ग्रामीण भेगमा विशेष गरी किसानहरूले लगाएको धानमा रोग देखा परेकोले समबन्धित निकायसित किसानको समस्या समाधान गरिदिन पहल गरेको किसान हकहित सँघर्ष समितिका अध्यक्ष सहरुम गदीको भनाइ छ। पर्साका अधिकांश किसानहरूले नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानको खेती गर्दै आइरहेका छन्।

यस वर्ष पनि किसानहरुले सोना मन्सुली धान नै बढी खेतमा लगाएका छन्। यो धानले उत्पादन बढी दिने भएपनि रोगसमेत बढी लाग्ने गरेको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए।

अहिले किसानहरुले लगाएको धानबालीमा देखिएको ग्वारो रोग नियन्त्रणको लागि ५०५ नामक औषधि तथा साईपरमेथिन नामक औषधि एक लिटर पानीमा २ एमएल मिलाएर छर्कनुपर्ने उनले सुझाव दिए।

पर्सामा कुल ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

असोज ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्