सिमकोट – ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ। महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न गरेका हुन्।

खार्पुनाथ गाउँपालिका–५ का वडाअध्यक्ष भरतजंग शाहीका अनुसार देउडा महोत्सव आयोजना गरिएको होे। गौरा पर्वको बेला महिला–पुरुष मिलेर देउडा गीतसमेत गाउने भएको कारणले यसको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव नै आयोजना गरिएको होे।

जिल्लामा देउडा गायनमा ख्याति कमाएका देउडा गायकले दुई दिन लगातार देउडा गाउँदै नाचेका थिए। पछिल्लो समय गौरा पर्वमा देउडा गाउन कम भएको महसुस भएपछि पर्व सकिएलगत्तै महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा पुरुषमा भानुभक्त जैसी र मनराज शाहीको समूहले देउडा गाएको थियो भने महिलामा विपना शाही र राधिका शाहीको समूह थियो।

दुवै दिन पाँच–पाँच घण्टासम्म लगातार महिला र पुरुषले गीत गाएका थिए। यसका लागि जिल्लाका सातमध्ये पाँच वटा गाउँपालिकाका दर्जनभन्दा बढी गाउँका देउडा पारखीले देउडा गाएका थिए।

महोत्सव आर्थिक र अन्य व्यवस्थापन वडाले गरेको हो। देउडा गायक भानुभक्त जैसीले यसरी बेला–बेला कार्यक्रम आयोजना गरे देउडाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

असोज ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्