नेपालमा ब्रिटिस काउन्सिल आइइएलटिएसले सुरु गर्‍यो वन स्किल रिटेक

काठमाडौं- ब्रिटिस काउन्सिल आइएएलटिएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) सुरु गरेको छ।

यो सुविधा सुरु भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन।

वन स्किल रिटेकमा आइइएलटिएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ। सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ।

परीक्षाको ढाँचा र समय सामान्य आइइएलटिएस परीक्षामा व्यक्तिगत सीप जाँचेजस्तै हुनेछ। तर परीक्षार्थीहरूले अन्य तीन सीपको परीक्षा दिन भने आवश्यक हुने छैन। जसले गर्दा समयको बचत हुनेछ।

आइइएलटिएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर सुरु गरिएको ब्रिटिस काउन्सिलका आइइएलटिएस निर्देशक एन्ड्र्यू म्याकेन्जीले बताए।

‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने, ‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा शीपमा दोहोर्‍याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं।’

आइइएलटिएसवन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरीकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन्।

आइइएलटिएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन्। यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ।

पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहोर्‍याएर दिएको सीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन्।

आइइएलटिएस वन स्किल रिटेकका लागि सुरुको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ।

ब्रिटिस काउन्सिल आइइएलटिएस

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपूर्णता परीक्षा हो।

विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आइइएलटिएसमाथि विश्वास गरेका छन्। यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन्

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्