कोशी प्रदेशः पूर्वमन्त्री लिम्बुले अझै छाडिनन् क्वार्टर, पर्खिँदै मन्त्री मेन्याङ्बो

निर्मला लिम्बु। फाइल फोटो।

मोरङ – कोशी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले पदीय जिम्मेवारी वहन गरे पनि सरकारी निवास सर्न पाएका छैनन्।

पूर्व स्वास्थ्यमन्त्री तथा जसपा प्रदेश सभा सदस्य निर्मला तावा लिम्बुले मन्त्रालयको क्वार्टर नछाडेपछि नवनियुक्त मन्त्री मेन्याङ्बो निवास सर्न ढिलाइ भएको हो।

मन्त्री मेन्याङबोले सोमबार मन्त्रिमण्डल विस्तार भएसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २२ गते मन्त्रिमण्डल विस्तार गर्दा उनले स्वास्थ्यसँगै खोनपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यसयता उनी खानेपानी मन्त्रालयको क्वार्टरमा बसोबास गरिरहेका थिए। सो समय उद्धव थापा नेतृत्वको मन्त्रिमण्डलमा रहेका खानेपानीमन्त्री प्रदीपकुमार सुनुवारले दुई दिनको समय लिएर निवास छाडेका थिए।

तर, हाल खानेपानी मन्त्रालय बुद्धीकुमार राजभण्डारीको जिम्मेवारीमा र मेन्याङ्बो स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा बाँडिएपछि क्वार्टरको आवश्यकता देखिएको हो।

‘मन्त्रीमण्डल विस्तार नहुञ्जेल विराटनगरको दुधफारममा रहेको खानेपानी मन्त्रालयको क्वार्टरमा मन्त्रीज्यूको बसोबास भएको थियो। तर, हाल मन्त्रालय नै परिवर्तन भइसकेको अवस्थामा सो निवास छाडेर आफ्नो निवासमा सर्नुपर्ने भयो। तर, पूर्वमन्त्रीले निवास नछाडेको हुँदा समस्या भएको हो,’ सचिवालयको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले पूर्वमन्त्री लिम्बूलाई क्वाटर खाली गरिदिन आग्रह गरे पनि खाली हुन नसकेको बताउँछन्। अर्कोतर्फ, नवनियुक्त मन्त्री मेन्याङ्बोले एक साताको समय पर्खने भएका छन्। उनको सचिवालयका अनुसार एक सातासम्म निवास खाली गर्नुपर्ने प्रावधान कानूनतः भएको हुँदा त्यसबेलासम्मका लागि पर्खने भएका हुन्।

पूर्वमन्त्री लिम्बू गतवर्ष पुष ९ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री भएकी थिइन्। प्रदेश सरकारमा पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएकी लिम्बू पार्टी निर्णयअनुसार २०८० जेठ १७ गते सरकारबाट बाहिरिएकी थिइन्।

त्यसपछि, साउन २६ गते कांग्रेस नेतृत्वको सरकार हुँदा मन्त्री नियुक्त भएकी लिम्बू २८ दिन जिम्मेवारीमा रहेकी थिइन्। भदौ २१ गते सर्वोच्च अदालतल‍े मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत खारेज गरेसँगै लिम्बू मन्त्री पदबाट मुक्त भएकी थिइन्। मन्त्री पदबाट मुक्त भए पनि लिम्बू सरकारी क्वार्टरबाट नबाहिरिएको मन्त्रालयका कर्मचारी बताउँछन्। पूर्वमन्त्री लिम्बू हाल काठमाडौँमा छिन्।

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्