मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा नेपालको विश्व कीर्तिमानी स्कोर

हाङझाउ- १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेटकै उच्च स्कोर बनाउन सफल भएको छ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रनको उच्च स्कोर बनायो, जुन टी-२० क्रिकेटकै सर्वाधिक उच्च स्कोर हो।

यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २०१९ र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।

कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेको खेलमा दीपेन्द्रले १० बलमै अर्धशतक प्रहार गरे। कुशल ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १ सय ३७ रनमा अविजित रहँदा उनलाई ऐरीले १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएर साथ दिए।

दिपेन्द्र टी-२० इतिहासमा नै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले ९ बलमा नै ५० रन पुरा गरे।

चीनको हाङझाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि मल्लले विष्फोटक इनिङ खेले।

उनले ३४ बलमानै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० मा शतक प्रहार गर्ने खेलाडी बने। यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा रहेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।

त्यस्तै, कप्तान रोहित पौडेलले ६१ रन बनाउँदा कुशल भुर्तेलले १९ तथा आसिफ शेखले १६ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १० बलमा नै ५२ रनको अविजित इनिङ खेलेका थिए।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्