मंगोलियाविरुद्ध नेपालको टी-२० क्रिकेट इतिहासकै फराकिलो रन अन्तरको जित

हाङझाउ- १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ।

नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो।

यसअघि टी-२० क्रिकेटको इतिहासमा सर्वाधिक फराकिलो जित चेक रिपब्लिकको नाममा रहेको थियो। चेक रिपब्लिकले २०१९ मा टर्कीविरुद्ध २ सय ५७ रनको जित निकालेको थियो।

मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने, करण केसी, अभिनास बोहराले समान २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

मंगोलियाका लागि दावासुरेन जमयनसुरेनले १० रन बनाउनु सर्वाधिक रह्यो। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। १३.१ ओभरमा ४१ रनमा मंगोलिया अलआउट भएको थियो।

त्यसअघि नेपाले विश्व कीर्तिमानी स्कोर बनाएको थियो। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रनको उच्च स्कोर बनायो। जुन टी-२० क्रिकेटकै सर्वाधिक उच्च स्कोर हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड विरुद्ध २०१९ र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।

कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेको खेलमा दीपेन्द्रले १० बलमै अर्धशतक प्रहार गरे। कुशल ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १ सय ३७ रनमा अविजित रहँदा उनलाई ऐरीले १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएर साथ दिए। दीपेन्द्र टी-२० इतिहासमा नै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले ९ बलमा नै ५० रन पूरा गरे।

चीनको हाङझाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि मल्लले विष्फोटक इनिङ खेले। उनले ३४ बलमा नै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० मा शतक प्रहार गर्ने खेलाडी बने।

यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा रहेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।

त्यस्तै, कप्तान रोहित पौडेलले ६१ रन बनाउँदा कुशल भुर्तेलले १९ तथा आसिफ शेखले १६ रन बनाए। दिपेन्द्र सिंह ऐरीले १० बलमानै ५२ रनको अविजित इनिङ खेलेका थिए।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्