मंगोलियाविरुद्ध नेपालले बनाएका यी पाँच दुर्लभ विश्व कीर्तिमान

फाइल तस्बिर।

काठमाडौं- १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मंगोलियाविरुद्ध प्रतिस्पर्धा गर्‍यो। प्रतिस्पर्धामा नेपालले मंगोलियाविरुद्ध दुर्लभ कीर्तिमानहरू बनाउन सफल भयो आउनूहोस् टी-२० अन्तराष्ट्रियमा नेपालले बनाएका पाँच विश्व कीर्तिमानबारेमा छाेटकरीमा छलफल गरौं।

सर्वाधिक धेरै रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलियालाई ३ सय १४ रनको लक्ष्य प्रस्तुत गर्‍यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाएर नेपालले सर्वाधिक रनको कीर्तिमान बनायो। यो विश्वमा टी-२० क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान हो।

यसअघि यो कीर्तिमान अफगानिस्तान र चेक रिपब्लिकको नाममा थियो। यसअघि आयरल्यान्डविरुद्ध २०१९ को फेब्रुअरीमा अफगानिस्तान र २०१९ कै अगस्टमा चेक रिपब्लिकले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।

सर्वाधिक चाँडो शतक

मंगोलियाविरुद्ध सर्वाधिक धेरै रनको स्कोर बनाउँदा नेपालका कुशल मल्लले विश्व कीर्तिमानी इनिङ खेले। उनले ३४ बलमै शतक हानेका थिए। टी- २० क्रिकेट इतिहासकै सर्वाधिक चाँडो शतक हो। यसअघि टी-२० क्रिकेटमा सर्वाधिक छिटो शतक ३५ बलमा रहेको छ।

२०१७ मा दक्षिण अफ्रिकाका डेभिड मलरले बंगलादेशविरुद्ध, २०१७ मा नै भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध र २०१९ मा चेक रिपब्लिकनका सुदेश विक्रमशेकराले टर्की विरुद्ध ३५ बलमा शतक हानेका थिए।

सर्वाधिक चाँडो अर्धशतक

नेपालले मंगोलियाविरुद्ध चाँडो शतकसँगै सर्वाधिक चाँडो अर्धशतकको कीर्तिमानसमेत बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले १६ वर्षपछि भारतीय खेलाडी युवराज सिंहको कीर्तिमान तोडे।

ऐरीले मंगोलियाविरुद्ध ९ बलमा नै अर्धशतक प्रहार गरे। यसअघि भारतीय खेलाडी सिंहले इंगल्यान्ड विरुद्ध डर्विनमा २००७ मा १२ बलमा अर्धशतक बनाएका थिए।

दीपेन्द्र नेपालबाट लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडीसमेत बने।

टी-२० इतिहासमा एकै इनिङमा सर्वाधिक छक्का

नेपालले टी-२० अन्तराष्ट्रिय क्रिकेट इतिहासमा एकै इनिङमा कुनैपनि टिम विरुद्ध सर्वाधिक छक्काको कीर्तिमान पनि बनायो। नेपालले मंगोलिया विरुद्ध पहिलो ब्याटिङ गर्दै ३ सय १४ रन बनाउँदा सर्वाधिक २६ छक्का प्रहार गर्योय। जुन टी-२० क्रिकेट इतिहासकै सर्वाधिक छक्का हो। यसअघि लेगेन्ड्सले कावुल जवाना विरुद्ध सारजाहामा २३ छक्का हानेको थियो। टिमका रुपमा भने अफगानिस्तानले आयरल्यान्ड विरुद्ध २०१९ मा र वेस्टइन्डिजले आयरल्यन्ड विरुद्ध देहरादुनमा २०१९ मा समान २२ छक्का प्रहार गरेको थिए।

सर्वाधिक फराकिलो रन अन्तरको जित

मंगोलिया विरुद्ध कीर्तिमानी जित निकालेको नेपालले पाँचौ विश्व कीर्तिमानका रूपमा सर्वाधिक फराकिलो रन अन्तरको जित रह्यो। नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो। यसअघि टी-२० क्रिकेटको इतिहासमा सर्वाधिक फराकिलो जित चेक रिपब्लिकको नाममा रहेको थियो। चेक रिपब्लिकले २०१९ मा टर्कीविरुद्ध २ सय ५७ रनको जित निकालेको थियो।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्