एमाले बागमतिमा सर्वसहमतिको प्रयास विफल, ४ बजेदेखि मनोनयन

एमाले बागमति प्रदेश अध्यक्षका आकांक्षी कृष्णप्रसाद दाहाल (दायाँ) र कैशाल ढुंगेल(बायाँ)।

काठमाडौँ – एमाले बागमति प्रदेशको अध्यक्ष सर्वसहमत छानिने संभावना करिब सकिएको छ।

निर्वाचन मण्डलले निर्वाचनको कार्यतालिका सुरु हुुनअघि बुधबार बिहान सर्वसहमतिका लागि गरेको प्रयास विफल भएसँगै मुख्य नेतृत्व चयन चुनावबाटै हुने भएको हो।

निर्वाचन मण्डलका अध्यक्ष गुरु बरालको प्रयासमा बिहान भएको छलफलमा विना निष्कर्ष सकिएको हो। अध्यक्षमा नभए पनि अरु पदमा सर्वसहमतिको कोसिस भइरहेको निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

उनले भने, ‘निर्वाचन मण्डलले इमानदार प्रयास गरेको हो। एक दुईवटा पदमा सर्वसहमत नभए पनि २४० वटा पदको चुनाव गर्नुछ। हामीले जिल्ला जिल्लालाई सहमति गरेर उम्मेद्वार दर्ता गराउनुहोस् भनेका छौँ।’

सोमबार सुरु भएको अधिवेशनले एक अध्यक्षसहित पाँच पदाधिकारी रहेको २४० सदस्य प्रदेश कमिटि गठन गर्नेछ।

अध्यक्षका आकांक्षी कृष्णप्रसाद दाहालले सहमितका साथ चुनावमा जाने बताए। उनले भने, ‘चुनावमा जान्छौँ भन्नु पनि सहमति नै हो। विमत राखेर त कसरी चुनाव हुन्छ र?’

प्रदेश अध्यक्षका लागि दाहालसहित हालका अध्यक्ष केशव पाण्डे, कैशाल ढुंगेल पनि प्रतिस्पर्धामा छन्। केन्द्रीय नेतृत्वले सर्वसहमत नेतृत्व चयनका लागि दबाब दिए पनि त्यसको सभावना सकिएको छ। निर्वाचन मण्डलका अर्का सदस्य रामेश्वर फुयालले भने सर्वसहमतिको कोसिस भइरहेको र त्यसको संभावना नसकिएको दाबी गरे। उनले भने, ‘कोसिस जारी छ। हामी सर्वसहमत नेतृत्व चयनका लागि रहेका छौँ।’

चुनावका निर्वाचन मण्डलले प्रतिनिधहरुको सूची सार्वजनिक गरेको छ। एक हजार एस ७४ जना प्रतिनिधिको नाम सार्वजनिक भएको छ। उम्मेद्वारी दर्ता दिँउसो ४ बजेदेखि ६ बजेसम्म हुनेछ। ३ बजेदेखि मनोनयन पत्र वितरण गरिने तामाङले जानकारी दिए। मतदान बिहीबार बिहानदेखि तोकिएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्