अशान्त पोखरा

डाक्टरको विरोध प्रदर्शन, मृतकका आफन्तले गरे चक्काजाम

पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर कुटिएको घटना अझै सेलाएको छैन। पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएका स्वास्थ्यकर्मीले बुधबार विरोध प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पोखराका स्वास्थ्यकर्मीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। मणिपाल शिक्षण अस्पताल फुलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरे।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयनको माग स्वास्थ्यकर्मी राखेका छन्।

विरोधमा सहभागी स्वास्थ्यकर्मीले ‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म ?’ ‘दोषिलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायत प्लेटकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोखरा अशान्त छ।

आइतबार अस्पताल भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा अस्पतालले मृत घोषणा गरेको थियो। मृतकका आफन्त अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए।
आक्रोशित मृतकका आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरे। त्यसैको विरोधमा डाक्टर विरोधमा उत्रिएका हुन्।

मृतकका आफन्तसहित अहिले प्रदर्शनसहित चक्काजाम गराइरहेका छन्। महेन्द्रपुलबाट प्रदर्शनसहित मृतक पक्षधरको भीड चक्काजाम गराउँदै पृथ्वीचोकतर्फ लागेको छ।

चिकित्सकको कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो। उनलाई जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

बिरामीको मृत्यु भएपछि नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर मंगलबार छाडिएको छ। मणिपालको तनावग्रस्त स्थिति नियन्त्रण लिन पुगेका ४ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले दाबी गरेको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्