नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका– २, मदुईमा मृत अवस्थामा बाघ फेला परेको छ। केही दिनदेखि स्थानीयको पशुमाथि निरन्तर आक्रमण गरिरहेको बाघ मृत भेटिएको हो। अशोक सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख ९वार्डेन० श्यामकुमार शाहले जानकारी दिए।

बाघको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ। पोष्टमार्टम पछि बाघलाई कसैले मारेको हो या मरेको भन्ने थाहा हुने वार्डेन शाहले बताए।
मदुईमा केही दिनदेखि बाघले चराउन लगेका पशुमात्रै होइन, गोठमै आएर पशुमाथि आक्रमण गर्ने गरिरहेको थियो।

यो कुरा वार्डेन शाहसमक्ष स्थानीयले गुनासो गरेका थिए। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि बाघ सामुदायिक वनतिर देखिने गरेको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्