बक्सिङमा आशा गरिएकी सुष्मा एशियाडमा पराजित

बक्सिङमा आशा गरिएका दुई खेलाडी सुस्मा तामाङ र भुपेन्द्र थापाको जारी १९ औं एसियाडमा चुनौती समाप्त भएको छ ।

हाङझाओको जिम्नाजियम बुधवार पुरुष ६३.५ केजीमुनि भुपेन्द्र चाइनिज ताइपेइका लाई चुन इनसँग र सुस्मा महिला ५० केजीमुनि कजाखस्तानकी किजाइबे नाजिमसँग पराजित भएका हुन् । भुपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुद(साग) मा स्वर्ण विजेता हुन् भने सुस्माले नेपालको बक्सिङ इतिहासमा ऐतिहासिक सफलताको कीर्तिमान छ । सुस्माले गत वर्ष थाइल्याण्डमा यु–२२ एएसबिसी बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिइन् । यसै एशियाली खेलकुदका लागि नेपालको बक्सिङले विदेश प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर पनि पाएको थियो ।

त्यसकारण पनि बक्सिङबाट पदकको आशा गरिएको थियो । अनुभवी बक्सर भुपेन्द्र र पछिल्लो वर्ष मात्र ऐतिहासिक पदक ल्याएकी सुस्माबाट सुखद प्रदर्शन हुने आशा रहेपनि उनीहरूले पहिलो खेल नै जित्न सकेनन् । सुस्मा अन्तिम १६ मा कजाखस्तानकी नाजिमसँग ५–० ले सहजै पराजित भइन् । भुपेन्द्रले भने एक जजको नतिजा बराबरीमा पारे पनि ४–० को नतिजा सुम्पिन बाध्य भए । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौति तय थियो र अब तीन खेलाडीले खेल्न बाँकी छ ।

पहिलो खेलमा जित निकालेका रविन थापाले ५१ केजीमुनि तौलसमूहको अन्तिम १६ मा उत्तर कोरियाका सो चोनरियोङसँग बिहीवार प्रतिष्पर्धा गर्नेछन् । महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्याण्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रवार र सरस्वतीले शनिवार आ–आफ्नो प्रतिष्पर्धा चुनौति प्रश्तुत गर्ने तय छ ।

पौडीमा डुआना र नासिरको खराब प्रदर्शन

नेपालका पौडीबाजद्वय डुवाना लामा र नासिर हुसेनले जारी १९ औं एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन् ।

बुधवार हानझाओ ओलम्पिक सेन्टरस्थित एक्वाटिक स्पोटर््स एरिनामा बुधवार डुवाना लामा र नासिर दुवैले खराब प्रदर्शन गरेका हुन् । पुरुष दुई सय मिटर फ्रिस्टाइलमा नासिरले २ मिनेट १४ मिलिसेकेण्ड समय निकाले । उनको समय हिटमा नै सातौं स्थानमा रह्यो । नासिरले जारी एसियाडमा आफ्नै उत्कृष्ट प्रदर्शन एक मिनेट ५७ सेकेण्ड २६ मिलिसेकेन्डको समय पनि भेट्टाउन सकेनन् ।

उनले यो राष्ट्रिय कीर्तिमान सन् २०२३ मा जापानमा भएको विश्व च्याम्पियनसिमा बनाएका थिए । यता, महिला एक सय मिटर ब्रेस्टस्टोकमा प्रदर्शन गरेकी १७ वर्षीया डुवाना पनि हिटमा नै पुछारमा रहिन् । उनले एक मिनेट २० सेकेण्ड १५ मिलिसेकेण्डमा उक्त दुरी पूरा गरिन् । उनले पनि आफ्नै उत्कृष्ट समय पनि भेट्टाउन सकिनन् । उनले यस विधामा सन् २०१९ मा नेपालमा नै एक मिनेट १७.२३ सेकेण्ड बनाएकी छन्।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्