नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

उदयपुर त्रियुगा नगरपालिकाका कर्मचारीहरुसमेतले आर्थिक वर्ष २०७८/०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्य गरेको आरोपमा ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातवरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरेका थिए। त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरेकोमा नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय भएको थियो।

नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आईईई प्रतिवेदन अनुसार अनुमानित राजस्व रकमलाई समेत बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाई बैसठ्ठी लाख एकानब्बे हजार दुई सय चार रूपैयाँ र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याएको कारण अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैया हिनामिना गरेको पाइएको छ।

सबैगरी ८१ लाख ३५ हजार ३ सय ८२ रुपैयाँ १६ पैसा बलदेव चौधरीले हिनामिना गरेको अख्तियारको ठहर छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई कार्बाहि गर्न माग गरिएको छ।

त्यस्तै त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्कीले आईईई प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयसमेतलाई अनदेखा गरी नदीबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री कार्यको लागि न्यूनतम ठेक्का कायम गर्न निर्णय  स्वीकृत गर्ने कार्यमा सहभागी भई ६२ लाख ९१ हजार २ सय ४ रुपैयाँ रकममा ठेक्का सम्झौता गरी नगरपालिकाको राजस्व चुहावट गरेको पाइएको छ।

कार्कीले भ्रष्टाचार गर्न दिन नहुनेतर्फ प्रोत्साहन गर्नुको साटो आफैँले १८ लाख ४४ हजार १ सय ७७ रुपैयाँ राजश्व चुहावट गरेको पाइएको छ। उक्त कार्यमा कार्कीले ८१ लाख ३५ हजार ३ सय ८२ रुपैया राजस्व चुहावट गरेको पाइएको अख्तियारले बताएको छ। कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोसहित कार्बाहीको माग गरिएको छ।

त्यस्तै त्रियुगा नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको कारण ६२ लाख ९१ हजार २ सय ४ रूपैया र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको कारण १८ लाख ४४ हजार १ सय ७७ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ। उनले ८१ लाख ३५ हजार ३ सय ८२ रुपैयाँ चुहावट गरेको पाइएकोले ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कार्बाही गर्न माग गरिएको छ।

निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारले तत्कालीन नगर प्रमुख बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त बिपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको खुलेको छ। उनले सम्झौताको सर्त बमोजिमको कार्य नगरी बलौटे र भरौट माटो अबैध रुपमा उत्खनन र बिक्री गरी बिगो रकम १८ लाख ४४ हजार १ सय ७७ रुपैया राजस्व चुहावटमा मतियारको कार्य गरेको खुलेको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्