सिमकोट – हालसम्म राष्ट्रिय सडक सञ्जान नजोडिएको हिमाली जिल्ला हुम्ला हवाई सेवा नियमित र उडान संख्या वृद्धि गर्न हुम्लावासीले माग गरेका छन्।

चाडबाडको बेला आइसकेका कारण हाल दैनिक एउटा मात्र उडान हुन थालेपछि जिल्लावासीले यो माग राखेका हुन्।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लमा बसेको सर्वपक्षीय बैठकले हिमाली जिल्ला हुम्लामा उडान अनियमित र दैनिक एउटा मात्र हुन थालेपछि जिल्लामा समस्या देखिएको कारण यसलाई नियमित र थप उडानको व्यवस्था गर्न माग गरेको बताए।

उडान नियमित नहुँदा नेपालगंज र सुर्खेतबाट हवाई मार्ग भएर ढुवानी हुने सामान आउन नपाउदा व्यापारी मर्कामा पर्नु भएको छ। उडान नहुँदा नेपालगंज, सुर्खेत र सिमकोटमा यात्रुलाई आवत जावतमा समस्या देखिएको कारण थप उडान गर्नु आवश्यक देखिएको हो।

दैनिक कम्तीमा तीन उडान आवश्यक पर्ने भएको कारण एक मात्र उडान हुँदा समस्या देखिएको हो। जिल्लाका जनप्रतिनिधि, राजनीति दलहरु, सुरक्षा निकाय, एयरलाईन्सका प्रतिनिधि, उद्योगी व्यवसायीबिच बसेको बैठकले सीता र तारा एयरलाईन्सलाई हप्तामा चार उडानको व्यवस्था गर्न र नेपाल एयरलाइन्सलाई एउटा जहाज कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाको उडान भर्नका लागि नेपालगञ्ज बेस रहने गरी जहाजको व्यवस्था गर्न माग गरेको छ।

हाल समिट एयरले मात्र दैनिक एक उडान, तारा र सीता एयरले हप्तामा एक एक उडान भर्दै आएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले उडान कम हुँदा यात्रु निकै मर्कामा परेको भन्दै यो समस्या जिल्लावासीले बर्सेनि भोग्नुपरिरहेको बताए।

उनले जिल्लावासीको मागमाथि सुनुवाइ हुन नसके आन्दोलनमा जान बाध्य भइने चेतावनी दिए। सीता र तारा एयर काठमाडौं फिर्ता भएको र समिट एयरमा प्राविधिक समस्या आएको कारण बुधवार कुनै पनि उडान हुन सकेन।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्