प्रचण्ड ल्हासा आइपुगे, पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन

फाइल फोटो ।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन्।

समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ।

पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो। साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो।

पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले दरबारका बारेमा जानकारी गराएका थिए। त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गरेका थिए।

जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ। यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए।

यो मन्दिर बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेका छ। यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनहरुले विशेष महत्वका साथ सम्मान गर्ने गर्दछन। मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरुले मन्दिरका बारेमा जानकारी गराएका थिए।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्