दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन्।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमी भइरहेको बताए।

उनले उपभोक्ताहरु बढिरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए।

उनले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताए।

प्राधिकरणले भित्राउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्राउनुपर्ने उनले बताए। उनले प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने बताए।

उनले भने – ‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुली बाँकी छ भनेर भनिएको छ । त्यो असुली हुने हो कि होइन आफ्नो ठाउँमा छ । तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा अहिले स्थापित गरिएको छ । सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिराखेको छ । त्यसकारण यसको चाँडै टुंगो लगाउन जरुरी छ । गएको पाँच वर्षदेखि लगातार रुपमा हामीले दूरसञ्चारबाट प्राप्त गर्ने राजश्वमा कमी आएको आएकै छ । घटेको घटेकै छ । तर उपभोक्ताहरु बढेको बढेकै छ । छिमेकी देशहरुको यसतर्फको राजश्व बढेको बढेकै छ । तर हाम्रो घटेको छ । र यो घट्ने फेरि चानचुने अंकमा छैन । खर्बौमा छ । ठूलो अंकमा हाम्रो राजश्व खेर गइरहेको छ । भ्रष्टाचार भइरहेको छ भन्नेकुरा आएको हुनाले यसमा हामीले उच्च प्राथमिकता राखेर छलफल गर्नुपर्छ । यो नियमनको लागि जुन प्रविधि भित्राउन खोजिएको छ त्यो उपयुक्त छैन भने अर्को कुन हो, तर नियमन गर्नुपर्छ र नियमन हुनुपर्छ । यस प्रकारको चुहावट, यस प्रकारको भ्रष्टाचार रोकिनुपर्छ ।’

उनले चाडपर्व नजिकिँदै गर्दा खाद्य पदार्थको कृतिम अभाव सिर्जना गर्ने र अप्रत्याशित ढंगले मूल्यवृद्धि हुने काम भइरहेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्