लुम्बिनीमा अझै फुकेन सरकार विस्तारको गाँठो

फाइल तस्बिर ।

दाङ- लुम्बिनी प्रदेशमा सरकार विस्तारको गाँठो अझै फुकेको छैन। सरकार गठन भएको पाँच महिना पुगेपनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, हालसम्म सरकारले पूर्णता पाउन नसक्दा मन्त्रालयको कामकाज प्रभावित भएको छ। सत्ता साझेदार दलभित्र सरकारलाई पूर्णता दिने विषयमा सहमति नजुट्दा सरकार गठन भएको पाँच महिना पुगेपनि सरकारले पूर्णता पाउन नसकेको हो।

मन्त्रालय थपेर भएपनि सरकारलाई पूर्णता दिने तयारी रहेपनि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले मन्त्रालय नथप्न निर्देशन दिएपछि थप समस्या परेको छ। विगतमा सत्तारुढ दलहरूको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भएपनि मन्त्रालय विभाजन नगरी सरकार विस्तार गर्न अप्ठ्यारो भएको छ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुन कृष्णा केसी र दीपेन्द्र पुनको नाम सिफारिस गरेपनि मन्त्री नियुक्त हुन सकेका छैनन्। मन्त्री बनाउन सिफारिस भएका दीपेन्द्र पुनलाई मन्त्री बनाउन नहुने दवाव कांग्रेस नेतृत्वबाटै आएपछि मुख्यमन्त्रीलाई समस्या परेको हो। कांग्रेस प्रदेश सभापति अम्मर सिंह पुनलाई निर्वाचनमा दीपेन्द्रले हराएका थिए। स्वतन्त्रबाट चुनाव लडेका दीपेन्द्र पुनः माओवादीमा प्रवेश गरेर सरकारको मन्त्रीको लागि नाम सिफारिससमेत भइसकेको छ।

माओवादी सहमती कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको संसदीय दलका नेता जोखबहादुर महराले बताए। ‘हामीलाई तीन वटा मन्त्रालय दिने सहमती हो। अहिलेसम्म जम्मा एउटा मन्त्रालय मात्रै पाएका छौँ’ उनले भने,’हामीले सिफारिस गरेका नामहरू पनि कार्यान्वयन हुन सकेनन्।’ लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबीच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ। तर अहिले ३ मन्त्रालयमात्र बाँकी रहेका कारण सरकार विस्तारमा समस्या देखिएको हो।

अहिले लुम्बिनी प्रदेशमा माओवादीका एक जनामात्रै मन्त्री छन् भने नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना छन्। अन्य मन्त्री साना दलका हुन्। साना दलहरू आफ्नो भाग अनुसार मन्त्रालय पाएपछि चुपचाप रहँदा कांग्रेस र माओवादीमा भने छिटै सरकारलाई पूर्णता दिन दबाब बढ्दो छ।

कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही दिनभित्र मन्त्रिमण्डल विस्तार हुने बताए।’मुख्यमन्त्री यही गाँठो फुकाउन सक्रिय हुनुहुन्छ। केही दिनमै नयाँ खबर आउछ’ उनले भने,’सरकारले पूर्णता पाउँछ।’

 

असोज १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्