काँक्रो उफारेर फाल्ने पर्व अनन्ते पूर्णिमा मनाइयो

सिमकोट – आफ्नो छुट्टै महत्व राख्ने अनन्ते पूर्णिमा हुम्ला जिल्लामा काँक्रो फालेर मनाइएको छ। धामीले नाच्दै फालेको काँक्रो समात्न सक्ने दर्शनार्थीलाई भाग्यमानीका साथै घरमा राम्रो हुने जनविश्वास छ।

खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँका स्थानीय बबरजङ् हमालले दुई दिनसम्म मनाइने अनन्नते पूर्णिमामा धामी नाच्दै काँक्रो उफारेर फान्लै मनाइएको बताए।

धामीले नाच्दै फालेको काँक्रो जोसुकैले पनि समात्न सक्छन्। धामीले फालेके काँक्रो समात्न सक्ने मानिस भाग्यमानीका साथै उक्त वर्ष उनको घरमा सबै कुरा राम्रो हुने विश्वास गरिन्छ। धामीले फाल्ने काँक्रो स्थानीयले मन्दिर (माडु) मा देवतालाई चढाउन ल्याएको हुन्छ। छिप्रा गाउँमा लुवासर देवता मान्ने गरिन्छ।

सो गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावतले अनन्ते पूर्णिमाको विशेष महत्व भनेको गाउँ वा जिल्लाबाहिर काम वा व्यापारको सिलसिलामा गएको मानिस यो पूर्णिमाको दिनमा घर नफर्के मरेको घोषणा गरिने प्रचलन रहेको बताए।

अहिले सञ्चारका साधनले गर्दा सम्पर्क हुने भए पनि पहिले पहिले यो पूर्णिमाको दिनमा घरबाहिर गएको मानिस आउनै पर्ने बाध्यातात्मक अवस्था थियो।

यसका साथै धामीहरू दुई दिन लगातार नाच्नुका साथै पूजाआजा गर्ने र बलिसमेत दिने गरिन्छ। यसका लागि दार्चुनाको ब्यासी समुदायका मानिससमेत चौरी, घोडा चढाउनुका साथै बलिसमेत दिन यो पूर्णिमामा आउने गर्छन्। जिल्लाका दर्जनभन्दा बढी गाउँमा धामी नाच्नुका साथै अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गरेर मनाइएको हो।

असोज १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्