बंगलादेशलाई हराएसँगै कबड्डीमा नेपालको पदक सम्भावना बढ्यो

काठमाडौं- हाङझाउ एसियाडमा नेपालको पदक सम्भावना बलियो बनेको छ। नेपालले महिला कबड्डीमा सोमबार बिहान भएको खेलमा बंगालदेशलाई ३७-२४ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल सम्भावना बलियो बन्यो।

सोमबार जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै पदकविहीनताको अवस्था अन्त गर्ने संकेत दिएको छ।

एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागिता रहँदा नेपालले एक खेल जितेर नै पदक पाउने सम्भावना बढेको हो। एक समूहमा ३ र अर्को समूहमा ४ टिम छन्, जसमा तीन टिम रहेको समूहमा नेपाल पर्दा एक खेल जिते मात्र पनि सेमिफाइनल पुग्ने सम्भावना भएकाले नेपालको पदक नजिक पुगेको हो।

नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना कायम रहने छ। त्यसका लागि बुधबार इरानले बंगलादेशलाई पराजित गर्नु पर्ने छ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक दिने व्यवस्था भएकाले नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक जित्ने अवसर एक खेल जितेर नै बलियो बनेको हो।

महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्