एसियाडको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौं- एसियाली खेलकुद प्रतियोगितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्वाटरफाइनल प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको छ। समूहचरणमा विश्वकीर्तिमानी इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो।

सोमबार भएको ‘ड्र’मा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो। सोझै क्वाटरफाइनल पुगेका टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो। नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा रहन सक्यो।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो भने मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार हुनेछ। भारतले एसियाडमा राष्ट्रिय टिममा अनुभव बटुलिसकेका खेलाडीहरूलाई पठाएको छ।

टेस्ट राष्ट्रहरुले सिनियर टिम नपठाएपनि अनुभवी टिम पठाएका छन्। नेपालले भने आफ्नो राष्ट्रिय टिमलाईनै एसियाडमा उतारेको छ। यसअघि एसिया कपमा भारतविरुद्ध सनसनिपूर्ण ब्याटिङ गरेको नेपाल दोस्रो पटक भारतसँग भिड्न लागेको हो। नेपाल भारतलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहने छ।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्