‘रावायण’ का कारण अनमोल र सुदर्शनको जुहारी, प्रदिप र करिश्मा पनि मिसिए

गत शुक्रबार ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता अनमाेल केसीलाई भक्तपुरबाट पक्राउ गर्‍यो। ‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा चलचित्र निर्मात्री सुप्रिया कटुवालले जाहेरी दिएकी हुन्।

यद्यपि अनमाेल केसी आइतबार हाजिर जमानीमा रिहा भएका छन्। उनलाई  प्रहरीले खाेजेकाे बेला उपस्थित गराउने सर्तमा  रिहा गरेको हो।

चलचित्र विकास बाेर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीका पुत्र अनमोल नेपाली सिने क्षेत्रमै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्छन्। प्राय:होम प्रोडक्सनमै काम गरेका अनमोलले बाहिर गरेका छिटफुट काममा निकै महंगाे पारिश्रमिक लिने गरेको हल्ला चलिरहन्थ्याे।

निर्माता एवम् निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन थापा प्रोडक्सनबाट आउन लागेकाे ‘रावायण’को अर्को मुख्य भूमिकामा रहेकी नीति शाहलगातका कलाकार र टेक्निसियन सुटिङका लागि जान लाग्दा अनमोल जान तयार नभएको भन्दै अनमाेलविरुद्ध जाहेरी दिइएकाे हाे।

यता, अनमोलका वकिल परशुराम काेइरालाले भने अनमोलले जान नै नचाहेको नभएर पूर्ण तयारीका लागि समय मागेको तर निर्माणपक्षले भने कुरा नसुनेर प्रहरीकहाँ पुगेको जस्तो अभिव्यक्ति एक टेलिभिजन अन्तर्वार्तामा दिएका थिए।

विवाद यतिमा मात्र सकिँदैन। अनमोल रिहा हुनुअघि र भइसकेपछि पनि यही विषयमा फेसबुकमा जुहारी चलिरहन्छ। अनमोलको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि चिरायु अस्पतालमा भर्ना भएको कुरादेखि रिहा भएकाे कुरासम्ममा निर्माता सामाजिक सञ्जालमा टिप्पणी गर्न या भनौं अनमोलको विरोध गर्न छाड्दैनन्। हालै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्दै ‘मोटो रकम लिनुपूर्व आफूलाई अभिनयको लागि पूरा तयार बनाउन’ अनमोललाई सुदर्शनले चुनौती दिएका छन्।

 

सुदर्शन मात्र होइन, अनमोललाई चुनौती दिनेमा अर्का अभिनेता प्रदिप खड्का पनि थपिएका छन्। अनमोल र सुदर्शनको विवादलाई विवाह र पारपाचुकेसँग जोडेर व्यङ्ग्यात्मक रूपमा प्रदिपले अनमोलमाथि प्रहार गरेका हुन्। घुमाउरो पारामा लेखिएको उनको स्टाटस सिधै अनमोल र उनका पिता भुवन केसीमाथि हो भन्ने कुरा बुझ्न प्रदिप अभिनित चलचित्र ‘प्रेम गीत ३’ को रिलिजको समयमा पुग्नुपर्ने हुन्छ।

हिन्दीमा डब भएको चलचित्रले भारतका विभिन्न ठाउँमा चर्चा र त्यहाँका हलमा स्थान पाइरहँदा भुवनले सेन्सर पास र हलका कुरामा अल्झाएको भन्दै अदालतमा पुगेका प्रदिपले त्यसकाे आवेग यहाँ अनमोलमाथि खन्याएको सहजै आकलन गर्न सकिन्छ। फेसबुकमा लामो प्रेम र विछोडको कहानी लेखेका प्रदिपले अन्तमा मुल कुरा लेखेका छन्, ‘कानुन राजको विकल्प छैन।’

यसै सन्दर्भमा अभिनेत्री करिश्मा मानान्धरले यो विषय विवादमा ल्याउनुपर्ने र अपराधीकरण गर्नुपर्ने खालको नभइ समझदारीमा सुल्झाउनुपर्ने खालको भएको अभिव्यक्ति दिएकी छन्।

आइतबार सामाजिक सञ्जाल मार्फत् उनले भनेकी छन्,’कुनै विवाद,असमझदारीलाई अपराधको नाम दिइहाल्न मिल्छ होला र?
यसको समाधान गर्ने पहिलो चरण भनेको योसँग सम्बन्धि संघ-संस्था नै हुन्। एउटा मानिसले आफ्नो सफल स्थान बनाउन कत्रो मेहनत गरेको हुन्छ। रकम फिर्ता गर्न गरेर कुरा मिलाउन सकिन्थ्यो। ठूलो कुरा नै थियेन। यो आपसी समझदारीको कुरा हो। अनमोल शालिन बच्चा हो, यस्तो डिजर्भ गर्दैन। यस्तो घटनाले समग्र चलचित्र क्षेत्रलाई नोक्सान हुन्छ। चित्तबुझ्दो लागेन।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्