संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको होः मन्त्री गुरुङ

फाइल तस्बिर।

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरुको नियुक्ति संविधानको व्यवस्थाअनुरुप गरेको बताएका हुन्।

केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरु न्याय सेवा आयोगले लिएको परीक्षा उत्तिर्ण हुन नसकेकाहरु पनि परेका भन्दै समिति बैठकमा सांसदहरुले विरोध जनाएका थिए।

सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए। सोही कुराको जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरिएको बताए।

उनले न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका विरुद्धमा काम नगरेको स्पष्ट पारे। उनले समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग पनि छलफल गर्नसक्ने बताए।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्