लिमिटेडले उपभोक्ताबाट फिर्ता गर्‍यो बिक्री गरिएको खाद्यान्न

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा पानीमा भिजेर बिग्रेको खाद्यान्न उपभोक्ताबाट फिर्ता लिएर राम्रो खाद्यान्न दिएको छ।

उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लिमिटेडको लक्ष्यअनुसार बिग्रेको खाद्यान्न फिर्ता लिँदै त्यसको सट्टा नयाँ उपलब्ध गराइएको हो।

नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले पानीमा भिजेर लिमिटेडद्वारा ढुवानी अनुदानमा बिक्री गरिएको खाद्यान्नको अवस्थाबारे स्थलगत रूपमा अनुगमन गरेको बताए।

लिमिटेड सिमकोट शाखाका कर्मचारीका साथ उनको टोली खाद्यन्नको अवस्था बुझ्न हिल्सासम्म पुगेको थियो। उनले हालसम्म खाद्यान्न बिक्री गरिएका वडा नम्बर २, ४ र ५ नम्बरका खाद्यन्न लिएका स्थानीयको घरघरमा पुगेर बिग्रेको खाद्यान्नबारे जानकारी लिएको बताए।

अवस्था बुझ्दा वडा नम्बर ५ को मुचुमा ६६४ बोरा खाद्यान्न बिक्री भएकोमा त्यसमा ३२ बोरा मात्र पानीमा भिजेर बिग्रेको भेटिएको र सो खाद्यान्न गाउँपालिका केन्द्र याल्वाङमा फिर्ता ल्याइएको हो।

बिग्रेको खाद्यान्न पाएकी मुचु गाउँकी पेमाआङ्गु तामाङले आफूले बिग्रेको तीन बोरा खाद्यान्न पाएकोमा त्यसको सट्टा नयाँ राम्रो खाद्यान्न पाएको बताइन्।

उनले आफू मात्र नभई अन्य बिग्रेको खाद्यान्न पाएका गाउँवासीले समेत नयाँ खाद्यान्न पाएको बताए। लिमिटेड सिमकोट शाखाका नायव सुब्बा नवीन आचार्यले पानीमा भिजेर बिग्रेको खाद्यान्न पाएका नाम्खाासीलाई नयाँ खाद्यान्न दिएको बताए।

उनले बिग्रेको खाद्यान्न केही हिल्सामै पानी पर्दा भिजेको र बाँकी टिपरमा मुचु लग्ने क्रममा खोलामा झर्दा भिजेको कारण बिग्रिएको बताए।

पानीमा भिजेर बिग्रिएको खाद्यान्न भने नष्ट गरिएको उनले बताए। त्यसैगरी, लिमी ढुवानी भएर पुगेको खाद्यान्न १७० क्विन्टलमध्ये दुई बोरा खाद्यान्न भेटिएको छ भने शाखाको सिमकोट गोदाममा पुगेको खाद्यान्नमध्ये चौध बोरा बिग्रेको भेटिएकाले त्यसलाई गोदामै अलग्गै राखिएको शाखाले जनाएको छ।

असोज १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्