रिगल सजाय माफी प्रकरणः कानुनीसँगै सडकबाट विरोध गर्दै पीडित परिवार

फाइल तस्बिर।

काठमाडौं – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्धमा  मृतककी श्रीमती भारती मानन्धरले भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन्।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए।

राष्ट्रपतिको निर्णयविरुद्ध भारतीले सर्वोच्च अदालतमा रिट निवेदन पनि दिएकी छिन्। सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दर्ता भएको हो। रिटको प्रारम्भिक सुनुवाइका लागि मङ्गलबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी परे पनि हेर्न नभ्याइनेमा परेको छ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताएकी हुन्।

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको उनको गुनासो छ। रिगलको पक्षबाट पहिला पनि उक्त घट्नालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाक धम्की दिएको उनको भनाइ छ। चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनले बताइन्।

घटना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताएकी छन्।

‘घटना भएको आज आठ वर्षभयो। तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन। डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ,’ उनले भनिन्,‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु?’

राष्ट्रपतिले आममाफी दिएर पुनारो घटनाको पीडा फेरस दोहोर्‍याइदिएको उनको भनाइ छ।

असोज १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्