मेलम्ची बाढी : बारम्बार  दोहोरिने घाउ!

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–२, रातोपुलकी मीना आचार्यलाई मेलम्ची नदीमा फेरि यस्तो  बाढी आउला भन्ने पूर्वानुमान थिएन। मेलम्ची नदीको कटान रोक्न निर्माण गरिएको ग्याबिन जालीको पर्खालप्रति उनको विश्वास थियो। तर, ग्याबिन जालीको पर्खाल एक महिनाअघि आएको बाढीले क्षणभरमै बगायो। उनको छिमेकीले व्यक्तिगत तवरले बनाएको आरसिसी पर्खालले गर्दा बाढीले उनीहरुको बस्तीलाई क्षति पुर्‍याउन सकेन। तथापि, उनीहरुको बस्ती  र व्यवसाय उच्च जोखिममा छ।

हेलम्बु–४, गैरीबेसीकी ज्ञानु गिरी तथा उनका छिमेकीलाई पटक–पटक बाढीले त्रासदी दिँदै आएको छ । उनी भन्छिन्, ‘यसपाली पनि हामी निर्धक्कसँग सुत्न सकेका छैनौ । हाम्रो बस्तीभन्दा माथि पहिरो छ । पहिरो भएको स्थानमा मेलम्ची खोला घुमेर बग्छ । घुम्तीमुन्तिर हाम्रो बस्ती छ । बाढीले जुनसुकै बेला हाम्रो गाउँबस्ती र खेतीपाती बगाउन सक्छ ।’

हेलम्बु–४ कै श्यामसुन्दर  लामिछाने बाढी पूर्वसूचना परियोजनाका सहजकर्ता हुन् । ‘बाढी आउने अनुमान थियो, तर हामी पूर्वतयारी र पूर्वकार्यमा फेरि चुक्यौं,’ लामिछाने भन्छन् ।

लामिछानेलाई बाढी आउनसक्ने पूर्वानुमान थियो । समुदायमा सोहीअनुरुप पूर्वसूचना प्रणाली स्थापना र सञ्चारकार्यमा उनी निरन्तर लागिरहेका थिए । गत भदौ ८ गते आएको बाढीले उनी सदस्य (शिक्षक–अभिभावक संघ) रहेको सरस्वती माविको विद्यालय भवन र दुईवटा शौचालय बगायो । उनी बस्दै आएको ग्याल्थुम बजार बाढीको उच्च जोखिममा छ ।

यस वर्ष साउन २७ र २८ गते मेलम्ची नदीमा २०७८ सालको विनाशकारी बाढीको झल्को आउने गरी बाढी आयो । त्यसैगरी, भदौ ८ गते  आएको बाढीले सरस्वती माविको एक ब्लक र दुई शौचालय बगायो ।

पटक–पटकको बाढीले हेलम्बु गाँउपालिकाअन्तर्गतको ग्याल्थुम र चनौटे क्षेत्रको तीन ठाउँमा सडक क्षति भयो । यातायात सेवा केही दिन बन्द भयो । जनजीवन कष्टकर बन्यो । स्थानीय सरकारको पहलमा सडक सञ्चालन र जोखिम न्यूनीकरणमा उल्लेखनीय काम भए पनि अनिश्चितता कायमै छ ।

हेलम्बु गाउँपालिकाको मेलम्ची नदी तटीय क्षेत्रका तारुकेबेसी, हल्दे, किउल, गणेश बगर, चनौटे, ग्याल्थुमलगायत बस्तीहरु उच्च जोखिममा छन् । मेलम्ची नगरपालिकाको तालामराङ, मेलम्ची बजार र काफ्ले खोलानजिकका बस्तीहरु पनि उच्च जोखिममा छन् ।

पछिल्लो समयमा बाढी उल्लेख्य जनधनको क्षति पुर्‍याउने मुख्य विपद्‌मा पर्दछ । बाढीको मुख्य कारण वर्षा हो । पछिल्लो समय अनपेक्षित वर्षा भइरहेको छ । जसको मुख्य कारक  जलवायु परिवर्तनलाई मान्न सकिन्छ । जलवायु परिवर्तनसँगै मौसम तथा हावापानीमा देखिएको प्रभाव सजिलै अनुमान गर्न सकिन्छ ।

बाढीको अर्को कारण अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडक  हुन् । बाह्य तथा अन्तरिक सन्तुलनमा रहेका प्राकृतिक नालाहरु ग्रामीण सडकले भत्काएको छ । ससाना खोलाहरुमा अप्रत्याशित  खहरे बाढी बढेको छ । उक्त प्रकारको दुष्परिणाम मेलम्ची–हेलम्बु क्षेत्रमा देखिन थालेको छ । जसले भूक्षय र नदी कटानलाई व्यापक सहयोग पुर्‍याएको छ। सामान्य वर्षामा पनि अप्रत्यासित रुपमा ठूला भेलबाढी तथा खहरेहरु उर्लेर आउने गरेका छन् । तसर्थ, मेलम्ची बाढीको मुख्य कारण वर्षा र खहरे हो ।

विपद् जोखिम न्यूनीकरण पोर्टलको विगत १२ वर्षको तथ्यांक अनुसार  नेपालमा २,६६७ बाढीका  घटना भएका छन्, जसमा मृत्यु हुनेको संख्या १,३७३, घाइतेको संख्या १,१४३, हराएका व्यक्तिको संख्या ३२३ र अनुमानित आर्थिक क्षति १८० करोड रुपैयाँ रहेको छ । त्यसैगरी, ३,७९२ पूर्वाधार तथा १,५७६ पशुचौपायाको क्षति भएको छ ।

कठिन हिमाली तथा पहाडी भूबनोटले भरिपूर्ण अधिकांश जिल्लाहरु जल तथा मौसमजन्य विपद्बाट प्रताडित रहेका छन् । विपद् जोखिम र क्षतिको हिसाबले सिन्धुपाल्चोक जिल्ला शीर्ष स्थानमा रहेको छ । विपद् जोखिम न्यूनीकरण पोर्टलको विगत १२ वर्षको तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लामा ३४ वटा बाढीका  घटना  भएका छन्, जसमा मृत्यु हुनेको संख्या ११, घाइतेको संख्या ८, हराएकाको संख्या २४ र अनुमानित आर्थिक क्षति ४ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, ४७९ पूर्वाधार र पाँच पशु–चौपायाको क्षति भएको छ ।

मेलम्ची हेलम्बु क्षेत्रको उच्च भागमा अधिक वर्षा हुने क्षेत्रहरु पर्दछन् । जसले गर्दा बर्सेनी बाढी तथा पहिरोको क्षति हुने गरेको छ । २०७८ सालको असार महिनामा मेलम्ची नदीमा आएको बाढी तथा पहिरोको मुख्य कारण जलवायु परिवर्तनद्वारा सिर्जित पूर्वमनसुन रहेको कुरा विज्ञहरुको निष्कर्ष रहेको छ । उक्त प्रकारको जलवायुजन्य विपद्हरुको जोखिम सिन्धुपाल्चोक जिल्लाको अधिकांश भूभागमा  उच्च देखिन्छ ।

जल तथा मौसमविज्ञान विभागका अनुसार नेपालमा बाढीको थ्रेसहोल्ड एक घन्टामा ४० – ६० मिलीमिटर वा एक दिनमा १४० मिलिमिटरभन्दा बढी वर्षालाई निर्धारण गरिएको छ । उक्त थ्रेसहोल्ड पार गरेमा बाढी तथा पहिरोको जोखिम उच्च हुन्छ ।  विभागद्वारा बाढीका लागि निर्धारण गरिएको वर्षाको थ्रेसहोल्ड निम्न अनुसार रहेको छ :

विगत २२ वर्षको अवधिमा इन्द्रावती हेलम्बु जलधार क्षेत्रमा रहेका वर्षा तथा हावापानी मापन केन्द्रहरुको तथ्यांक निम्न अनुसार रहेको छः
स्रोतः जल तथा मौसम  विज्ञान विभाग (जनवरी, सन् २००० देखि जुन, २०२३ सम्म)

उल्लेखित  तथ्यांक अनुसार मेलम्ची खोलाको उपल्लो भाग हेलम्बु–१ मा रहेको तार्केग्याङ वर्षामापक केन्द्रमा २२ वर्षको अवधिमा १४ पटक थ्रेसहोल्ड पार भएको देखिन्छ । अर्थात्, १४ पटक विनाशकारी बाढी तथा पहिरोको उच्च जोखिम देखिन्छ । त्यसैगरी, पाँचपोखरी– ६, धाप थाङ्पालमा रहेको वर्षामापक केन्द्रमा ५ पटक थ्रेसहोल्ड पार गरेको देखिन्छ ।

साधारणतया अधिक वर्षा हुँदा बाढी तथा पहिरोको जोखिम उच्च हुन्छ । तथापि, छोटो समयमा भारी वर्षा, या सामान्य खालको वर्षा लगातर लामो समयसम्म हुँदा या अस्वाभाविक तथा असामान्य दिन तथा अवस्थामा अधिक वर्षा हुँदा  पनि बाढी तथा पहिरो जाने गर्दछ । जुन कुरालाई घटनाक्रम तथा अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ ।

जल तथा मौसम  विज्ञान विभागको २२ वर्षको तथ्यांक केलाउने हो भने मेलम्ची तथा इन्द्रावती जलधार क्षेत्रका वर्षामापक केन्द्रहरुले उल्लेख्य मात्रामा निरन्तर वर्षा भएको देखाएको छ । जसले गर्दा भारी वर्षालाई मात्र बाढी तथा पहिरोको कारक मान्न सकिँदैन ।

स्रोतः जल तथा मौसम  विज्ञान विभाग (जनवरी सन् २००० देखि जुन २०२३ सम्म)

मेलम्ची–हेलम्बु क्षेत्रमा निरन्तर दोहोरिने बाढी पहिरोको मुख्य कारण वर्षा नै हो । साथै,  भूकम्प, अव्यवस्थित ढंगले निर्माण गरिएको ग्रामीण मोटरबाटो तथा संरचनाहरु, भिरालो जमिन, भूगर्भको अवस्था आदि कारणहरुले गर्दा बाढी तथा पहिरोजन्य घटनाहरुलाई टेवा पुर्‍याइरहेका छन् ।  तसर्थ,  हामीले वर्षा नै रोक्न सकिँदैन । तर, वर्षासँगै आकर्षित हुने बाढी पहिरोजन्य प्रकोपहरुको जोखिमको पूर्वानुमान र पूर्वकार्यहरु गर्न सकिन्छ । जसका लागि अल्पकालीन र दीर्घकालीन उपायहरु खोजी गर्नुपर्दछ ।

अल्पकालीन उपायः 
पूर्वसूचनामा आधारित पूर्वकार्य   

पछिल्लो समयमा मौसम तथा बाढीको पूर्वानुमानको कार्यहरुमा उल्लेख्य सुधार तथा प्रभावकारी भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्युनीकरण प्राधिकरण, नेपाल बाढी सूचनाजस्ता सरकारी संयन्त्रहरु निरन्तर पूर्वानुमान र चेतावनी प्रसारण गरिरहेका छन् । क्षतिमा आधारित पुर्वचेतावनीहरु विश्वसनीय र प्रभावकारी देखिएका छन् । जोखिम तथा क्षतिलाई पूर्ण रुपले निर्मुल पार्न नसकिए पनि जनधनको क्षतिलाई अवश्य कम गर्न सकिन्छ ।

तसर्थ, सरकारी संयन्त्रहरुद्वारा प्रसारण भएका पूर्वसूचना र चेतावनीलाई सही समयमा पुर्वकार्य गर्नुपर्दछ  । पूर्वचेतवानी हर समुदाय स्तरमा पु¥याउने, उच्च जोखिमका बस्तीहरु स्थानान्तरण गर्ने,  सुरक्षित मार्ग तथा अस्थायी आवास निर्माण, नदीको धार नियन्त्रण, नदीसँग जोडिएको सडक यातायात, विद्यालय तथा सार्वजनिक सेवाहरु बन्द गर्ने, जोखिममा रहेका वर्गहरु (अपांगता भएका व्यक्तिहरु, सुत्केरी, गर्भवती, जेष्ठ नागरिक, बालबालिका) लाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ ।

दीर्घकालीन उपाय  

१. प्रभावमा आधारित पूर्वसुचना प्रणालीको प्रयोगः   

ज्ञान,  विज्ञान र प्रविधिलाई प्रयोग गरी सम्भावित जोखिम तथा विपद्को पहिचान गर्नुपर्दछ । विपद्पूर्व नै जोखिमको पहिचान, विश्लेषण र प्रसारण गर्ने पूर्वसूचना प्रणाली विकास गर्नुपर्दछ । विकास भएको प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ । जसले व्यक्ति, समुदाय तथा संस्थाहरुलाई विपद्पूर्व नै पूर्वकार्यहरु गर्ने समय उपलब्ध गराउछ ।

पूर्वसूचना प्रणालीअन्तर्गत चार चरणहरु छन् । पहिलो, जोखिमको ज्ञान । मुख्य गरी जोखिममा रहेका समुदाय र सरोकार निकायहरुलाई विपद् र जोखिमको पर्याप्त ज्ञान हुनु पर्दछ । के, कस्तो, कहाँ, कुन, कति  मात्रामा जोखिम पत्ता लगाउनु नै जोखिमको ज्ञान हो । जहाँ समुदाय र मुख्य सरोकार निकायहरुले संयुक्त रुपमा जोखिमको पहिचान गर्दछन् । दोस्रो, जोखिमको अनुगमन र विश्लेषण । अनुमान गरिएको जोखिमको मात्रालाई अनुगमन तथा विश्लेषण गर्ने कार्य यसअन्तर्गत पर्दछन् । तेस्रोः जोखिमको चेतावनी प्रसारण । यस चरणअन्तर्गत समुदाय तथा मुख्य सरोकार निकायहरुलाई सम्भावित विपद्को प्रभावसहितको चेतावनी प्रसारण पर्दछ । चौथोः समुदायको क्षमता अभिवृद्धि । पूर्वसूचना प्रणालीको मुख्य उद्देश्य जनधनको सुरक्षा गर्ने रहेको हुन्छ । जनधनको सुरक्षाका लागि चेतावनीपश्चात्को पुर्वकार्य तथा प्रतिकार्य महत्वपूर्ण रहन्छ । यदि समुदाय तथा मुख्य सरोकार निकायहरुको प्रतिकार्य तथा पूर्वतयारीको क्षमता उच्च भए क्षति कम हुन्छ । समुदायको क्षति कम नगराउने प्रणालीको कुनै अर्थ रहँदैन । तसर्थ, उल्लेखित चारैवटा चरणहरु समुदायको क्षति कम गराउनका लागि ज्यादै महत्वपूर्ण हुन्छ ।

२. सामुदायिक उत्थानशीलतामा वृद्धि 

विपदको पहिलो सिकार समुदाय हुन्छ । विपद्ले दुःख दिन्छ । क्षति पुर्‍याउँछ। दुःख र क्षति पुर्‍याउने तत्वसँग जुध्ने या लड्ने पहिलो काम समुदायकै हो । तसर्थ,  समुदायलाई आफ्नो शत्रुबारे राम्रो जानकारी हुनु पर्दछ । विपद्सँग  लड्न या जुध्नका लागि सामूहिक एकता चाहिन्छ । जोखिमको ज्ञान, सीप र क्षमता आवश्यकता हुन्छ । विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि पर्याप्त मात्रामा स्रोत र साधन चाहिन्छ । धैर्यता र सहयोगी भावना चाहिन्छ ।  अभ्यास र अनुभवहरुको आवश्यकता पर्दछ । विस्तृत कार्यविभाजन, जिम्मेवारीवहन  र जवाफदेहिता चाहिन्छ ।

समुदायमा उच्च जोखिममा रहेका वर्गहरु (अपांगता  भएका व्यक्ति, सुत्केरी,  गर्भवती, बालबालिका, जेष्ठ नागरिक आदि) रहेका हुन्छन् । ती वर्गलाई विशेष प्राथमिकता दिनुपर्दछ । विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सहयोगी मित्रहरुसँग निरन्तर सम्पर्क र समन्वयमा रहनुपर्ने हुन्छ ।

स्थानीय सरकारले जोखिमयुक्त समुदाय र बस्तीहरुको पहिचान गरी जोखिमको अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । छिमेकी पालिका तथा जिल्लाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ । विपद् जोखिम तथा पूर्वसुचना प्रणालीसँग सम्बन्धित आवश्यक नीति नियम, योजनाहरु निर्माण गर्नुपर्ने देखिन्छ । विपद् जोखिम पहिचान तथा न्युनीकरणका सबै चरणहरुमा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउनुपर्दछ  । संघीय तथा प्रदेश सरकार, जल तथा मौसम विभाग, राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर सम्पर्कमा रहनुपर्दछ । स्थानीय तह तथा समुदायको उत्थानशीलता वृद्धि गर्ने उपायहरुको खोजी गर्नुपर्ने देखिन्छ ।

३. वैज्ञानिक अध्ययन अनुसन्धान

कठिन तथा विविधतयुक्त भूगोल,  भूगर्भ,  हिमाली क्षेत्रको पर्यावरणको वैज्ञानिक अध्धयन अनुसन्धान अपरिहार्य देखिएको छ ।  जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन गर्ने, हिम  मौसमी तथा हिम पहिरोहरुको जोखिम अध्ययन–अनुसन्धान गर्ने प्रणालीहरुको स्थापना र निरन्तर अनुगमन गर्ने,  जोखिमयुक्त हिमतालहरूको सतह घटाउने  कार्यहरु गर्नुपर्ने देखिन्छ ।

वैज्ञानिक अध्ययन–अनुसन्धानका आधारमा नदी किनारमा रहेका बस्तीहरुको सुरक्षित स्थानान्तरण गर्ने या जोखिमयुक्त बस्तीहरुको उत्थानशीलता वृद्धि गरी  सुरक्षित बस्ती विकास गर्नुपर्ने देखिन्छ ।

अन्तमा, विज्ञानलाई समुदायसँग जोड्ने प्रविधिसहितको पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्य तथा पूर्वतयारी सम्बन्धी समुदायमा अन्तर्निहित ज्ञान, सीप र क्षमताको सम्मिश्रणयुक्त विपद् पूर्वतयारीमा जुट्नुपर्छ । जसले विपद्को क्षति न्यूनीकरण सुनिश्चितालाई गराउँछ । पुनः दोहोरिनसक्ने मेलम्ची बाढी र मेलम्चीजस्तै भूबनोटमा हुनसक्ने बाढी तथा पहिरोजन्य विपद्हरुको क्षतिबाट बच्न सकिन्छ ।

 

(लेखक विपद् जोखिम तथा न्युनीकरण र पूर्व सूचना प्रणाली क्षेत्रमा कार्यरत छन्)

असोज २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्