नियात्रा

जुराइएका यात्राहरूभन्दा जुरेका यात्रा मीठा!

हरेकपल्ट जब यात्राहरुले मलाई बोलाउँछन्, म एकपटक भावुकसँगै ख़ुशी हुन पुग्छु। यात्राहरूसँगको मेरो साइनो जन्मजन्मको जस्तै लाग्छ। हुन त पाइला नाप्नुमात्रै यात्राको परिभाषा हो भन्नु मेरो तात्पर्य होइन, तर गोरेटोसँगको मितेरी यात्राको एक अंश हो भन्ने बुझाइ हो। यो दुई अक्षरको शब्दसँग म ग़हिरो प्रेममा छु। हिँड्न रुचाउँछु, विशेषगरी लेकाली गाऊँ र हिमाल यात्रासँग बिछट्टै किसिमको लगाव छ। जीवनमा गरिएका अनेकन पदयात्रा जस्तै गाङजाला पास एक यस्तै अविस्मरणीय क्षणहरूले भरिएको यात्रा हो। यो नियात्रा यसै १७ दिने यात्राको सानो झिल्को मात्रै हो जसलाई शब्दमा व्याख्या गर्नै सकिन्न।

हिँडेको कैलाश, पुगियो गाङजाला!

सोचेको थिएँ ३ सालपछि घर फर्किन्छु। हरेक प्रिय मानिसहरूको “तँ घर कैले फर्कन्छस्?” प्रश्नमा मेरो एकै उत्तर यही थियो। तर समय, कर्म र नियतिको त्रिवेणीमा उभिएको पात्रले अपेक्षित या अनपेक्षित प्रतिफलसँग मितेरी साइनो गाँस्नु खास नौलो होइन। “ताली आऊ, मिल्यो भने यसपल्ट हाम्रा साथीहरुसँगै कैलाश मानसरोवको यात्रा गरौंला।” लोन्ली प्लानेटको नेपाल पाटोकी चिनियाँ भर्जनकी लेखिकाले म च्यामुसी छँदै यो खबर सुनाएकी थिइन्। परीक्षा सक्किएको निक्कै समय भइसकेको थियो। र, पछि लाओश्रीले जाने अनुमति दिइसकेपछि मनभरी कैलाश यात्राको कामना लिएर ताली हुइँकिए। ताली अर्थात् युन्नान प्रान्तको एक सुन्दर शहर जहाँ यिनै लेखिका र उनको परिवार बस्थ्यो। ताली पुगेर केही समय बसिसकेपछि “कैलाश यात्रा”बारे बुझ्न थालियो। बुझ्दै जाँदा नेपालीलाई जान प्रतिबन्ध नरहे पनि निक्कै खर्चालु यात्रा रहेछ। विदेशी यात्रीले यात्रा गर्दा एकजना गाइड बोक्नै पर्ने। र, चिनियाँ साथीहरूसँगै घुम्ने भनेको यात्रामा पनि गाइड बोक्नुपर्ने भएपछि यात्राको के अर्थ रह्यो र? यसरी कैलाश नजाने भएपछि अनि यात्रा मोडिन्छ नेपालतिर। साउनको पैलो हप्ता काठमाडौं झरियो र मैले निक्कै समयदेखि प्रतीक्षा गरेको गाङजाला पास गर्ने पदयात्राले ठाउँ पायो। केही दिनको काठमाडौं बसाइ सकेर हामी हेलम्बु जान्छौं। हेलम्बु साइड अर्थात् घरपट्टीबाट नै गाङजाला पास गरेर लाङटाङ निस्केर गोसाईकुण्डको दर्शनसँगै फेरि घर नै फर्केर यात्रा टुङ्ग्याउने योजना बन्छ। चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भनेर च्यामुसीबाट निस्केको यात्री गाङ्जाला पास गर्ने यात्राको गोरेटोमा भेटिन्छ।

लोन्ली प्लानेटकी चिनियाँ भर्जनकी लेखिका (वायाँ), ढुक्पु खर्कका बा (बीच) र म (दायाँ)

निगालेमा ‘डाक्टर’ बासँगको भेट

गाङ्जाला पास यात्राको पैलो दिन हामी घरबाट शेर्माथाङ पुग्ने उद्देश्यले हिँडेका थियौं। घरदेखिको निक्कै ठाड़ो उकालो पार गरेर भीरखर्क निस्किएर पुगियो, निगाले। निगालेमा रहेको गुरू रिम्पोचेको मन्दिर दर्शन गरेर हामी च्या ख़ान त्यही छेउको होटल पुगेका थियौं। बाहिर केही चिसो हुन थालिसकेको थियो। उसो त लेकाली गाउँ अनि पसिनाले निथ्रुक्क हामी, चिसो अनुभूति गर्ने भयौं नै। च्या खाँदै केहीबेर गफियौं। भित्र कोठाबाट सेतो लामो जुङ्गा पालेको एकजना बुढा मान्छे बाहिर निस्किए। “हजुरलाई कतै देखेंजस्तो लाग्छ, हजुर उहिले बेसीतिर ‘डाक्टर’ नामले परिचित जिम्बा भन्ने मान्छे त होइन?” मैले अनुमानमा सही लगाउँदै यसै भनें। “हो नि।” उहाँले हाँस्दै यसै भन्नुभयो। “तपाईंको नाम याद हुनुमा प्रसङ्ग छ। उसो त तपाईंले हाम्रो भेगको स्वास्थ्य क्षेत्रमा लगाएको गुन त छ नै, त्यहाँमाथि म पढ्ने ठाउँमा रसियन साथीहरूले दिएको नाम याद आउँछ, ‘जिमा’। उनीहरूले यो नाम भन्दा बखत मैले हजुरलाई सम्झिरहन्थें।” उहाँ पनि यो सुनेर मुसुक्क हाँस्नुभयो। हामीलाई च्या पकाएर दिने चाहिं उहाँको छोरा हुनुहुँदोरहेछ। कुरोको सिलसिलामा उहाँको छोरो भने हाम्रा रत्नकाका सङ्गै एसएलसी दिनुभएको रहेछ। केही मिठा गफ गरेर अर्कोपटक भेट्ने वाचासहित हामी त्यहाँबाट गन्तव्यतिर लम्कियौं।

सडकले मासिएका गोरेटोको कथा

१७ दिने गाङजाला-हेलम्बु-गोसाईकुण्ड यात्राका गाइड लाक्पा दाइको साथ।

यात्राको दोस्रो दिन तार्केघ्याङसम्म मात्रै पुग्ने थियो। त्यसैले हामी त्यहाँको पुरानो गोरेटोबाटो हुँदै जाने भयौं। शेर्माथाङको मूलगाउँबाट सडकको केहीबेरको यात्रापछि केही पर पुगेर गोरेटो बाटो समात्यौं। त्यो गोरेटो समातेपछि मलाई पुराना स्मृतिहरूको याद आयो। आज भन्दा १ दशक पैले हेलम्बु पदयात्राको बखत हिँडिएको गोरेटोको याद। भर्खर एसएलसी सकेको समय, अनि जीवनको पैलो पदयात्रा, त्यो विशेष हुने भयो नै। त्यो गोरेटो हिँड़ेको केहीबेरपछि हामी फेरि सडकबाटोमा मिसियौं। पुरानो गोरेटो मासेर त्यै बाटो हुँदै सडकबाटो बनाइएको रहेछ। घ्याङ्युल पुगेर खाजा खान गाउँ छिर्ने मुखमै रहेको होटेलमा गैयो। होटेलवाला अङ्कल मेरा बाका साथी थिए। उनीसँग सडकबारे जिज्ञासा राखें, “पुरानो गोरेटो मासेर सडक बनाइएको रहेछ। यसले त पर्यटन ध्वस्त बनाउँदैन र?” मैले प्रश्न गरें। “बाटो आएपछि सबथोक हुन्छ मानियो तर अन्नपूर्णको पदयात्रा रूटको जस्तै हालत भयो। तर अब पछाडि फर्किन पनि नसकिने। अब पर्यटनलाई अगाडि कसरी बढाउने भन्ने बारे सोचेका छौं। मिलेर अघि बढ्न पर्ने हुन्छ। पर्यटकीय ठाउँहरूले दिगो विकासलाई नि समात्नु सक्नुपर्छ।” अंकलको कुरो ठिकै पनि लाग्यो। जीवनको पैलो यात्रा गर्दाको त्यो सुन्दर पदमार्गमाथि नै सड़क बनेको देख्ता दिक्क लाग्यो। जंगलबीचको त्यो पुरानो गोरेटो हिँडदा बीच बीचमा माने, पाटन, खर्क, खोल्सा, झरनाहरू भेटिन्थ्यो। सड़क बन्नु ग़लत होइन तर मानिस हिँडने गोरेटो पूरै मासेको देख्ता मन ख़ुशी भएन। एक पुरानो गोरेटो जीवन्त इतिहासको गाथा हो, धरोहर हो! तार्केघ्यांगसम्म नै पूरै सड़क यात्राबाट हिँड़न पर्दा त्यो ताजगी पाउन सकिएन!

मेलम्चीघ्याङ गाऊँ।

जुका हाम्रो साथी

गाङजाला यात्राको ठ्याक्कै बन्दोबस्त तार्केघ्याङबाट गर्न पर्ने भएकोले हामी त्यहाँ थप एकदिन बस्ने भयौं। त्यसै बसाइमा नेदिंङ जाने भैयो। नेदिङ्ग बारे ‘दी हार्ट अफ दी वर्ल्ड’मा पढिएको थियो। त्यहाँ रिट्रिट सेण्टर रैछ, टाढ़ा टाढादेखि मानिसहरू आऊँदा रैछन्। तार्केघ्याङबाट चिरीघ्याङ गुम्बा पुगियो तर नेदिङ जाने बाटो कता हो भनेर मेसो पाइएन। मोबाइलका म्यापमा पनि नदेखिएकाले स्थानीय मानिसहरु खोजियो। केही पर स्थानीयहरू बारीमा काम गर्दै गरेको भेटियो। उनीहरूले नेदिङ पुग्ने बाटो सोधियो र त्यही अनुरूप हिँडियो। बिस्तारै पानी पर्न थाल्यो। साँघुरो गोरेटोको बाटो, ओसिलो ठाउँ जुकाको के दु:ख र? लेखिकालाई जुकालाई माया गरिरह्यो। म भने उनीलाई लागेको जुका निकाल्दै ठिक्क भो। उनी जुका टाँसिएपिछे तर्सिन्थिन्। म भने ‘त्यता तिर ध्यान नदेऊ’ भनिरहेको हुन्थे। उसो त जुकासँग उति साइनो नभएको मान्छे तर्सिने भैइन्। पानी झमझम परिरहेको थियो। २ घन्टा हिँडिसकिएछ। अनि पाटनजस्तो ठाउँ भेटियो। त्यहाँ २ वटा जति गोठ देखियो। मान्छे छन् कि भनेर माथ्लो गोठतिर लागियो। आग्लो लगाएका रहेछन्। उक्लेर गएँ। कुकुर करायो। बूढीआमा बाहिर निस्किइन्। “आमा यता च्याहरू केही बन्छ त? पानीले निथ्रुक्क भैयो।” पैले त आमाले मानिनन्। पछि बुढ़ाबासँग सल्लाह गरेपछि हामीलाई भित्र आऊन भनिन्। पुरानो शैलीमा ढुङ्गामाटोले बनेको गोठ सुन्दर र सफा थियो। भुईमा फल्याक विछ्याइएको थियो, सामानहरु चिटिक्क सजाएर राखिएका थिए! आमाले आलु पनि उसिनिदिइन्। हामीले च्या खायौं। बाहिर पानी दर्किराखेकै थियो। निक्कैबेरको बसाइ भएपछि हामी यतैबाट तार्केघ्याङ नै फर्किने भयौं। फर्किन पनि सजिलो रहेन। बाटाभरी स्याउँस्याउँती जुका भेटिए। लेखिका अगाड़ि दौडिरहेकी थिइन्। जुका लागेपीछे तर्सेर चिच्याउँथिन्। अनि मेरो काम टाँसिएको जुका निकालेर फ़्याँक्ने हुन्थ्यो। लेखिकाको जुका टिपेर निकाल्दा-फ्याँक्दा मैले आफ्ना खुट्टामा टाँसिएका जुका मिल्क्याउन नै छाडिदिएँ। जाँदा डेढ़ घण्टा लागेको बाटो आधा घण्टामै पार गरिएछ। अनि गोरेटो सकाएर केहीबेरको सड़क यात्रापछि तार्केघ्याङ पुगियो। जानेबित्तिकै जुका निकाल्न थालेँ। झन्डै १८ वटा जुका त्यहाँसम्म टाँसिएर आएका रहेछन्। बाँकी बाटोमा कति झरे त्यस्को गन्ति रहेन।

डोरिंगबाट देखिएको मेलम्ची खोला र तिम्बु बजार।

लेक र बेसीको साइनोका कथा

तार्केघ्यांगबाट २ घण्टाको यात्रामा पुगिन्छ झोमोथांग। झोमोथांग आमा याङ्ग्रीको आधार शिविर क्षेत्र हो भने अर्कोंतीर पाँचपोखरी, गाङजाला पास, आमा याङग्री, नेदिङ, सेर्माथाङ, ढुक्पु जस्ता गन्तव्य जाने साझा ठाउँ पनि। पैले चौरीको खर्क रहेको त्यहाँ अहिले नयाँ होटल खुलेको रैछ। ढुक्पु जाने भनेर हिँडेको दिन सिमसिम पानी परिरहेपछि केहीबेर ओत लाग्न त्यहाँ खुलेको होटेल भित्र बसियो। होटलका दाइले हामीलाई च्या बनाएर दिनुभयो, हामीले पनि बाटोमा खाजाका लागि भनेर ल्याएको रोटी बाँडेर खायौं। केहीबेर बस्दा होटल दाइसँग विविध प्रसंगमा रहेर गफ़ गरियो। लेकाली गाउँका मान्छेसँगका साइनो र कथा हाम्रा हजुरबाहरूसँग पनि ग़एर जोड़िने रैछन्। हाम्रा हजुरबाहरू कोही प्रधान, जिम्वल थिए यसैले पनि काम पर्दा भेटघाट भैरहने रह्यो। लेक आउँदा ख़ान बस्न पर्दा कोही त चिनेको हुनुपर्थ्यों, नत्र बास पाउन गार्‍हो। यसरी मित लगाउने चलन पनि थियो। बड़ा गज्जबको मितेरी कथाहरु सुन्दा मन दंग भो। अब आजको समय कहाँ त्यस्तो रह्यो र? यो युगमा त परिवारका कथा नै छिन्नभिन्न भो, आफ्ना गाउँ पराईझैं भो, प्राप्तिका लहरमा जरो बिर्सिएछ पो झैं लाग्छ। यो पुस्ताले धेरै परपरको भूगोल टेक्यो, चिन्यो तर आफ्नो भूगोलबाट् टाढियो। अछूतो मै पनि रहिनँ। प्रश्न के राम्रो के नराम्रो भन्ने पनि होइन, तर प्राप्तिका रहरमा हामीले उत्तिकै गुमाएका छौं भन्ने हो। गफ त के सकिने र? लेकाली गोठमा युवायात्राकै सिलसिलामा भेटिए थोङला पहाड़को खर्कमा बस्ने युवासाथी, युवराज! ऊनी भर्खर २० वर्ष पुगेका रैछन्। उनका भाइ उनीभन्दा ३ सालले सानो, दुवै बर्ख़ामा लेक चढ़्न थालेको २/३ साल भएछ। भाइचाहिँ भने अलिक लजालु रैछन्। सेतो दौरासुरुवाल, खरानी रंगको बख्खु र साथमा भिरेको सिरूपाते खुकुरीमा युवराजको भाइलाई बड़ो सुहाएको थियो। “आहा, तिमी कस्तो चिटिक्क देखिएको, कि कसो लाक्पा दाइ?” लाक्पा दाईतिर हेर्दै मैले यसो भनेँ। “जीवनमा जे कर्म गरेपनि आफू रोपिएको ठाउँमा ख़ुशीसाथ बिना गुनासो बाँच्न सकियो भनें त्यो पनि सार्थक जीवन बन्ला। जीवन बाँच्ने परिभाषा ज़रूरी छैन त्यो कुनै अर्को मानिसको जस्तै हुनुपर्छ।” सानो उमेरमै काठमाड़ौं बस्दाको संघर्षका दिन र अहिले फर्केर खर्कमा भेड़ाबाख़्रा आऊँदाको अनुभव साट्दा युवराजले यस्तै ग़हिरा वाणी बोले। उनको गोठभित्रको अगेना छेउमा बसेर च्या पिऊँदा ज़िन्दगीका विविध आयाममा गफ़ भए। “तिम्रो आँखाबाट ऐले हेर्दा हाम्रो ज़िन्दगी बड़ो सुन्दर र सहज देखिन सक्छ। यता हामीलाई तिम्रो जीवन देख्ता कस्तो सुन्दर जिंदगी होला, लेकाली खर्क डुलीडुली हिड्यो, लेकाली हावा महशुस गर्यों- क्या रमाइलो भन्ने लाग्छ। तर दुवैको अर्कों यथार्थ धरातल छ, दुवैको भिन्न खाले जीवन छ। यसैले तिमीले अघि संवादमा भनेको वाक्यसँग सहमत छु। जहाँ छौ, जस्तो अवस्थामा छौ, ख़ुशी हौ।” मैले थपेको कुरोमा युवराज पनि सहमत भयो।

यात्राभरको सारथी बनेको कुकुर।

खीर खाने दिन र खर्कका बा

यात्रामा निस्केको पाँचौ दिन अर्थात् साउनको १५ गते हामी ढुक्पुका लागि हिँड्दै थियौं। संयोगले ‘खीर खाने दिन’ यता आमा यांग्रीको दर्शन गरियो भने त्यो दिनको गन्तव्य चौरीखर्क अर्थात् ढुक्पु थियो। ४ दिनदेखि नखुलेको मौसम एक्कासी खुलेको देखेर, “मौसम पनि खुल्यो, फेरि चौरी गाइको दूधको खीर खान पाउने पनि हुनुभयो, तपाईहरू त भाग्यमानी हुनुहुँदोरहेछ…।” आमा यांग्री गुम्बाको दाइले त्यो दिनको यात्रा थाल्नुअघि यसै भन्नुभयो। ढुक्पु भन्ने नाम मेलम्ची खोलाको शीर भनेर मैले बाआमाहरूबाट सुनेको थिएँ। नाम सुनेरै म दंग हुन्थे, नामैले मुग्ध पनि थिएँ, त्यहाँसम्म पुग्न एकदम अप्ठेरो छ अरे भनेर भनेको सुन्दा ढुक्पुको गगनसम्म कल्पनाको उड़ान भरेको सम्झन्छु। आमा यांग्रीसंग कुम मिलाएर बसेको थोङ्ला पहाड जसलाई मैले मेरो घरबाट सधैं चियाउने गर्थेँ, उसैको पछिल्तिर रहेको गुरू रिम्पोछेको तपोभूमि नै ढुक्पु हो। ढुक्पु पुगेको दिन हामी चौरीगोठमा बस्यौं। त्यहाँ एक्ला बूढ़ा मान्छे थिए तर अझ उस्तै तगड़ा। गोठभित्र बाछा बाँधिएका थिए। तिनलाई धूपी ओछ्याइएको थियो। गोठ सफ़ा थियो। हामी बस्ने ठाउँमा पनि धूपी थियो र माथि म्याट्रेस ओछ्याइएको थियो। खीर खाने दिन चौरीगोठ पुग्दा साँझ पर्न आँटेको थियो। बूढ़ाबा गोठका धन्दामा व्यस्त थिए। अँगेनामा दूध बसालिएको थियो। लाक्पा दाइले उमालिसकेको दूध झिकेर खाना पकाउन थाल्नुभयो। बेलुका खाना खाइयो। बाले चौरीको दूध दिनुभयो। खीर नै नखाइएपनि दूधको न्यास्रो मेटाइयो। “यसरी लेकमा एक्लै बस्न दिक्क लाग्दैन बा?” भनेर सोधेँ। “मलाई त बेसीँतिर मान्छेहरुसँग झिँझो लाग्छ। बेसीमा गुम्सेको लाग्छ। गर्मीमा माथि आउने, जाड़ोमा बेसी झर्ने। आनन्द छ। एक्लो त के हुनु, यत्तिका चौरीहरु साथी छन् नि!” बाले बड़ो सरल उत्तर दिए। नूनच्या खाँदै, आगो ताप्दै हामी गफ़िरहेका थियौं। गफिँदा बौद्ध धर्मसम्म कुरो पुगियो। ४,०४० मि.को उचाइमा चौरी र गाईहरुलाई साथी बनाएर बर्खामास लेकाली खर्क चढ्ने यी बासँग संवादहरूमा एक वाणी यस्तै थियो, “चौरी पालेर पाप गरियो, धर्म गरियो त्यो त म जान्दिँन तर पाप र धर्म एउटै बाटो हिँड्छ भनेर चाहिँ मान्छु।” निक्कै पछिसम्म यो वाक्यको सम्झना आइरह्यो। संसारीय चक्रमा बाँच्ने मानिसहरूको कर्म र नियति योभन्दा पर कति टाढ़ा?

ढुक्पु, पेमाथाङ र मेलम्ची

मौसम खुल्दा ढुक्पुबाट पाँचपोखरीपट्टीका हिमाल र पहाड़का लहर ग़ज़ब सुन्दर देखिन्छन्। अर्कों दिन गोठबाट हामी ढुक्पु कुण्ड तिर मोड़ियौं। च्या खाएर खर्कको उकालो लागियो। बिहानी घमाइलो र न्यानो थियो। गाईवस्तु मस्त चरिरहेका थिए। रंगीन फूलहरुले मैदान सुन्दर देखिएको थियो। हामी सबभन्दा माथि पुगिसेकर केही तेर्सो हिँडछौँ अनि दर्शन पाइयो ढुक्प कुण्डको। चारपाटे आकारमा रहेको ढुक्पु निक्कै सुन्दर देखिन्थ्यो। वांग दोर्जे दाइले ढुक्पु कुण्डको महत्त्वबारे मलाई यात्रा अगाड़ि किवदंती सुनाउनुभएको थियो। “गुरु रिम्पोछेको तपोभूमिको रूपमा परिचित छ ढुक्पु। उहिले राक्षस र गुरू रिम्पोछेको युद्ध पर्दा गुरू पद्मसम्भवले फुर्वाको प्रयोग गर्नुभएको थियो। ती चार फुर्वा हालको तार्केघ्याङ, चिरीघ्याङ, काजी गुम्बा, नालाङखर्कमा छ भनिन्छ। ती प्रयोग भएका फुर्वा दावाछेदी भन्ने ठाउँमा बनाइएको थियो, र यी फुर्वाको पाइन हाल्ने ठाउँ चाहिँ ढुक्पु कुण्ड रैछ जसलाई मार्कू घ्यामचूछो भनेर पनि चिनिन्छ। यसरी राक्षस तह लगाऊन गुरू रिम्पोछेले प्रयोग गरेको फुर्वासँग सम्बन्धित रहेकाले यो ठाऊँको विशेष महत्व छ। भदौ पूर्नेमा हिन्दू, बोन, बौद्ध धर्मावलम्बीको पूजा हुने गर्छ। हिन्दूहरूले शिवको आराधना गर्छन्।” दाइले सुनाएको प्रसंग मैले लेखिकालाई अनुवाद गरेर सुनाएँ। ढुक्पु महादेव, गुरू रिम्पोछे दुवैको समझना गरेँ। दर्शन गर्यौ। कुण्डको पानी मेलम्ची नदीमा मिसिने रैछ भनिन्छ तर मूल स्रोत नै चाहिँ होइन रहेछ। पानीको निकाशा भएको पनि कतैबाट देखिएन। त्यसपछि लागियो अप्ठेरो बाटो काटेर ढुक्पु डाँडा। तर डाँडा पुग्दा नपुग्दै बादल आएर धपक्क छोप्यो। मौसम सफ़ा भएको भए ढुक्पु डाँडाबाट २ साल अगाड़ि आएको मेलम्चीको बाढ़ी भएको स्थान पेमाथांग (ख़ास भ्रेमाथाँग होइन) गज्जबसँग देख्न सकिन्थ्यो। पेमाथांग छत्रल रिम्पोचेको तपोभूमि पनि हो। धेरै पैले छत्रल रिम्पोचे लगायत अन्य ध्यान गर्ने मानिसहरूले निराहार र निर्वस्त्र ध्यान गरेको ठाउँ भनेर चिनिन्छ। भुइँचालो अघिसम्म यो ठाउमा गोठ बस्थ्यो, चौरी चर्थे। बाढ़ी अघिसम्म त्यहाँ माने पनि थियो। ऐले त घाँसे मैदान गेग्रनले पुरियो।

गाङजाला खर्क, यांग्री खोलो र बाढी

ढुक्पु बसाइ सकेर हामी अर्कों दिन गाङजाला खर्कका लागि हिँड्यौँ। गाङजाला खर्क पुग्न आँट्दा पानी दर्कियो। हामी बस्ने ठाउँ यांग्री खोलो तर्ने ठाउँमा पुगियो। खोलाको सतह र वेग बढ़ेको थियो। खोला देखेर म तर्सिएँ। लाक्पा दाइलाई खोला तर्न हम्मेहम्मे परेको थियो। यो दृश्य किनाराबाट हामी हेरिरहेका थियौँ। जसोतसो दाइले खोला तरेर सामान बोकेको डोको पारी राख़्नुभयो। अनि दाइले हामीलाई लिन आउनुभो। दाइले खोला तर्दै गरेको दृश्य, खोलाको वेगलाई कुकुर र हामी दुवैले हेरिरहेका थियौ। लेखिका जुत्ता फुकाल्न लाग्दै थिइन्। दाइले खोला बढ़ेको, अलमल नगर्न भन्नुभो। हामी सरासर तयारी भयौं। लेखिकालाई बीचमा राख्यौं। दाइ र मेरो हात राम्रोसँग पकड़्न र खुट्टाले उभिएको ठाउँ दरों टेक्न भन्यौं। खोला यति छिटो वेगवान् भइसकेको थियो कि एऊटा खुट्टा उचालेर अर्कोंमा पाइला राख्न सकस परिरहेको थियो। लेखिका आत्तिएकी थिइन्। खोला पार गर्दै मनमा अनेक तर्काना आउन थाले। खोला त तर्ने तर अन्य जस्तै साना होलान् लागेको थियो तर सोचेजस्तै सहज थिएन। खोलाको गर्जन र वेगले मुटुमा भुइँचालो गइसकेको थियो। तैपनि बल्ल बल्ल जसोतसो तरियो। लामो सास फेरियो। कुकुर पनि जंघार खोज्दै थियो। निक्कै बेरसम्म आएन। बगायो पो सोचेको थिएँ, जसोतसो आएछ। ख़ुशी लाग्यो। “मेरो त खोलो देखेर सातो उड़ेको थियो। लाक्पाले तरेको देखेर म त दिमागले ब्ल्यांक भएको थिएँ। मैले यसरी खोला कैले तरेकै थिइन। खोला तर्दै गर्दा खोलाको स्पिड र तर्न पर्ने दुई जंघार देखेर के हामी घर फ़र्किन पाऔंला त भन्ने जस्ता विविध विचारले मेरो मस्तिष्कको ढोका नै बन्द भएको थियो।” लेखिकाको कुरो सुन्दै हिँडियो। त्यो खर्क भरी जताततैबाट पानी बगेका थिए। “मैले पनी यत्तिको ठूलो होला सोचेको थिइन। पैले पनि यसरी तरेक़ो त हो तर आज जसरी सातो उड़ेको थिएन। लेकाली खोलाको वेग कड़ा हुन्छ। सानो ग़ल्ती भो भने बग़ाउन कत्ति पनी बेर लगाऊँदैन।” मैले लेखिकालाई भनेँ।

गाङजाला पास गरेर लाङटाङ जाँदाको भर्‍याङ।

गाङजाला पास पार गर्दा

गाङजाला पास पदयात्री माझ निक्कै चर्चा कमाएको पास हो। अर्कोंतिर यो नेपाल तिब्बत व्यापारका लागि ऐतिहासिक व्यापारिक मार्गसमेत मानिन्छ। यही पास हुँदै तिब्बतबाट नुन र ऊन ओहोरदोहोर हुनाले प्रसिद्धि कमाएको थियो। छ। क़तै कतै सुनिएको कथा अनुरूप ढुक्पाङ गुरू पवित्र हेलम्बु क्षेत्र आउँदा प्रयोग गरेको मार्ग भन्ने कुरो वांग दोर्जे दाईले सुनाउनुभएथ्यो। हालचाहिँ याक ओहोरोदोहोर र पदयात्रीका लागी सीमित छ। यता हामी भने हेलम्बु क्षेत्रबाट गाङजाला पास गर्दै थियौं। गाङ्जाला खर्कबाट हाई क्याम्प मात्र १ घण्टामा चढ़िएछ। लेखिका बेलाबेला म्याप हेर्दै थिइन्। सजिलै माथि आइएकाले लाग्यो अब पास गर्न धेरै समय लाग्दैन। तर जब यात्रा बिस्तारै अलिक पहराको बाटोबाट अघि बढ्न थाल्यो, मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। चुच्चे पहाड़, अनि ती पहाड़मा अड़्किएर बसेका ढुंगा, पानी पर्दा पहिरो जाला जस्तो ठाउँ, पहिरोबाट आफैंले बनाउँदै हिँड्न पर्ने बाटो देख्ता मस्तिष्कले उही जीवन र मृत्युको प्रश्न ग़र्न थाल्यो। ती पहिरो र पार गर्न पर्ने सिरानको खोँचको पासले लेखिका आत्तिइसकेकी थिइन्। पास नजिकैको ठाडो पहिरोमा केहीबेर उभिँदा उनीले निराशा व्यक्त गरिरहिन्। “साहस हो यही बेला चाहिन्छ। जीवनको ख़ास परीक्षा यस्तै समयमा हुनेगर्छ। मनमा दीप बाल्ने कुरो सम्झनुस त। एउटा भनाइ छ नि, यदि तिम्रो मनमा दीप बलिरहेको छ भने, तिमीले घर फर्कने बाटो भेट्टाउनेछौँ। अब आइसक्यो, यत्ति हो हेर्नोस त त्यहाँ…” उनी त्यो पहिरोबाट डेग नचल्दा मैले एकसासमा यसै भनें। लाक्पा दाईइ र कुकुर अघिअघि थिए। आमा यांग्रीदेखि सँगै आएको कुकुर बेलामौक़ामा पुच्छर हल्लाउँदै हामीनिर आउँदै कुइँकुइँ गर्थ्यों। लाक्पा दाइ अप्ठेरोमा लेखिकालाई मद्दत गरिरहनु हुन्थ्यो। मभित्र पनि डर थियो, सोच्थे एक मुट्ठी सासको यो विघ्न माया चैं लाग्ने रैछ है। कालको निम्तो नआई उसको घर गइन्न क्यार भनेर मनलाई आँट् पनि भर्दै थिएँ। जब ५,२१२ मि. को गाङजाला पास पुगियो, मनको ख़ुशीले पनि बुर्कुसी मार्न थाल्यो। मौसम सफ़ा छँदै पास कटाउँदा मनले आरामको सास फेर्‍यो। जीवन र मृत्युको सानो ग्यापको अनुभूति त त्यहाँ पो भयो। नमर्दै पनि मन कक्रक हुँदो रच, उता सासको आसले मन रगरगीले दौड़दोरैच।

२०७८ सालमा मेलम्ची खोलामा आएको बाढीको क्षेत्र, पेमाथाङ।

लाङटाङबाट मेलम्चीको सम्झना

गाङजाला पास पार गरेर आइसकेपछि एकदिन क्यान्जिनमा आराम गरियो। र अर्कों दिन गन्तव्य लामा होटललाई बनाउने भैयो। “पानी पर्नु अगाड़ि नै लामा होटल पुग्न सके गज्जब हुन्थ्यो होला।” लेखिका यो उत्तरलाई मैले स्वाभाविक मानें। लाङटाङदेखि लामा होटल जाँदा झन्डै १६०० मि तल झर्नु थियो, र यो बीचको बाटोमा अलिअलि जुकाको माया पाइने कुरो लेखिकाले बुझेकी थिइन्। दिन घमाइलो भएकोले हिमालहरु धेरै हदसम्म खुलेका थिए। पृष्ठभूमिमा लाङटाङ लिरूँग, गांग चेम्पो लगायतका हिमाल खुलेका थिए। लाङटाङ खोला किनारा भरिएर बगेको दृश्य सुन्दर देखिन्थ्यो। क्यान्जिन भन्दा अलिक तल आएर लाङटाङलाई हेरेर मेलम्चीको याद गर्दै धेरै पैले आफैंले लेखेको वाक्यको सम्झना आयो, “हिउँदमा किनारा छाड्ने नदीहरू बर्ख़ामा कुन मुखले किनारा ढाक्दा हुन्?” यो प्रश्नको उत्तर मेलम्चीले आख़िर समयकालमा दिइन्। मैले यस्तै जिज्ञासा राख्दा लेखिकाले बड़ो सुन्दर अभिव्यक्ति दिएकी थिइन्, “तिम्रो घरको आँग़नसम्म मेलम्चीले पेमाथाङ र ढुक्पुको पवित्र चन्दन बगाई ल्याइकन रंगाइन्।” मलाई यो उत्तरले ‘आफ्नो सर्वस्व मानिएका सम्पत्ति’ गुमाऊँदाको पीड़ाबोध दिएन; हरेकपल्ट यो वाणी सम्झिँदा म जीवन बोधयात्रामा रहेको अनुभूति भो। ‘पाप र धर्म हिँड्ने बाटो एउटै हुन्छ’ भन्ने चौँरीगोठका बाको यो भनाइ जस्तै ‘सृष्टि र विनाश हिँड्ने बाटो एउटै हो’ भनेर मलाई मेलम्चीलाई नियाल्दा बोध हुन्छ। लाङटाङमा बसेर यि हिमालपारीका आफ्नो माटोको स्मरण गरें। यसपल्ट लेखिकासँगको संवाद र यात्रामा मैले मेरो घर, आँगन र माटोसँगको मेरो प्रेम, आस्था र विश्वास पुनर्जागरणको अनुभूति गरेँ। मैले माटो प्रेमको प्रस्फुटन पाएँ।

गोसाइँकुण्ड, युबङ्ग र प्रदुषण

क्यान्जिनबाट हाम्रो अर्को चरणको यात्रा गोसाइँकुण्ड थियो। गोसाइँकुण्डसम्मको यात्रा भिन्नभिन्न समयमा भिन्न मार्गबाट गरियो। हरेकपल्ट यात्राको भिन्न मिठास भेटिन्थ्यो। यसैले गोसाइँकुण्डमा भएका परिवर्तनको साक्षी पनि भैयो। योपल्ट चोलांगपाटी निस्किएर गोसाइँकुण्ड पुग्दा बाटाहरु सीमेण्टेड भएको, बाटो वरपर रेलिंग बनेको देखियो। सिमेन्टेड बाटोबाट् हिँडदै गर्दा यत्तिका पदामार्ग ढुंगा र वरपर प्राप्य स्थानीय सामग्रीबाटै बनाऊँदा बलियो हुने यता भने सीमेंटेड नै बनाऊन पर्ने केही आईपरेच कुन्नी भन्दै लेखिकालाई आफ्नो धारणा सुनाएँ। “तेह्र वर्ष अगाड़ी जाँदा युननानको हिमाली गाऊँ युबंग जत्ती सुन्दर थ्यो, ऐले त्यो रहेन। बाटाहरुलाई स्थानीय शैलीमा बनाऊन सकिन्थ्यो तर त्यसो गरिएन। कंक्रीटको बाटो बनाए, घोड़ा खच्चरलाई पनि हिँड्न गाह्रो। सौन्दर्यमा ह्रास आउने।” लेखिकाले मेरो कुरोमा सहमत हुँदै आफ्ना अनुभूति साटिन्। बाटाभरी नै बिस्कुट, चाऊचाऊका खोल, जुसका क्यानहरू भेटिन्थे। गोसाईकुण्डकै हिड़ने बाटोतिर पनी यत्रतत्र फोहोर देख्ता दिक्क लाग्यो। कम्तिमा यस्ता फ़ोहोर त आफूले प्रयोग गरिसकेपछी आफैले ब्यागमा हालेर फर्काएर लगेर कतै निश्चित ठाऊँमा तह लगाउन कुनै ठुलो कुरो थिएन।

हेलम्बु स्थिति ४,०४० मि उचाईमा रहेको ढुक्पु कुण्ड।

गोसाईकुण्डमा बाको सम्झना

यात्राको चौधौं दिन गोसाईकुण्डबाट बिहानै सूर्यपास गरेर थाड़ेपाटी सम्म हिंडने तरखर थियो तर झरी ठूलै परेकोले त्यो सम्भव भएन। त्यसैले झन्डै ७ बजे गोसाईकुण्डबाट यात्रा अगाड़ि बढ़ाइयो। कुण्डको किनारा नै किनारा हिँडेर त्रिशुल धारा पुगियो जहाँबाट गोसाइँकुण्डको उत्पत्ति भएको मानिन्छ। मैले त्यहाँ दर्शन गरें। बाको सम्झना गरेँ। लामा होटलमा बास बिताएको रात बाको दर्शन सपनामा पाएँथे। भौतिक माझसँगै हुन नपाएका मानिसहरुको याद गाढा र गहिरो हुन्छ। “बिदामा रैछु क्यार, आफ्नै माटो हेलम्बु पुगिएछ। घरमा बाआमा, भाईहरू मिलन, अंकित र अन्य साथीहरू (बिर्सें कोको थिए) थिए। अनि साँझमा तरकारी पकाऊने कुरो थियो। बाले आफैं खोजेका स्थानीय च्याउ थिए अनि मैले पनि युननान देखि लेखिकाले पठाएको उपहार च्याऊ छ भनें। खोज्न थालें भेट्दै भेट्दिन त ! पछि भाइले एऊटा सीसाको बट्टाभित्र च्याउ राखिएको भाँडो भेट्छ अनि बाहिर लिएर आऊँछ। “तँ दाली कति? एक महिना बसेर आइस हैन?” बाले यसै भन्नुभो। “म एक हप्ता त्यता बसेर यता घर फर्किहालें।” मैले बालाई करेक्सन गर्दै भनें।” सपरिवार एक माझ, आफ्नै घरमा देख्ता, भेट्ता मन बडो ख़ुशी हुँदो रहेछ; सपनामा बाँचे या बिपनामा कुनै सिमाना नै छैन ! अनि गोसाइँकुण्डबाट बाको नाममा सम्झना गर्दै जल चढ़ाएँ। सबैको भलो होस् भनी कामना गरें।

ने, गुरू रिम्पोछे र मेलम्चीघ्यांग

यात्राको लगभग अन्तिम अन्तिम गन्तव्य मेलम्चीघ्याङ पुगेको दिन सिक्किमदेखि आएका लामा पनि भेटियो। निक्कै टाढ़ादेखि उहाँहरु तीर्थयात्रीको रूपमा गुरू रिम्पोचेको गुफा दर्शन गर्न आउनुभएको रहेछ। बर्खामासको बेला भएकोले यात्रा सहज थिएन भन्ने कुरो उहाँहरुबाट नै सुने। थाड़ेपाटीबाट झरेको केहीबेरपछि पानी दर्किन थाल्यो। पानी रोकिएपछि लेखिकालाई गुरू रिम्पोचेको गुफा लैजान्छु भने। केहीबेर पछि पानी रोकियो। मौसम पनि खुल्न थाल्यो। म बाहिर बसेर वरपरको दृश्य चियाउँदै थिएँ। त्यै बेला भित्रबाट सिक्किमका लामा आइपुग्नुभयो। मेरो नै छेउ उभिनुभयो। “तपाईँले पैलेको जुनिमा राम्रो कर्म धेरै गर्नुभएकोले यो जीवनमा ने-ने (पवित्र भूमि) घुमी हिँड्न पाउनुभएको छ। र पवित्र भूमि पुग्दा आफ्नो भन्दा अरूको भलो होस् भनेर माग्नुभए झन् राम्रो हुन्, सबैको भलो चिताऊने मान्छे हुनुहुन्छ, सदा यस्तै हुनुस्…।” मेरो छेउ उभिएर लामाले भनेको कुरो केवल सुने र धन्य भएँ। र केवल धन्यवाद भन्दा अरू भन्न पनि आएन। गुरू रिम्पोछेको गुफा जाँदा लेखिकालाई बाटोमा अनुवाद गरेर सुनाएँ। “तिमीलाई जे मैले देखेथें, उस्तै कुरो आयो जो म तिमीलाई पनि भन्थेँ।” लेखिकाले यसै भनिन्। केही मिनेटको हिँडाइपछि पुगियो गुरू रिम्पोचेको गुफा, जहाँ प्राकृतिक चन्द्र र सूर्य आकृति अंकित छ जसलाई न्यीदा राङजोन पनि भनेर चिनिन्छ। ठूलो ढुंगाको कापभित्र रहेको यो गुफाको निर्माण गुरु रिन्पोछेले गरेको विश्वास गरिन्छ। गुरु पद्मसम्भवले यहाँ ध्यान गर्दा बढी अँध्यारो भएकाले छत तिरको ढुंगामा सूर्यको अंश कोरेर गुफालाई उज्यालो बनाएका थिए भन्ने मान्यता छ। गुरु रिन्पोछेले यस स्थानलाई वर्तमान कलियुगमा बुद्धको स्थानका रूपमा रहने भविष्यवाणी गरेका छन्। गुरु रिन्पोछेले सांकेतिक रूपमा कुल १०८ स्थानलाई गुप्तभूमिको रूपमा अन्वेषण गरेको अनुमान छ। यी गुप्त भूमिका रूपमा ‘बेयूल’ परिभाषित भूमिहरू मध्ये पद्मसम्भवले ज्यादै नै चासो लिएको र जीवनका अधिकतम अवधि बिताएको भूमि हालको हेलम्बु क्षेत्र हो।

यात्राको अन्तिम दिन

यात्राको १६ औं दिन घर फर्कने दिन भनेर मानिएको थियो तर यता काका जो मेलम्चीको बाढ़ीपछी व्यवसायकों लागी तिम्बु हुनुहुन्छ, उहाँले हामीलाई तिम्बु बस्न निम्तो पनि गर्नुभएकोले आरामसंग यात्रा गर्ने कुरो भयो। ख़ास सिक्किमका पदयात्रीलाई गाड़ी खोजिदिन मैले काकीलाई केही बुझिदिन भनेको थिएँ। तर गाड़ी बर्खामा त्यहाँसम्म आउने गाड़ी नभएपछि उहाँहरू पनि हिँड्दै यात्रा गर्नपर्नेभयो। हामी भने नाकोते हुँदै यात्रा गर्नुथ्यो र घरसम्म नै हिँडेर यात्रा बिसाउने रहर थियो। यसै अनुरूप हामी मेलम्चीघ्यांगबाट बिदाइ भयौं। घण्टौंको हिँड़ाइपछि नाकोते पुग्ने मेलम्ची खोला माथीको झोलुंगे पुल पुगियो। मेलम्ची खोलालाई निक्कैबेर चियाइयो। “मेलम्चीसँग मेरो छुट्टै अनपत्व छ। संसारका धेरै देशका नदीहरूमा पुगियो, सायदै नदीमा म यो खाले ऊर्जा भेट्छु।” लेखिकाको कुरो सुन्दा म मेरै नै चर्चा गरेँझै दंग थिएँ। “मलाई पनि यस्तै अनुभूति हुन्छ। म मेलम्चीसँगै हुर्केकाले यो भन्दै छैन बरू यो अपनत्वको कुनै सीमाना छैन। सँगै देखेर हुर्किँदाको प्रेम त छ नै, तर मनभित्र दौड़िएको मेलम्चीको फ्रिक्वेंसी भूगोलको मेलम्चीसँग म्याच गर्छ। जसरी यो देशभन्दा परको भूगोलको तपाइले हेलम्बुमा अपनत्व भेट्नुभएको छ, यसैगरी यहाँ जन्मेकाले कतै अन्त भेट्नसक्छ।” दुई विशाल पहरा छेड़ेर बगेको मेलम्चीलाई हेर्दै हामी केहीबेर गफियौं। अनि पुल तरेर पुगियो १३ वर्ष अगाड़ि लेखिकाले टेकेको माटो, २ महिना बिताएको भूमि र जीवन हेर्ने आँखा खुलेको गाऊँ! हामी लाग्यौं स्कुल जहाँ लेखिकाले दुई महिना स्वयंसेविका शिक्षकको रूपमा काम गरेकी थिइन्। स्कुलमा अहिले सबै नयाँ अनुहार थिए। तर अफ़िसमा उनीले खिचेका केही तस्बिर रहेछन्। उनीसँगै आएका अन्य विदेशीका पनि तस्बिर थिए। उनीले आफूले पढ़ाएका विद्यार्थीहरुलाई चिनिन्। १० बजेकोले शिक्षक/शिक्षिका पढ़ाउने समय भएकाले अब हामी माथि उनी बसेको जिमी लामाको घर पुग्यौं, जो हेल्प नेपालको एनजीओ मार्फ़त यस्तै कार्यक्रम गर्छन्। लेखिकाले ती आमा देख्नेबित्तिकै आँसु खसालिन्, अँगालो हालिन्। पुराना र नयाँ कुराहरू गरेँ। “गाऊँ पैले भन्दा सुन्दर त भएछ तर मान्छेहरु कम, युवापुस्ता लगभग विदेश भनेको सुन्दा रमाइलो लागेन। यो ठाउँमा यसरी यो समय पाइला टेक्छु भन्ने सोचेको थिइन। धन्यवाद दीपू गाइड गरेर यहाँसम्म यात्रा गराएकोमा।” लेखिकाले नून च्या खाँदै यसो भनिन्। “परिवर्तन सांसारिक नियम नै भो। तर त्यो बाहेक पनि तपाईँले देख़्नुभएको यो परिवर्तनलाई हामीले आत्मसात गर्नैपर्ने हुन्छ। भूमण्डलीकरणको युगमा हरेक देश, गाउँ परिवर्तनको लहरबाट पराइ रहिरहन सक्दैन। मानिस त्यसबाट अछूतो रहने कुरो नै भएन। तर पनि तपाइँले जून हेलम्बुको दर्शन पाउनुभयो, त्यो दुर्लभ अवसर थियो। मैले पाएको अवसरलाई पनि धन्यवाद भन्न चाहन्छु।” लेखिकालाई प्रत्युत्तरमा यसै भनेँ। अनि केहीबेर गफिइसकेर तस्बिर खिचाइयो र त्यहाँबाट बिदा भैयो। अलिक तल पुगेपछि हाम्रा पोर्टर दाए, गाइड दाइ, लाक्पासँग पनि बिदा मागियो, आभार भैयो। अनी लेखिकाले उपहारस्वरूप फ़ोन पनि दिइन्। अर्कोंपटक भेटने वाचासहित दाइ योल्मोनेसा लागे, हामी तिम्बुतिर लागियो। अनि सड़क नै सड़क कैले गोरेटो बाटो हुँदै ख़र्चुङ पुगियो जहाँ मिलारेपाले तिब्बतबाट आएर तपस्या गरेका थिए। त्यहाँ मिलारेपाको झण्डै ६००/७०० वर्ष पुरानो मूर्ति पनि छ जो एकपटक चोरी भएको थियो। तर शक्तिले ग़र्दा मूर्तिचोरले मूर्ति प्लेनमा राख्दा प्लेन स्टार्ट नभएको प्रसंग उहिले पनि सुनेको यसपल्ट पनि गुफा रेखदेख गर्ने दाइबाट नै सुनियो। हामीले दीप बाल्यौं र गुफामा मिलारेपाको दर्शन गर्यौं। ऐले निक्कै व्यवस्थित भएछ। दाइले हामीलाई बिस्कुटहरु खानु भनेर दिनुभयो। मैले पनि दाईलाई ढुक्पु र गोसाइँकुण्डको जल दिएँ। अनि केहीपर खाजा खाएर बाटो तताइयो। झण्डै २ घण्टामा तिम्बु पुगियो। काकाहरूले माछा फार्म गज्जबसँग बनाउनु भएछ। बेलुका काकासँग बसेर कोदो पानी खाइयो। यात्राका विविधप्रसंग र घरका कुराहरू गरियो। लेखिका पनि काकाकोमा आइपुगेर बड़ो आनन्द अनुभूति आएको बताइन्। भोलिपल्ट काकी, लेखिका र मसँगै घर फर्कियौं। केहीबेर गोरेटो बाटो हिँडेपछि सड़कबाटो निस्कियौं। बर्ख़ामा तिम्बुसम्म गाड़ी जाँदैन। यसो हुनाले हामी खोलाको बगर नै बगर हिँडेर यात्रालाई अगाड़ि बढ़ायौँ। अनि कियुल बगर पुगेर गाउँकै दाइका होटलमा च्या खाइयो। पुराना कुराहरु गरियो। केहीबेर गफिएर हामी निस्कियौं। घरमा आमा पर्खेर बसेकी थिइन्। सत्र दिनमा घर पुगियो। १६ दिन लगातार हिड़ेको चर्चा जताततै थियो। हरेक प्रिय मनहरुलाई चीनदेखि नेपालसम्म कैले र किन आएको बेलबिस्तार लाएर थाकेको थिइन्। सबैको प्रेम र स्नेह, सद्भाव विशेष थियो। जीवनका हरेक यात्राहरु अद्भुत छन्।

जुराइएका यात्राहरू भन्दा जुरेका यात्रा मीठा! सोचेको थिइन यति चाँडै गाङजाला पास गरिएला भनेर। ५००० मिटरमाथिको पास, बर्खाको समय र उठाउन पर्ने सम्भावित रिस्कसँगै १५५ किमी पैदल यात्राको समिश्रित यो यात्रा कम्ता चुनौतीपूर्ण थिएन। बर्खाको यात्रा भएकाले होला, यात्रामा पदयात्रीहरू भेटिन दुर्लभ थियो। हिउँदमा हिउँले सेताम्मे हुने मैदानहरु, बर्खामा चौरीगाई र भेड़ा चर्ने घाँसे मैदान बन्दोरैछ, लेकाली फूलहरूले छुट्टै रंग भर्दो रहेछ। हरेक खोल्साहरू पानीले बगेर जीवन्त भएका, पहाड़हरु बादलसँग धपक्क लुकेर बसेका, खर्कहरुमा पानीले रसिला भएका, ठाउँपिछे भिन्न किसिमका दृश्यहरु देखिन्थे। यात्राको अवधिभर भेटिएका मानिससँग संवाद गर्दै हिँड्नु र लेखिकालाई अनुवाद गर्दै सुनाउनुको बेग्लै अनुभूति थियो। यो यात्रामा झन्डै दुईपटक काललाई जिस्काउन पुगेको होकिजस्तो पनि महसुस भयो। हिमाल यात्राहरु केवल गन्तव्यसम्मको मात्र यात्रा होइन। हरेक मानिसले यात्रालाई हेरने कोणहरु फ़रक छन्, उद्देश्यहरु फ़रक छन् तर पनि हरेक यात्रा मनदेखि मनसम्मको यात्रा भने हो। हरेकले आफ्नै किसिमका क्षणहरू बटुल्छन्। यात्राहरू बीच हराउँदा प्राय: मलाई तँ बर्ख़ामा किन घुम्छस् भन्ने प्रश्न आऊँछन्। मेरो लागि यात्रा केवल हिमाल हेर्ने कुरोमा मात्र सीमित छैन। म बादलहरुसँग बहेर, कुहिरोसँग छोपिएर गोरेटोसँग प्रीति गाँस्न रहर गर्छु। म त्यो धुम्मपनभित्र आफूलाई खोज्छु। बर्खाको बादलभित्र हुँदा यस्तो लाग्छ यतिबेला म ‘संसार’ भन्दा पर छु, हराएको ‘म’ स्वयम् खोजीमा छु। प्राप्ति र अप्राप्ति, सफल र असफलको विभाजन भन्दा निक्कै पर छु, हो त्यहाँ आफूलाई भेट्दछु। जंगली फूलहरू जस्तै कर्मले फूलाएको ठाऊँमा रंगिन्छु। याकका बथान जस्तै केही समय स्वच्छन्दको सास फेर्छु। तत् समय म बादल हुन्छु, बुकीफूल हुन्छु, कुण्ड बन्छु र फर्किनुछको बोधसँगै नदी बन्न तयार हुन्छु।

हाल: च्यामुसी, चीन

कात्तिक २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्