वर्णमालाबाट हटाइएका दीर्घ ई र ऊ नेपालीमा उच्चरित हुँदैनन्?

विषयप्रवेश

संस्कृतमा ध्वनिशास्त्र वा उच्चारणशास्त्र (फनेटिक्स्) निक्कै विकसित र उच्चस्तरीय छ । यस शास्त्रलाई वैदिक वाङ्मयमा शिक्षा वा शिक्षाशास्त्र भन्ने गरिन्छ । वेदका छ अङ्गहरू शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये पहिलो र महत्त्वपूर्ण वेदाङ्ग शिक्षाशास्त्र हो । सर्वप्रथम शुद्ध उच्चारणका निम्ति वर्ण, स्वर (उदात्त, अनुदात्त, स्वरित), मात्रा(एकमात्रा, द्विमात्रा, त्रिमात्रा), बल (स्थान-प्रयत्न), साम (उच्चारणको सुशैली) र सन्तान (संहिता वा सन्धि)यी विषयहरूको प्रतिपादन प्रातिशाख्यहरूमा (वैदिक शिक्षाग्रन्थहरूमा) र पाणिनीयशिक्षा, याज्ञवल्क्यशिक्षा इत्यादि शिक्षा­ग्रन्थहरूमा गरिएको छ ।

वर्णहरूको सर्वप्रथम स्पष्ट रूपमा निरूपण पनि प्रातिशाख्यहरूमा गरिएको छ । अङ्ग्रेजहरूले संस्कृत शिक्षाग्रन्थहरूको अध्ययन गरेपछि मात्र अङ्ग्रेजीको ध्वनिविज्ञानलाई विकसित गर्न सकेको कुरा डब्ल्यू.एस्.यालन्-ले लेखेको फनेटिक्स् इन् एन्शण्ट् इण्डिया (लण्डन, सन् १९५३) भन्ने पुस्तकको“दि इण्डियन् इन्फ्लुअन्स् अन् वेष्टर्न् फनेटिक्स्” भन्ने प्रकरणबाट पनि बुझिन्छ । नेपालीको त जननी भाषा नै संस्कृत भएकाले यस भाषाले प्रायः संस्कृतकै गुणहरूलाई वहन गर्ने गरेको छ र यो संस्कृतबाट अत्यधिक रूपमा अनुप्राणित हुने गरेको छ भन्दा कसैको विमति पनि नहोला ।

यस लेखमा नेपाली उच्चार्य वर्णमालाबाट हटाइएका “ई ऊ ऋ ऐ औ ञ ण श ष” यी वर्णहरूमध्ये ई ऊ वर्णका उच्चारणका विषयमा विवेचना गर्न लागिएको छ।

ध्वनि र लिपि

ध्वनि (श्रुति) र लिपिको सम्बन्ध तथा भेदका विषयमा तलस्पर्शी ज्ञान भएका नेपाली वैयाकरण र भाषाशास्त्री नेपालमा रहेनछन् भन्ने कुरा बिस्तारै बुझिँदै आएको छ । हाम्रा पिताजी शिवराज आचार्यले उहिल्यै नै पण्डितराज सोमनाथ सिग्देलले अक्षर चिनेनन् भनेर लेख्नुभएको रहेछ (नेपाली वर्णोच्चारणशिक्षा, साझा प्रकाशन, २०३१) । त्यो कुरा विद्यार्थीकालमा थाह पाउँदा अनौठो र आश्चर्य लाग्थ्यो, पिताजीले के भन्नुभएको होला, अक्षर त हामीले पनि चिनेकै छौँ नि भन्ने लाग्थ्यो । तर वास्तवमा त्यस्तो हैन रहेछ ।

अक्षर राम्ररी चिन्नु सारै नि विद्वत्तापूर्ण काम रहेछ र त्यस्तो विद्वत्ता भएका व्यक्ति दुर्लभ मात्र हैनन् सुदुर्लभ रहेछन् भन्ने कुरा पनि उक्त भनाइबाट बुझिन्छ । यस विषयमा केही थप विवेचना यसै पत्रिकामा २०८०।२।७ मितिमा प्रकाशित अक्षरको विभाजन र गुरुत्व तथा लघुत्व भन्ने शीर्षकको लेखमा पनि गरिसकिएको छ।

संस्कृत व्याकरण पढेका पुरानै व्यक्तिहरूमा समेत विभिन्न वर्णहरूको यथार्थ ज्ञान नभएको कुरा हाम्रा पिताजीले रचना गर्नुभएको कौण्डिन्न्यायनशिक्क्षा भन्ने शिक्षाशास्त्रको (उच्चारणशास्त्रको ) विशिष्ट र विशाल ग्रन्थको अध्ययनबाट बुझिन्छ । वेदको र शिक्षाशास्त्रको गम्भीर अध्ययनका अभावमा विशिष्ट वैदिक वर्णका विषयमा त धेरैले सुन्न मात्रै पनि पाएको देखिँदैन । त्यस्ता वैदिक वर्णहरूमा यम, रङ्ग, नासिक्य, अभिनिहित, किट्किडाकार इत्यादि मुख्य छन् । यमवर्णको परिभाषा, व्युत्पत्ति र उदाहरण दिँदा धेरै प्राच्य-पाश्चात्त्य ग्रन्थकारहरूले बिराएका छन्, ठिक प्रकारले लिपिको प्रयोग गर्न सकेका पनि छैनन् ।

शुक्लयजुर्वेदको आचार्य तहमा सम्पूर्ण शुक्लयजुर्वेदप्रातिशाख्य पनि पाठ्यक्रममा राखिएको थियो । मैले आफू आचार्य तहमा पढ्दा यस ग्रन्थको राम्ररी अध्ययन गर्ने अवसर पाएको थिएँ । यसबाट वर्ण, वर्णमाला, स्थान, करण, अक्षर, अक्षरविभाजन, वर्णहरूको पूर्वाङ्गता-पराङ्गता,व्यञ्जनद्वित्व इत्यादि शिक्षाशास्त्रका महत्त्वपूर्ण धेरै विषयहरूको यथार्थ ज्ञान प्राप्त हुन सकेको थियो । विशेष रुचि पनि भएकाले उक्त ग्रन्थ परिश्रमपूर्वक पढेर परीक्षा दिँदा ८० पूर्णाङ्कको त्यस विषयको बाह्य परीक्षामा ७७ अङ्क प्राप्त भएको थियो । यो मैले कुनै पनि परीक्षामा प्राप्त गरेको सर्वाधिक अङ्क थियो । साथै त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको ६० वर्षको इतिहासमा आचार्य (स्नातकोत्तर) तहको परीक्षामा अहिलेसम्मकै सर्वाधिक अङ्क प्राप्त गरेर आचार्य उत्तीर्ण गर्ने सुअवसर पनि त्यसै वेला प्राप्त भएको थियो (नेपाल संस्कृत विश्वविद्यालय, तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालय,वि.सं. २०४९,  प्राप्ताङ्क-प्रतिशत ८६.९२) । तर प्रातिशाख्य राम्रोसित पढ्ने सौभाग्य सबैले पाउँदैनन् । पढेर मात्र पनि पुग्दैन, पढेर उल्टो बुझ्ने पनि हुँदा रहेछन् । त्यस्तो धेरै भोगिएको छ । मैले चाहिँ वेदवेदाङ्गका विशिष्ट विद्वान् आफ्नै पिताजीबाट पनि सूक्ष्मभन्दा सूक्ष्म धेरै विषयहरूको विवेचना र व्याख्यान सुन्ने अवसर प्राप्त गरेको थिएँ । साथै मेरो विद्यावारिधिको विषयसमेत शुक्लयजुर्वेदप्रातिशाख्य र शिक्षाशास्त्रसित नै सम्बद्ध भएकाले यसै विषयमा गहिरिएर अध्ययन गर्ने अवसर फेरि पनि जुटेको थियो र आफ्नो विशेषज्ञताको विषय तथा क्षेत्र पनि यही हुन पुग्यो ।

ळ यस्तो लिपिको प्रयोग ऋग्वेदको पहिलो ऋचाको सुरुमै गरिएको देखिन्छ–“अग्निमीळे पुरोहितम् .. ।” यस लिपिद्वारा सङ्केतित वर्ण ल वा ल-को नजिकको वर्ण हो भनी ठान्ने पनि धेरै नै देखिन्छन् । तर यो वर्ण ड-को नजिकको द्विस्पृष्ट वर्ण हो ।“इड स्तुतौ” भन्ने धातु पाणिनिले पढेकै छन् । संस्कृतका वा नेपालीका कुनकुन ध्वनिको वा वर्णको सङ्केत कुनकुन लिपिले गर्ने भन्ने कुरा देवनागरी लिपिमा स्पष्ट नै छ । संस्कृतको दन्त्योष्ठ्य वकारको उच्चारण संस्कृतको शुद्ध उच्चारण गर्छौँ भन्नेहरूले नेपाली तलथोप्ली व-जस्तो गरेर गर्छन् । तर त्यस्तो उच्चारण अशुद्ध हो । दन्त करण र ओष्ठ स्थान भएको व-को उच्चारण माथिल्ला दाँतले तल्लो ओठलाई छोएर गर्नुपर्छ । यसका सुस्पृष्ट, ईषत्स्पृष्ट र ईषत्स्पृष्टतर गरी तीन प्रकारका भेद वैदिक शिक्षाग्रन्थमा बताइएका छन् । सुस्पृष्ट वकारका निम्ति वकारका बिचमा बिन्दु भएको पृथक् लिपिको प्रयोग गरिने उल्लेख पनि पाराशरशिक्षामा पाइन्छ । शुक्लयजुर्वेदमा त्यस प्रकारको लिपिको प्रयोग गर्नुपर्नेमा आजभोलि त्यसो गरिएको देखिँदैन । स्वाद्ध्यायशाला-कुटुम्बले त्यस लिपिको प्रयोगलाई पुनः प्रवर्तन गरेको छ । अरू पनि कतिपय वर्णका सूक्ष्मतम भेद संस्कृत-शिक्षाशास्त्रमा देखाइएका छन् । तिनका विषयमा न त संस्कृतका वैयाकरणहरूले न त आधुनिक भाषाशास्त्रीले नै विवेचना राम्ररी गरेको वा गर्न सकेको देखिन्छ । यस्ता विषयमा विशेष रुचि भएका तथा संस्कृत भाषामा पहुँच पनि भएका जिज्ञासुहरूले कौण्डिन्न्यायनशिक्क्षा भन्ने ग्रन्थको (स्वाद्ध्यायशाला, २०४९) अध्ययन गर्न सकिन्छ । नेपाली भाषामा चाहिँ नेपाली वर्णोच्चारणशिक्षा भन्ने ग्रन्थ (साझा प्रकाशन, २०३१) अध्ययन गर्न आवश्यक देखिन्छ, जसबाट संस्कृत तथा नेपाली वर्णहरूको यथार्थ ज्ञान स्पष्ट रूपमा पाउन सकिन्छ ।  यसै ग्रन्थमा नै नेपाली भाषाका विभिन्न वर्णहरूको यथार्थ स्वरूप पहिलो पटक देखाइएको पनि हो । यो कुरा नेपाली भाषाको इतिहासमा कलम चलाउनेले बुझेको र लेखेको देखिँदैन ।

संस्कृत तथा नेपाली वर्णमाला

वर्णका सङ्ख्याका विषयमा शिक्षाग्रन्थहरूमा विभिन्न मत छन् । विभिन्न वेदका अनेक शाखामा फरक-फरक वर्णहरूको अस्तित्व पनि भएकाले यस्तो स्थिति देखिएको हो । तथापि सामान्यतया संस्कृतका वर्णहरू तल उल्लिखित चाहिँ प्रसिद्ध छन्–

 स्वर

अ आ इ ई उ ऊ ऋ ऋृ ऌ ॡ  ए ऐ ओ औ

व्यञ्जन

अं अः (अयोगवाह)

क ख ग घ ङ
च छ ज झ ञ

ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म (स्पर्श)

य र ल व (अन्तस्थ)

श ष स ह (ऊष्मा) 

क्ष  त्र  ज्ञ (क्ष  ज्ञ त्र)  (लिपिविशेष) । 

उच्चारण गरिने ध्वनिहरूलाई (श्रुतिहरूलाई) सङ्केत गर्न लिपिहरूको प्रयोग गरिने हो । ध्वनि नै प्रधान हो, लिपि त त्यसको छाया मात्र हो, सङ्केत मात्र हो । यो कुरा नेपाली भाषा-व्याकरणका विज्ञहरूले राम्ररी हृदयङ्गम गर्न नसकेकोजस्तो बुझिन्छ । उनीहरू ध्वनि (श्रुति) वा वर्ण र लिपिको भेद नबुझ्ने भएका छन् । त्यसैले “विद्या लेखे शुद्ध, विद्-या लेखे अशुद्ध, पद्म लेखे शुद्ध, पद्-म लेखे अशुद्ध, वृद्धि लेखे शुद्ध, वृद्-धि लेखे अशुद्ध” इत्यादि भन्ने पनि प्राध्यापक तहमा पुगेका नेपाली विषयकै शिक्षकसमेत देखिन्छन् । दुवैथरी लेखाइ शुद्ध हुन्, दुवैथरीको उच्चारण उस्तै हुन्छ र उक्त लेखाइहरू लिपिका भेद मात्र हुन् भन्ने कुराचाहिँ उनीहरूले बुझ्न नपाएकोजस्तो देखिन्छ। साथै उच्चारणअनुसार संयोगादि व्यञ्जनको द्वित्व गरेर “कन्न्या विद्द्या” इत्यादि लेख्दा पनि अशुद्ध नै लेखेको ठान्ने पनि तिनै छन् । संयुक्त लिपिका प्रयोगका शैलीले झुक्किएर तथा कुन वर्ण पहिला उच्चारण हुन्छ र कुन वर्ण पछि उच्चारण हुन्छ भन्नेसम्म पनि पत्तै नपाई अशुद्ध लेखाइ र उच्चारण“बुध्द”चाहिँ शुद्ध हो, शुद्ध लेखाइ र उच्चारण“बुद्ध”चाहिँ अशुद्ध हो भन्ने पनि नेपालीकै वरिष्ठ प्राध्यापक देखिएका छन् । उच्च तहका मानिएका प्राध्यापकहरूको त यस्तो स्थिति छ भने साधारण नेपाली पाठकहरूको के स्थिति होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले संस्कृत तथा नेपाली भाषा-व्याकरणका विशिष्ट विद्वान् हाम्रा पिताजी शिवराज आचार्यले लेख्नुभएको नेपाली वर्णोच्चारणशिक्षा(२०३१) नेपालीको स्नातकोत्तर तहमा पाठ्यक्रममा राखेर पढ्ने-पढाउने व्यवस्था गर्नुपर्ने अत्यावश्यकता अनुभव हुन्छ ।

नेपाली वर्णमालालाई अचेल लेख्य र उच्चार्य भनेर दुई प्रकारमा विभाजन गरिएको देखिन्छ। लेखिने गरेका तर उच्चारणमा नआउने कतिपय वर्णलाई उच्चार्य वर्णमालाबाट हटाइएको बुझिन्छ। ११ कक्षाको अनिवार्य नेपालीको सरकारी पाठ्यपुस्तकमा नेपाली वर्णमाला पनि दिइएको छ। त्यहाँ लेख्यवर्ण र उच्चारणमा आउने वर्ण भनेर दुईथरी वर्णमाला दिएर नेपाली शब्दहरूको उच्चारणमा ‘ई ऊ ऋ ऐ औ ञ ण श ष’ वर्ण छैनन् भनेर ती वर्ण उच्चार्य वर्णमालाबाट हटाइएका छन्। यसको तात्पर्य उक्त लिपिद्वारा प्रतिनिधित्व गरिने ध्वनिहरू ठेट नेपाली बोलीमा छैनन् भन्ने स्पष्ट हुन्छ। यस्तो निर्णय सरकारले पत्याएका नेपालीका प्राध्यापक र भाषाशास्त्रीहरूले गरेका र त्यस निर्णयको समर्थन अन्य धेरैले गरेको कुरा पनि अवगत हुन आउँछ । तर तिनको उक्त निर्णय कुनै पनि दृष्टिले उचित र युक्तियुक्त भने देखिँदैन । उच्चार्य वर्णमालाबाट हटाइएका ऋ-बाहेक उक्त सबै वर्ण नेपाली भाषाका ठेट बोलीमा समेत विभिन्न रूपमा छँदैछन् । त्यसैले तिनले सूक्ष्म रूपमा अवलोकन र विवेचन गरेर श्रुतिको वा वर्णको निर्णय गर्न नसकेका मात्र हुन् भन्ने देखिन्छ । ऋ-को उच्चारणचाहिँ नेपालीमा रि हुने गर्दछ अथवा संस्कृतको ऋ नेपालीमा आउँदा रि-मा बदलिन्छ । उक्त वर्णहरू नेपाली उच्चारणमा वा बोलीमा छैनन् भनेर निर्णय गर्ने र तिनको त्यस कार्यको समर्थन गर्ने सबै भाषाशास्त्री र वैयाकरणहरूले नेपाली भाषाका ध्वनिको यथार्थ पहिचान गर्न नसकेको वा अर्को भाषामा भन्दा अक्षरै राम्ररी नचिनेको भन्ने कुरा उक्त पाठ्यपुस्तकबाट स्पष्ट रूपमा देखिन्छ ।

नेपाली लेख्य वर्णमालाबाट चाहिँ संस्कृतका दीर्घ ऋृ तथा ऌ ॡ मात्र हटाइएको देखिन्छ । अं अःलाई स्वर वर्णभित्र राख्ने भद्दा त्रुटि पनि उक्त पाठ्यपुस्तकमा गरिएको छ । अनुस्वार र विसर्ग कसरी स्वर भए? यति पनि नबुझेका व्यक्ति कसरी सरकारी भाषाविज्ञ मानिए? गम्भीर प्रश्न उठ्छ । संस्कृतमा उक्त वर्णलाई अयोगवाह भन्ने गरिएको छ । व्यञ्जनअन्तर्गत पर्ने अयोगवाह भनेको के हो भनेर छुट्टै विवेचना गर्नुपर्ने हुन्छ । वर्णहरूको स्वरूप पहिचान गर्ने विषयमा नेपाली भाषाका विज्ञहरूको स्तर निक्कै कमजोर भएको ज्वलन्त उदाहरण अयोगवाहलाई स्वर भनी ठान्नु पनि हो । संस्कृतको गहिरो ज्ञान नभएका र अङ्ग्रेजीको पनि केवल अधकल्चो ज्ञान मात्र भएका नेपालीका शिक्षक-प्राध्यापकहरूले जथाभावी भाषा-व्याकरणमा हस्तक्षेप गरेर अत्यन्त अनुचित काम गर्न थालेको प्रमाण पनि यही र यस्तै अन्य काम हुन् ।

 नेपाली बोलीमा दीर्घ ईकार र ऊकार

संस्कृतकै परम्पराबाट नेपालीमा आएका वर्णहरूलाई उच्चारणमा छैनन् भनेर किन तल्लो तहकै विद्यार्थीलाई बुझाउन परेको हो ? जब कि बुझाउन खोज्ने विज्ञ आफैँले नै सबै वर्णहरूको स्वरूपको यथार्थ बोध गर्न नसकेको कुरा तिनकै पुस्तकबाट स्पष्ट हुन्छ । उनीहरू दीर्घ ई उच्चारणमा छैन भन्छन् । तर ह्रस्व र दीर्घ मात्र हैन, प्लुत (३ वा ४ मात्रा भएका) ई पनि बोलिचालीमा प्रशस्तै पाइन्छन् । शिक्षाशास्त्रअनुसार स्वाभाविक रूपमा (न छिटो, न त ढिलो) अ वर्ण उच्चारण गर्दा लाग्ने काल वा त्यति काल लगाएर उच्चारण गरिने वर्ण मात्रा वा ह्रस्व भनिन्छ । जस्तै– “अ इ उ ऋ लृ” यी वर्ण ह्रस्व हुन् । त्यसको दोबर काल लगाएर उच्चारण गरिने “आ ई ऊ ऋृ ॡ” वर्णहरू दीर्घ (द्विमात्र) भनिन्छन् । (नेपालीको आ-चाहिँ अ-को दीर्घ वर्ण हैन, पृथक् वर्ण हो ।)  त्यसको (ह्रस्वको) तेबर (वा चौबर) काल लगाएर उच्चारण गरिने आ३ ई३ ऊ३ ऋृ३ ॡ३ (अ३ इ३ उ३ ऋ३ लृ३) वर्णहरू प्लुत भनिन्छन् । यो कुरा याज्ञवल्य­ शिक्षामा यसरी बताइएको छ–

एकमात्रो भवेद्ध्रस्वो द्विमात्रो दीर्घ उच्यते ।
त्रिमात्रस्तु प्लुतो ज्ञेयो व्यञ्जनं चाऽर्धमात्रिकम् ।।१।१६।।

नेपालीमा पनि ह्रस्व, दीर्घ र प्लुत स्वर उच्चारणमा प्रशस्तै पाइन्छन् । यस सम्बन्धमा उदाहरण­सहित प्रतिपादन पिताजीको नेपाली वर्णोच्चारणशिक्षामा पनि गरिएकै छ (साझा प्रकाशन, २०३१, पृ. ११८-११९) । जस्तै केही उदाहरण–

इ यो हेर त । ई यो हेर त । ई३ यो हेर त । इ खालास् तैँले । ई खालास् तैँले । ई३ खालास् तैँले । इस् तँलाई दिम्ला । ईस् तँलाई दिम्ला । ई३स् तँलाई दिम्ला । उक्त वाक्यहरूमा इ ह्रस्व, दीर्घ र प्लुत पनि वक्ताका इच्छा र अभिप्रायअनुसार जोड नदिईकन वा जोड दिएर भन्दा उच्चरित हुन सक्ने देखिन्छन्। उच्चरित भैरहेका पनि छन् । त्यसै गरी– मिठो (अलिअलि मिठो), मीठो (अल्लि धेरै मिठो), मी३ठो (निक्कै धेरै मिठो); पिरो, पीरो, पी३रो; अमिलो, अमीलो, अमी३लो इत्यादि उदाहरणमा पनि ह्रस्व, दीर्घ र प्लुत उच्चारण वक्ताको अभिप्रायअनुसार हुन सक्ने देखिन्छ । सामान्यतया धेरैजसो अवस्थामा ह्रस्व उच्चारण हुने भएकाले ह्रस्व लेखे पनि अथवा क्षतिपूर्ति­दीर्घीभवन हुन्छ भन्दै दीर्घ (मिष्ट > मीठो) लेख्नुपर्ने नियम बनाए पनि जनजिब्रोले चाहिँ ह्रस्व, दीर्घ र प्लुत तीनै थरी इकार अवस्थाअनुसार उच्चारण गर्ने गर्दछ । अतः दीर्घ ई बोलीमा पाइँदैन भन्ने कुरा तथ्यविपरीत देखिन्छ । यस्तो भनेर उच्चार्य वर्णमालाबाट दीर्घ वर्ण हटाउन आवश्यक छैन र उचित पनि हुँदैन । उच्चारण भैरहेका वर्णलाई किन उच्चारण हुँदैनन् भन्नुपरेको होला? किन वर्णमालाबाट हटाउनुपरेको होला? भाषाशास्त्री र वैयाकरणले नै यथार्थ रूपमा बुझ्न गारो भैरहेको विषय ११ कक्षाका सबै विद्यार्थीलाई किन पढाउनुपरेको होला? उत्तर खोज्न ढिलो भैसकैको छ ।

त्यसै गरी दीर्घ ऊ पनि नेपाली बोलीमा पाइँदैन भनेर हटाएका छन् । यो पनि अनुचित कार्य नै देखिन्छ । नेपालीमा ह्रस्व, दीर्घ र प्लुत उकार उच्चारणमा प्रशस्तै पाइन्छन् । जस्तै–

उ त्यो (नजिकैको वस्तु देखाउँदा) । ऊ त्यो (अल्लि परको वस्तु देखाउँदा)। ऊ३ त्यो (निक्कै परको वस्तु देखाउँदा)। अल्लि उता जाउ । ऊता जाउ । ऊ३ता जाउ (निक्कै पर जाउ) । बुढो (अलिअलि बुढो) मान्छे । बूढो (अल्लि बुढो) मान्छे । बू३ढो (निक्कै बुढो) मान्छे । अरू पनि थुप्रै ह्रस्व, दीर्घ र प्लुत उकारका प्रयोग जीवन्त रूपमा नेपाली भाषामा बोलिचालीमा भैरहेका देखिन्छन् । तसर्थ दीर्घ ई ऊ नेपाली उच्चारणमा छैनन् भन्नु सरासर गलत कुरा हो ।साथै उच्चारणमा आइरहेका श्रुति(ध्वनि)हरूको ठिकठिकसित पहिचान गर्न नसक्नु पनि हो ।

दीर्घ ईकार र ऊकार कथ्य (उच्चार्य) नेपालीमा पनि छन् भन्ने कुरा नै सत्य र वस्तुस्थितिको अनुकूल कुरा पनि भएकाले तिनलाई उच्चार्य वर्णमालाबाट हटाउने सरकारी काम र त्यसमा सगाउने नेपालीका शिक्षक, प्राध्यापक तथा भाषाविज्ञहरूको काम अनुचित र त्रुटिपूर्ण नै हो भन्ने ठहर्छ । यसलाई यथाशीघ्र सच्च्याउन पर्छ ।

उपसंहार

नेपाली बोलिचालीमा मात्र हैन, छन्दोबद्ध (वृत्तबद्ध) श्लोक वाचन गर्दा पनि ह्रस्व र दीर्घ उच्चारणको भेद गर्नुपर्ने हुन्छ । श्लोकमा ह्रस्व इ-उ-लाई दीर्घ वा दीर्घ ई-ऊ-लाई ह्रस्व उच्चारण गर्दा वृत्तभङ्ग (छन्दोभङ्ग) हुन पुग्छ, लय बिग्ग्रिन्छ । नेपालीमा दीर्घ ई ऊ उच्चारणमा छैनन् भनेर सिकाउने काम गरी नेपाली विषयमा स्नातकोत्तर वा विद्यावारिधि तह उत्तीर्ण गरेका समेत नयाँ पुस्ताका सबै नै शिक्षित व्यक्तिलाई छन्दोबद्ध कविता वा भानुभक्त, मोतीराम, लेखनाथ, लक्ष्मीप्रसाद इत्यादि कविका काव्य लय मिलाएर पढ्नै नसक्ने बनाउन खोजिएको छ । यसबाट नेपाली शिक्षित व्यक्तिहरूको संस्कृत श्लोक वाचन गर्ने क्षमता पनि घट्न पुग्छ । यो हाम्रा परम्पराबाट र ज्ञानबाट नवीन पुस्तालाई परपर लैजाने षड्यन्त्रकै एउटा कडीमा रूपमा आएको काम हुन सक्छ ।

तसर्थ नेपालीका स्वतन्त्र र विवेकी शिक्षक-प्राध्यापकहरूले उच्चार्य वर्णमालामा स्वाद्ध्यायशालाले भनेजस्तो संशोधन नहुँदासम्म विद्यार्थीलाई यथार्थ कुरा पनि बताइदिने गर्नुपर्छ, अशुद्ध र मिथ्या कुरा पढाएर मात्र बस्न हुँदैन ।

नेपाली उच्चार्य (कथ्य) वर्णमालाबाट हटाइएका ऐ औ ञ ण श ष यी वर्णहरूमा विषयमा अर्को लेखमा राम्ररी विवेचना गरिने छ । यी वर्ण पनि नेपाली उच्चारणमा समेत भएकै वर्ण हुन् ।

कात्तिक २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्