पोइट आइडलको दोस्रो संस्करण आउँदै, तीन करोडभन्दा बढी खर्च हुने

पहिलो सिजनकाे जजहरू बायाँबाट क्रमश: उपेन्द्र सुब्बा, विप्लप प्रतीक, सुरक्षा पन्त र अनुप बराल।

टेलिभिजन रियालिटी शो का ‘डन डाइरेक्टर’ उपनामले समेत परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन्। पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन्।

‘डिजिटल अडिशन खोलेको हो। अहिले इस्मोथली कविताहरू आइरहेका छन्’, उनले भने, ‘हाम्रो बानी कस्तो हुँदोरहेछ भने अन्तिम-अन्तिम चरणमा अत्यधिक धेरै पठाइदिने। ह्वार्रै आउने। जसका कारण धेरै प्रेसर र हतार हुने देखिन्छ।’

एक महिना डिजिटल अडिसनका लागि छुट्याइएकाले सहभागीहरूले आफ्ना कविता तिहारसम्ममा पठाइसक्नुपर्ने छ। प्राप्त भएका कवितामध्ये छनोटमा परेका १ सय ५० जना भन्दा बढी कविहरूलाई काठमाडौं बोलाइने छ।

पोइट आइडलको दोस्रो संस्करण ल्याउन उत्साहित भएका अधिकारी पहिलो सिजनमा भन्दा दोस्रो सिजनमा सहयोगी हात बढेको बताउँछन्। उनले भने, ‘पहिलो सिजनमा सहयोगी हात जुटाउन गाह्रो भएको थियो। अब त्यो गाह्रो कम भएको छ। पोइट आइडललाई विश्वास गर्नेको संख्या धेरै हुनुहुन्छ भन्ने लागिरहेको छ।’

कार्यक्रमको युट्युब पार्टनर ओएसआर रहने छ भने भोटिङ पार्टनर पनि ओएसआर कनेक्ट हुनेछ। यो संस्करणमा मार्केटिङ पार्टनर एडी प्याड एक्युजिसन र एएनएस क्रिएसन रहने शोका निर्माता तथा निर्देशक अधिकारीले बताए। उनले भने, ‘यसपाली करिब ३ करोडभन्दा बढी खर्च देखिने भएको छ । नेपाली मार्केटका लागि यो रकम एकदमै धेरै रकम हो।’

पहिलो चरणबाट छानिएको कवितामध्ये १ सय पचासभन्दा बढी कविहरू कविता भन्न काठमाडौं आउने छन्। कवि तथा कविता छान्ने जिम्मा निर्णायकको हुनेछ। त्यसमध्ये फिजिकल अडिसनबाट १४ जना नेपाली भाषामा कविता लेख्न सक्ने प्रतियोगी छानिने छन्। यी सबै प्रक्रिया पहिलाको संस्करणमा झैं हुनेछ।

टेलिभिजन प्रसारण भने पुस पहिलो हप्तादेखि प्रारम्भ हुनेछ। हालसम्म कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने निर्णय भइसकेको छैन तर कार्यक्रम भने जम्मा ३० एपिसोडमा सक्ने अधिकारीको तयारी रहेको छ।

पोइट आइडल बन्नुको भित्री कथा:

नेपाली टेलिभिजनका लागि रियालिटी शो निर्माण तथा निर्देशन गर्न पहिलो सम्झिने नाम हो- अमनप्रताप अधिकारी। कवि, लेखक क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप चर्चित रियालिटी शो रोडिजका निर्देशक पनि हुन्।

करिब ५ वर्ष अगाडि उनका नजिकका मित्रले नयाँ अवधारणा ल्याएका थिए- कवि र कविताको। अमनप्रताप पहिला त अन्योलमा परेका थिए। कवि र कवितामाथि टेलिभिजन कार्यक्रमको जस्तो अवधारणा सुनेर उत्साहित भए तर काम गर्न गाह्रो हुन सक्ने अनुभव उनले सुनाए, ‘यस्तो प्रोग्राम कसैले गरेका थिएनन् नेपालमा। अझ कविता जति पपुलर विधा हो मास र लगानीकर्ता भित्राउन झनै जोखिम थियो।’

लेखेका सबै कविता कविता हुँदैनन् भनेझैं अमनप्रतापले पनि कविता कोरे तर कहिल्यै वाचन गरेनन्। कवि नभए पनि पारिवारिक पृष्ठभूमिका कारण उनीभित्र कवि मन थियो।

कवि र कवितामाथि फ्रेन्चाइज शैलीको रियालिटी शो गर्न गाह्रो भए पनि उनी हौसिइसकेका थिए। तर बुवा क्षेत्रप्रताप अधिकारी कवि गीतकार थिए। आफ्नै बुवाको प्रभाव पनि उनमा थियो। त्यसैले उनले सुनेको अवधारणा उनको मनमा अल्झिरहेको थियो। अन्तत, धेरै माथापच्चीपछि टेलिभिजन कार्यक्रमलाई ‘द पोयट आइडल’लाई आकार दिए अमनले।

‘पहिला टेलिभिजन कार्यक्रमको आइडिया थियो तर मलाई नेपालमै कवितामाथि रियालिटी शो बनाउने रहर थियो। त्यो प्रयोग गर्न चाहेर ‘द पोयट आइडल’ यहाँसम्म पुगेको हो’, उनले सुरुवाती अनुभव सुनाए।

‘कविताको एउटा शोमा सहभागी भएर ठूलो संख्यामा कवि बाँच्न सक्ने आधार बन्न सक्छ भन्ने लाग्दैन। तर एउटा कार्यक्रमले एउटा कविलाई विश्वका नेपालीमाझ चिनाउनेछ। ऊ कविता लेखेर बाँच्न सक्ने बन्यो भने पनि ठूलो हो भन्ने लागेर हौसिएँ’, अमनले भने। अझ भनौं, अमनप्रताप आफ्नै घरमा कवि पिताका दुःख देखेर पनि कवि र कवितामाथि काम गर्ने सपना बनाएका थिए।

तर अमनले नेपालमा कविको दुःख नजिकबाट देखेनन् मात्रै बुवा कवि गीतकार क्षेत्रप्रताप अधिकारीको दुःख उनले घरमै देख्न पाए। उनी बुबाको दौडधुप हेर्दै हुर्किएका थिए। त्यतिबेला उनलाई थाहा थिएन, आफ्ना बुबाको दौडधुप। निकैपछि सोचे, ‘यति व्यस्तता, जीवन गुजाराको तनावबीच पनि बुबाले कयौं लोकप्रिय सिर्जना गर्नुभयो। उहाँले सम्पूर्ण समय लेखनमै दिन पाउनुभएको भए त्यो संख्या कति ठूलो बन्थ्यो होला?’

क्षेत्रप्रतापले थुप्रै लोकप्रिय गीत लेखेका छन्, जनप्रिय कविता कोरेका छन्। तर उनले जीविकोपार्जनका लागि देशका विभिन्न निकायमा जागिर गरिरहनुपर्‍यो। ‘कम्तीमा ५ जना कविको काठमाडौंमा आफ्नै घर होस्’, बुबा कवि क्षेत्रप्रतापले बोलेको सम्झिए, उनले।

अमनका पिता क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए। जीवनको उत्तरार्द्धमा गीतकारका रूपमा धेरै चर्चा कमाएका उनलाई नारायणगोपालले गाएको ‘म त लालीगुराँस भएछु’, ‘मलाई छोडी मेरो छाया’, गोपाल योञ्जनले गाएको ‘शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन’, कुन्ती मोक्तानले गाएको ‘गोठालो जाँदा’ र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ जस्ता गीत नेपालीका मन–मनमा बस्न पुग्याे। पेसागत रूपमा हुलाकको पियनबाट जागिर थालेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए।

हुन पनि झोलामा कविता बोकेर बाटो-दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै कविहरू कहिलेसम्म हिँड्ने? आजको समय कवि क्षेत्रप्रतापको जमानामाजस्तो थिएन। आज पनि कवि र कविता अभावमा कहिलेसम्म बाँच्ने? के अबका कवि र तिनका कविताले मास नपाउने? कविले स्टेज नचढ्ने? सुकिला/मुकिला हुन नपाउने? अमनप्रतापलाई यस्तै-यस्तै प्रश्नले उद्वेलित गर्‍यो।

‘बुबा, आजको कवि र कविता सम्झिएपछि रोडिजको काम गर्दै द पोयट आइडलको खाका तयार पारें’, अमनले काम गर्दैगर्दाको अनुभव सुनाए। बुवा क्षेत्रप्रताप अधिकारीले पूरा गर्न नसकेको सपना उनी पोइट आइडलमार्फत् पूरा गर्ने सोचमा छन्। त्यही सोचेको नतिजा थियो- पोइट आइडलको पहिलो सिजन। सिक्किम घान्तोककी नीलम गुरुङले पहिलो पाेइट आइडल बनेपछि नेपालभित्र र नेपाल बाहिर बसेका नेपाली भाषी जो कोहीले कवितामार्फत आर्थिक पक्षलाई पनि उकास्न सकिने सपना देख्न थालेका छन्। त्यो आधारलाई मजबुद् बनाउन लागि परेका छन्- निर्देशक अमनप्रताप अधिकारी।

अमन जहाँ जाँदा पनि क्षेत्रप्रतापको छोरा भन्दै बेग्लै आत्मीयता पाउँथे। त्यो माया र आत्मीयता कविताप्रतिको हो भन्ने उनलाई थाहा भए पनि विज्ञापनदाताहरू पाउन गाह्रो। कवितामाथि लगानी गर्न एजेन्सीहरू तयार थिएनन्। उनीहरू भन्थे, ‘खर्च गर्ने र यसमा?’

अब चुनौती थियो, द पोयट आइडलको संरचना टेलिभिजनमा कसरी देखिन्छ? के दर्शकले फ्रेन्चाइज रियालिटी शोजस्तै मन पराइदिन्छन्? गल्यामर आउँछ त कवि र कवितामाथि बन्दै गरेको द पोयट आइडलमा? यस्ता अनेक प्रश्नले पिरोल्थ्यो, अमनलाई। फरक-फरक टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन र प्रस्तुतिमा जीवनको करिब २५ वर्ष बिताएकाले उनी पछाडि हटेनन्।

जीवनका केही वसन्त राष्ट्रिय फुटबलमा बिताएका अमन खासमा फुटबलप्रेमी हुन्। खेलाडी हुन नसकेका खेलाडी हुन्। खेल मैदानमा खेलाडी हुन नसके पनि उनी रियालिटी शो निर्देशकका रूपमा भने खेलाडीभन्दा कम दरिएनन्। सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उनी सन् २००५ मा फिल्म एन्ड टेलिभिजन विषय अध्ययनका लागि स्कटल्यान्डस्थित एडिनबर्ग कलेज पुगे। त्यही क्रममा बिग ब्रदर नामक शोमा इन्टर्नसिपसमेत गरे।

त्यसै समय नेपाल टेलिभिजनका लागि फिफा विश्वकपसम्बन्धी कार्यक्रम सञ्चालकको खोजी भइरहेको थियो। उक्त कार्यक्रमका लागि स्नातकोत्तर उत्तीर्ण, अंग्रेजी भाषामा राम्रो दक्खल र खेल पनि राम्रोसँग बुझेको मान्छे चाहिएको थियो। अमन यी सबैमा अब्बल थिए।

रोडिज, टेलिभिजन यात्रामा सिल्भर जुब्ली पार गरेका अमन द पोयट आइडलका निर्माता पनि हुन्। उनी भन्छन्, ‘निर्मातासमेत भएर काम गर्न हौसिएको पिताको प्रेरणाले पनि हो। उहाँकै लागि कवि र कवितामाथि नौलो काम गर्न तयार भएको हुँ।’

बुबाको सपनाको पनि सारथी बन्नु थियो। त्यसैले उनले रिस्क मोलेरै ‘द पोयट आइडल’ गर्ने निर्णय गरेका थिए। फ्रेन्चाइज रियालिटी शोहरूकै फर्म्याटमा भए पनि यो विशुद्ध नेपाली पोयट आइडल हो। यसले दर्शकलाई कविता मात्रै होइन, मनोरञ्जन पनि दिन्छ र ठूलो प्लेटफर्म सिर्जना गर्दछ।

कहीं नभएको जात्रा हाँडीगाउँमा भनेझैं कहीं सुरु नभएको द पोयट आइडललाई उनले नेपालबाट उठाउन चाहे तर साथ र सहयोगी हात जुटाउन गाह्रो थियो। त्यसका लागि प्रशस्त लगानी चाहिन्थ्यो। साथै, शोमा सहभागी प्रतिस्पर्धी र दर्शकबीचको भावनात्मक अट्याचमेन्ट पनि हुन जरुरी थियो। रोडिजमा बल बुद्धि लाग्थ्यो। को बन्छ करोडपतिमा अध्ययन, स्मरणशक्ति र प्रश्नहरू चाहिन्थ्यो। ऐनामा सामाजिक विषयवस्तु भएकाले सत्यतथ्य घटना र घटनासँग जोडिएका पात्रसँगको वास्तविक कथा चाहिन्थ्यो। तर द पोयट आइडल भावुक रियालिटी शो थियो।

बहुप्रतिभाशाली साहित्यकार अनि गीतकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनले झोलामा कविता बोकेर बाटो-दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै हिँड्ने हजारौं कविहरूको जीवनभर सुकिला-मुकिला हुन नपाउने विवशताको पर्दालाई च्यातेर कवि र कवितामाथिको कार्यक्रम ’द पोयट आइडल’मार्फत विश्वमाझ फैलाउँदै कवि मनहरूको जालो।

कविहरू आफैंमा भावुक हुन्छन्। कसरी निर्णय गर्न सक्लान्। कविलाई आफ्नो कविता संसारकै उत्कृष्ट लाग्छ। कवितामा जान फालेर लाग्ने कविहरू थिएटर पार्टी प्लेसका हलमा केही सय कवि र दर्शकका बीचमा सुनाएजस्तो पनि होइन। कविता र कविलाई क्यामेराको फ्रेमभित्र राखेर निर्देशन गर्नु अर्को चुनौती थियो।

‘कविहरू भावुक हुन्छन्। उनीहरूको आफ्नै शैली हुन्छ। त्यसलाई फ्रेममा ल्याएर कैद गर्नु गाह्रो काम थियो। तर हाम्रो कोसिस बेटर गर्ने हो र गरिरहेका छौं’, उनले भने।

प्रतिस्पर्धीजस्तै जज कवि पनि भावुक भइदिन्छन्। यति बोलौं भनेर निर्देशन गरिरहेको अनुभव पनि रह्यो अमनकाे।

‘कविताले सिधै मुटुमा पिन्च गर्छ। तर प्राविधिक दिमागबाट खेल्नुपर्ने हुन्छ। यस्तो बेला अलिकति गाह्रो हुँदो रहेछ’, उनले भने।

पहिलो सिजन नै सफल पार्न सकिन्न कि भन्दाभन्दै सफल भएको पोइट आइडल यतिखेर दोस्रो सिजनको यात्रा गर्दै छ। अघिल्लो सिजनका जजहरू अन्य कामको व्यस्तताले दोहोरिन पनि सकिने सम्भावना भए पनि होस्ट भने अभिनेता रंगकर्मी दिव्यदेव पन्त नै हुनेछन्।

कात्तिक २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्