निशा शर्मा

बदलिँदो समाजमा फस्टाइरहेको छाउपडी

सामान्यतया हामीले छाउपडी प्रथा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलनमा रहेको देखेका या सुनेका छौं, जहाँ महिला महिनावारीको समय छाउगोठमा बिताउन बाध्य हुन्छन्। हामीलाई थाहा भएसम्म गोठमा गाईवस्तुलाई राखिन्छ तर दुर्भाग्य आज पनि यस क्षेत्रका दिदीबहिनी परम्पराको नाममा गाईवस्तुको हैसियतमा बाँच्न विवश छन्। झन् गर्भवती र सुत्केरी अवस्थामा त गाईवस्तुले जति पनि स्याहारसुसार पाउँदैनन्।

महिलामा धेरैजसो शारीरिक समस्या सुत्केरी हुँदाको समयमा हुनुपर्ने उचित स्याहारसुसार र पोषिलो आहारको कमीकै कारणले उत्पन्न हुने गर्छ। तर, शिशुको न्वारान सकिएसँगै उनीहरूको सुत्केरी समय पनि सकिन्छ। आफ्नो र बच्चाको स्वास्थ्य र प्राणलाई दाउमा राख्दै परम्परा धान्न महिला महिनावारीमा बच्चासहित छाउगोठमा रात बिताउन बाध्य हुन्छन्। हुन त सरकारलगायत विभिन्न गैरसरकारी संघसंस्था छाउपडी परम्परा निर्मूल गर्न लागिपरेका छन् साथै नेपालको संविधानले पनि छाउपडीलाई कुप्रथाको संज्ञा दिएको छ। त्यस्तै वि.सं २०७५ मा छाउपडी प्रथालाई अपराधीकरणसमेत गरिएको थियो । तर यस परम्पराले सुदूरपश्चिममा अझै पनि जरो गाडेको छ र अझै पनि प्रत्येक वर्ष कैयौं महिला तथा युवती छाउगोठमा बलात्कार, सर्पको टोकाइ र बाघको सिकार हुँदै आइरहेका छन्। तर, धर्म र संस्कृतिका अन्धअनुयायीलाई महिलाको जीवनभन्दा पनि ‘प्रथा’ ठूलो लाग्छ। मानौं यो प्रथा मासिंदा ठूलै अनर्थ र अनिष्ट हुन्छ। त्यसमाथि आफैंले कानुनतः बर्जित गरेको र कुप्रथा मानेकोे यो घातकअभ्यासविरुद्ध कडा कारबाही गर्नुको साटो देखेको नदेखेझैं गरेर राज्यले थप मलजल गरिरहेको छ।

के छाउपडी सुदूरपश्चिममा मात्र छ?

आजको बदलिँदो समाजमा महिला पनि पुरुष सँगसँगै अगाडि बढिरहेका छन्। हामीले पनि देशमा महिला राष्ट्रपति, महिला सभामुख अनि महिला प्रधानन्यायाधीश पनि देख्यौँ। साथै अन्य उच्च सरकारी ओहोदा तथा आयोगमा पनि महिलाको बाक्लो उपस्थिति छ। तर के त्यहाँ छाउपडी सोच छैन? राष्ट्रपति नै भए पनि कति बोल्ने, के बोल्ने, के नबोल्नेजस्ता कुराको निर्णयमा पुरुषहरू नै हावी भएको पाइन्छ। महिला प्रधानन्यायाधीशमाथि गरिएको निकृष्ट राजनीति पनि कसैबाट लुकेको छैन । छाउगोठमा राखेझैँ पदमा सीमित राखिएका महिलाको आवाजले बजेट, नीति तथा कार्यक्रम र योजना निर्माण गर्ने तहमा विरलै स्थान पाउँछन्। कतिपय अवस्थामा आफ्नो राजनीतिक भ¥याङ्लाई बलियो बनाउन श्रीमतीलाई अघि सारेर उपमेयरमा उठाइएको दृष्टान्त सर्वविदितै छ।

सत्यको भ्रम

कुनै पनि झुटलाई बारम्बार दोहो¥याइयो भने मानिसले त्यसलाई साँचो मानेर पत्याउन थाल्छन् । हाम्रो समाजमा पनि पितृसत्तात्मक संरचनाले शास्त्रमा नभएका र भए पनि समय सान्दर्भिक नभएका, आफ्नो अनुकूलता र फाइदामा आधारित नियम कानुन बनाई महिलामाथि लाद्दै आयो र यसलाई हरेक पुस्तामा यसरी हस्तान्तरण गरियो कि कालान्तरमा आइपुग्दा महिलाले त्यसलाई नै शाश्वत सत्य मान्न थाले। त्यही नै आज महिलाको नियति बन्न पुग्यो जसलाई उनीहरूले बाध्यतावश परम्पराको रूपमा धानिरहेका छन्।

छाउपडी प्रथा कि सोच?

झट्ट हेर्दा हाम्रो समाजमा छोरा र छोरीमा खासै भेदभाव छैन वा देखिँदैन। तर नियालेर हेर्ने हो भने बनावटी सामाजिक तामझाम र आधुनिकताभित्र विसंगतिका कैयौं पत्र अझै ज्युँका त्युँ छन्। तिनै पत्रमध्ये एक हो छाउपडी पनि। छाउपडी त हाम्रो समाजमा व्याप्त लैंगिक विभेदको एउटा सानो बिम्ब मात्रै हो। सहरी महिला पनि ईंटा, सिमेन्ट, टायल र मार्वलले सिँगारिएका ’छाउपडी’मा अनेकखाले नीतिनियम, आयातित संस्कार, आडम्बरी चालचलन र अदृश्य हिंसाको सिकार बनिरहेका छन्। पहिलेको जस्तो शारीरिक हिंसा त नहोला तर आज पनि के लुगा लगाउने, कस्तो लगाउने, कोसँग कसरी बोल्ने, कसरी हाँस्ने, साँझ कति बजे घर फर्कने, कति बच्चा पाउने, कहिले पाउनेजस्ता महिलाले गर्ने सामान्य निर्णय पनि पुरुष र स्वयं आफूलाई कुलीन ठान्ने पितृसत्तात्मक सोच भएका महिलाले गर्छन्। दाइजोको निहुँमा हुने खिसीट्युरी र अपमान त आफ्नो ठाउँँमा छदैंछ। यौन शोषणजस्तो जघन्य क्रियाकलापविरुद्ध अदालतमा उजुरीसमेत दर्ता गर्न नपाउँदै आरोपितहरूको बचाउमा सामाजिक सन्जाल र सञ्चारमाध्यममा उर्लने भीड र एकअर्कामाथि गरिने विषबमनले पनि हाम्रो समाजले महिलाप्रति कति असंवेदनशील र हिंस्रक सोच राख्छ भन्ने कुरा छर्लङ्गै हुन्छ। उदेकलाग्दो कुरा त के छ भने आफूलाई नारी मुक्ति र लैङ्गिक समानताका अभियन्ता ठान्नेमहिला समेत यस्तो भीडमा चर्को स्वरले बोलिरहेका पाईन्छन्। भैगो, निर्मला पन्तको नियति यहाँ नकोट्याऔं।

एक पटक कामको सिलसिलामा मुगुको गमगढीबाट रुगा गाविस जाँदै गर्दा एकजना तीन दिनकी सुत्केरी पनि हामी सँगसँगै उकालो हिँडिरहेकी थिईन्। त्यसैगरी पर्वत जिल्लाको एक प्राथमिक अस्पतालमा सर्वे गर्ने क्रममा एकजना गर्भवती युवतीसँग कुरा गर्दै जाँदा उनको गर्भ दस महिनाको र उमेर १६ मात्र रहेको थाहा हुँदा म झसङ्ग भएकी थिएँ। जबकि त्यतिबेला २६ वर्षकी अविवाहिता र स्वतन्त्र म उनीसँग कुरा गर्दै थिएँ। दूरदराजका गाउँमा अझै पनि हाम्रा दिदीबहिनीहरूको यस्तो भयावह अवस्था छ जहाँ उनीहरू १४ वर्षभन्दा पनि कम उमेरमा बिहे गरी १५–१६ वर्षमा बच्चा जन्माउन बाध्य छन्। छाउपडी जस्तो कुसंस्कारलाई प्रश्रय दिने सामाजिक सोच नहुँदो हो त ती युवती त्यो उमेरमा अस्पतालमा नभई विद्यालयमा भेटिने थिइन्।

आज छोरीलाई छोरासरह शिक्षा र समान अवसर त दिइएको छ, महिला सशक्तिकरणका थुप्रै काम पनि भएका छन् तर समाजको ठूलो हिस्सा अझै पनि ती सशक्त महिलालाई केवल बुहारी र परम्परागत जिम्मेवारीमा बढी देख्न चाहन्छ। आज श्रीमान् र श्रीमती दुबै पेशागत र आय आर्जनका हिसाबले उत्तिकै सक्षम छन्। तैपनि जब दुबैजना कार्यालयबाट सँगै घर फर्किन्छन्, श्रीमान् टिभीको रिमोट समाउँछन् त श्रीमती भान्साका जुठा भाँडा।

पुरुषहरू भन्छन् – महिलालाई समान अवसर दिएका छौं, जागिर खान गर्न दिएका छौं, अरु के चाहियो? तर के घरभित्रको जिम्मेवारी पनि बाँडफाँड भएको छ त? कति प्रतिशत पुरुषले भात भान्सा गर्ने र बच्चा स्याहार्ने जिम्मेवारीमेरो पनि हो भन्ने कुरास्वीकार्छन्? जतिसुकै सक्षम भए पनि अधिकांश कामकाजी महिलाले भोगिरहेको हाम्रो समाजको तीतो यथार्थ हो यो। घर, काम र बालबच्चासमेत गरी कामकाजी महिलाले तेहेरो भूमिका धान्दै जीवन घिसारिरहेका हुन्छन्।

माथि भनेझैं, छाउपडी जति सुदूरपश्चिममा व्याप्त छ त्यति नै सहरमा पनि छ किनकि आज पनि गाउँका छाउगोठ हुन् या सहरका गल्ली, महिलाका लागि कतै सुरक्षित छैन। आज पनि ग्रामीण हुन् वा सहरी महिला, दुबैथरीले आफ्नो शरीर र जीवनको निर्णय आफैँले लिन पाउँदैनन्।

त्यसैले छाउपडी नामक पिँजडामा हामी र हाम्रोजस्तो सामाजिक मनोविज्ञान भएका अधिकांश देशका महिला बन्धक बनाइएका छन्। परिवेश फरक हुन सक्छ, भोगाइ फरक हुनसक्छ तर अन्तर्य करिब करिब एउटै छ । केही महिनाअघि इरानमा हिजाब राम्रोसँग नलगाएको भन्दै प्रहरीद्वारा २१ वर्षीया युवती मारिइन् । भर्खरै भारतको मणिपुरमा दुई समुदायबीचको लडाइँमा दुई महिलालाई निर्वस्त्र पारी गाउँ घुमाइयो र २१ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरियो। नेपालमै पनि बाउबाट छोरी, दाइबाट बहिनी अनि कलिला बालिकाहरूसमेत बलात्कृत भएका कहालीलाग्दा घटना सामान्य भइसके। केहीले सञ्चार माध्यममा स्थान पाउँछन् त केहीलाई घर परिवारको इज्जतको नाममा दबाएर राखिन्छ। फेरि हामी यस्तो प्रजातान्त्रिक अभ्यासमा छौं कि यस्ता कैयौं जघन्य आपराधिक घटनालाई स्वयं राज्य प्रशासन र स्थानीय टाठाबाठाहरूले मिलापत्रको नाममा पीडितको अस्मिताको मूल्य तोकेर दोषीलाई मुक्ति दिन्छन्।

अझै पनि हाम्रो समाजले परम्पराको नाममा छाउपडीजस्तो कुसंस्कारलाई काखी च्यापेर ग्रामीण नेपाली महिलाको जीवन र जीवनस्तरलाई पछाडि धकेलिरहेको छ। धर्म, परम्परा र संस्कृतिको महत्व आफ्नो ठाँउमा छ तर जुन परम्पराले लाखौं महिलाको स्वास्थ्य र बाँच्ने अधिकारमाथि खेलवाड गरिरहेको छ, यस्ता परम्पराबारे हामीले सोच्नै पर्छ। संस्कार सँधै महिलामा मात्रै किन खोजिन्छ? नियम र अनुशासन के महिलाका लागि मात्र हो? यो समाजका मठाधीशहरूले सफाइ दिऊन् ( महिनावारीको बेला काटेको घाँस नछोइने, दाउरा नछोइने, टेकेको धर्तीसम्म नछोइने, छाउगोठमा बसेकी महिलामाथि बलात्कार गर्दा पनि नछोइने तर घर र चुलोचौको छोइने जसबापत महिलाको बली नै दिनुपरे पनि पछि नहट्ने।

समाधान के त?

 २०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्यामा ४८.९६ प्रतिशत पुरुष छन् जुन महिलाको जनसंख्यामाभन्दा कम हो। तर राज्यका स्रोतसाधन र अवसरहरूमाथि त्यही कम जनसंख्याको हालीमुहाली छ। जसले समाजमा विद्यमान महिला र पुरुषबीचको असमानतालाई छर्लङ्ग देखाउँछ। त्यसैले राज्यका स्रोतसाधन र अवसरहरूमाथि समानता कायम हुनेगरी महिला सशक्तिकरण, गुणस्तरीय शिक्षा, सीप विकास र महिला अधिकारको सुनिश्चिततामा सरकारले अझै जोड दिनुपर्छ। नीतिनियम र कानुन समय र परिस्थिति अनुसार परिमार्जन गर्नुका साथै कानुनी कार्यान्वयनको प्रभावकारी अनुगमन हुनुपर्छ।

 अझै पनि रूढिवादी सोच र संरचनाको जरा बलियो भएको समाजमा अनेकन् प्रथा र परम्पराहरूले महिलाको स्वतन्त्रता र व्यक्तित्व विकासको अधिकारमा भाँजो हालेका छन्। समानाताको यो लडाईंमा आजको पुस्ताका महिलाले पनि हाम्रा हजुरआमा र आमाहरूले झैं चुपचाप लाग्नु भनेको आगामी पुस्ताका महिलाको जीवन झन् कष्टकर बनाउनु हो। त्यसैले छोराछोरीलाई हुर्काउँदा, संस्कृति र परम्पराबारे ज्ञान दिँदा कमसेकम हाम्रो पुस्ताले सही–गलत छुट्याएर उनीहरूलाई संकुचित हुनबाट जोगाउनुपर्छ।

 छोरीहरूको शिक्षामा अझ जोड दिंदै र उनीहरूको आर्थिक स्वतन्त्रता र आत्मनिर्भरतालाई अझ बलियो बनाउनुपर्छ।

 घरेलु कामकाज लैंगिकतासँग जोडिनु हुँदैन। घरपरिवार महिला र पुरुष दुबैको बराबर हो। अझ घरमा बस्ने सबैको हो। यो पारिवारिक सोच र व्यवहार मात्रले पनि महिलाको मनोविज्ञानमा पर्ने भार कम हुन जान्छ।

महिलाका लागि मात्र बनाइएका रीतिथितिले थिचिएर आज कैयौं घरबार बिग्रिएका छन्, सम्बन्धहरू टुटेका छन् र मन टाढिएका छन्। यी र यस्तै सोच र व्यवहार परिवारमा हावी हुँदा घर घरजस्तो छैन, परिवार परिवारजस्तो छैन। हजुरबा, हजुरआमादेखि नातिनातिनासम्मको तीन पुस्ता एउटै छानोमुनि बस्ने ‘सगोल’ परिवारको अभ्यास झण्डैझण्डै दन्त्यकथा भइसक्यो। अझै पनि यो मानसिकतामा परिवर्तन भएन भने यसै पनि दिनहुँ रित्तिंदै गएको देशमा हरेक घरमा छाउगोठजत्रा साना मन र छाउगोठजस्तै होचा विचार भएका मुखिया र मुखिनीहरू मात्र बाँकी रहनेछन्। समाज समाजजस्तो रहने छैन।

(शर्मा लैंगिक अध्ययन तथा मानव अधिकार विषयकी अध्येता हुन्)

कात्तिक ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्