देउडा सँस्कृति संरक्षणका लागि हुम्लामा सँस्कृति मञ्च

सिमकोट – देउडा संस्कृतिको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागि परेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।

२०८० साल वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम शुरु गरिएको हो ।

देउडा संस्कृति प्रति नयाँ पुस्ताको रुची नदेखिदा गाउँका स्थानीयहरुले देउडा संस्कृति मञ्च नै गठन गरी यो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीयहरु भेला हुने गरेका छन् । पश्चिमेली संस्कृतिको दबाबमा हुम्लाको संस्कृती लोप डर देखिदा आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरु एकजुट भएका हुन् ।

देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरु गाइने गरिन्थ्यो । यो पहिले केटाकेटीले बिबाह गर्ने माध्यम पनि थियो । केटाकेटी मिलेर रातभरि देउडा गाउने सामान्य जस्तै थियो उति बेला । तर अहिले त्यसरी गाउने चलन हटिसकेको छ ।

सुदूरपश्चिम र कर्णाली युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर वाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएकाले आफूहरुले युवाहरुको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निणर्य गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायाले बताए ।

अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य जोडिसकेका छन् । त्यसमा सिमकोट गाउँपालिका भन्द अन्य गाउँपालिकको एक जना सदस्य रहेका छन् ।

पश्चिमेली संस्कृतिले नेपाली संस्कृतिलाई आक्रमण गरिरहेको बेला र अहिलेको नयाँ पुस्ता पुरानो पुस्तासँग नजोडिएकाले संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणमा आफुहरु लागेको अध्यक्ष रोकायाले बताए ।

विश्वमै देउडा यो संस्कृति अनौठो छ । संस्कृति र भेषभुषा पनि फरक छ । अनौठो संस्कृतिलाई विश्वव्यापीकरण गर्ने मान्यता मंञ्चले लिएको छ । लोपोन्मुख संस्कृतिलाई जगेर्ना गरेर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ २०८० साल वैशाख १ गतेबाट हरेक महिनाको १ र १५ गते देउडा प्रतियोगिता शुरु गरिएको छ ।

त्यसमा गाउँगाउँका महिला पुरुष परम्परागत पहिरनमा सजिएर देउडा गाउने गर्दै आएका छन् । गत असोज १५ गते अछाम जिल्लाकी देउडा गायिका पानसरा थापालाईसमेत अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

यसरी देउडाको संरक्षणका लागि अभियान सुरु भएको र यसलाई निरन्तरता दिनका लागि चुनौती पनि उस्तै रहेको छ । मञ्चसंग साधन र श्रोत जुटाउन मुख्य चुनौती देखिएको छ ।

अहिलेसम्म सञ्चालन भइरहेको देउडा प्रतियोगितामा सदस्यहरुबाटै श्रोतको ब्यवस्थापन हुने गरेको छ तर त्यस्को बारम्बार संभावना देखिएको छैन ।

 

कात्तिक ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्