भुस्याहा कुकुरको बिगबिगी

सिमकोट – सिमकोट बजारमा भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ। किसानले बाली नाली भित्र्याएसँगै खेती लगाएको जग्गामा पशुबस्तु छोडिएपछि सिमकोट बजारमा ती कुकुरहरुको बिगबिगी बढेको हो।

सिमकोटका ब्यापारी नरबहादुर लामाले रात दश बजेपछि बिहानसम्म बजारका चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको बताए। कुकुर यसरी बजारमा बढी देखिएपछि एक्लै हिड्न समेत कठिन हुने गरेको छ। बजारभरी भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको बताउँदै लामाले त्यसलाई ब्यवस्थापन गर्नु आवश्यक रहेको बताए।

गतवर्ष पनि यही समयमा बजारमा निस्किएका भुस्याहा कुकुरले चार जनालाई टोकेर घाईते बनाउँदा जिल्ला बाहिर बिरामीलाई रिफर गर्नु परेको थियो। उनले पन्द्र बीस कुकुर चोकमा जम्मा हुने गरेको कारण बिहानै काममा निस्कने मानिसले हैरानी खेप्नु परि रहेको बताए।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया भामले यसरी रातभरी र बिहानसम्म छाडिएका कुकुर कुनै ब्यक्तिका भए घरमा बाँधेर राख्न र यसरी छाडा नछोड्न आग्रह गरेकी छन्।

यो आग्रह गर्दा पनि कुकुरलाई छोड्ने र त्यसबाट भोली कुकुरले टोकेर कुनै घटना भए त्यसको जिम्मा कुकुर धनीले लिनु पर्ने उनको भनाइ छ। उनले छाडा रुपमा देखिएको भुस्याहा कुकुरको ब्यवस्था गर्नका लागि गाउँपालिका लाग्ने बताउँदै बिगतमा कुकुरबाट भएका घटनाले गर्दा पनि ब्यवस्थापन गर्नै पर्ने बाध्यता रहेको बताइन्।

कात्तिक ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्