एकीकृत स्वास्थ्यशिविरबाट बाह्र सयभन्दा बढी बिरामीको उपचार

सिमकोट – उत्तरी क्षेत्रको नाम्खागाउँपालिकाको केन्द्र याल्वाङमा सञ्चालन हुँदा विशेषज्ञ सेवासहितको एकीकृत स्वास्थ्यशिविरबाट बाह्र सयभन्दा बढी बिरामीको उपचारका साथै चेकजाँच गरिएको छ।

काठमाडौंबाट आएका चिकित्सकबाट उपचार पाउने र धेरै रोगका बिरामीको उपचार भएकाले बिरामीको आइरो लागेको हो।
गाउँपालिका स्वास्थ्यशाखाका प्रमुख ग्याछो लामाले विशेषज्ञ सेवासहितको एकीकृत स्वास्थ्यशिविर सञ्चालनबाट एक हजार २ सय ७५ जना बिरामीको उपचार भएको बताए।

काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली नाम्खा गाउँपालिकामा आएर शिविर गाउँपालिकाको समन्वयमा सञ्चालन भएको हो।

शिविरमा १ सय ५५ जनाको भिडियो एक्स रे, दुई जनाको रगत र पिसाब परीक्षण, पाँच जनाको इन्डोस्कोपी, १३३ जनाको छालाको चेकजाँच, आठ जनाको कानको शल्यक्रिया, ३०८ जनाको आँखाको चेकजाँच भएकामा ३९ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया, २९२ जनाको दाँतको उपचार २५१ जना महिलाको उपचार र १४२ जनाबालबालिकाको उपचार भएको हो।

शिविरमा सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिएको उनले बताए। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिका र काठमाडौंका एक पाइलानामक संस्थाको समन्वयमा गाउँपालिकामा हालसम्मकै ठूलो शिविर सञ्चालन गरिएको बताए।

यसका लागि जनशक्ति, हवाई भाडा र औषधि एक पाइलाले गरेको र स्थानीय रुपमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोरेको उनले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा ४० जना चिकित्सक र स्वास्थ्यकर्मी परिचालन भएकोमा जिल्ला अस्पतालबाट दुई जना र अरु सबै काठमाडौं आएका हुन्। शिविरमा गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष तबदिर लामाले समेत स्वयंसेवाका रुपमा सहयोग गरेका थिए।

 

कात्तिक २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्