भूकम्प आउने कुरा पहिले नै थाहा हुन्छ?

‘सर, भूकम्प आउने कुरा पहिले नै थाहा हुन्छ र? साथीहरू त भन्दैछन्…!’

मेसेन्जरमा एक पूर्व विद्यार्थीले छोडेको जिज्ञासा देखियो। उनलाई तीन वर्षअघि नै भूकम्पको बारेमा आफूलाई थाहा भएको र विद्यार्थीहरूले बुझ्नसक्ने तहसम्मको कुराहरू गहन रूपमा पढाइसकेको थिएँ। कक्षाका सबै विद्यार्थी प्रष्ट भैसकेका थिए।

सम्भवतः यसबारेमा थप प्रश्न आउनु हुन्थेन। तर विज्ञानको विशेषता नै यो छ कि चार वर्षअघि राम्राेसँग बुझाएको विषयमा आज कन्फ्युजन देखियो।

‘हामी त राति १ बजेसम्म बाहिरै बसेका थियौं हजुर! छोराको मोबाइलमा एक दिन अघि नै मेसेज आएको रहेछ। भूकम्प आउने कुरा हामीलाई त पहिल्यै थाहा थियो …!’

निवास बाहिर एक छिमेकी बोलेको कोठाबाटै सुनियो। कोरियाबाट छोराले ल्याएको महंगाे मोबाइलको सगर्व बखान गर्दै थिए उनी।

‘सुदूरपश्चिममा ८.६ रेक्टर स्केलको भूकम्प जाने र १६ हजार बढी व्यक्तिहरूको मृत्यु हुने अनुमान।’ एक अनलाइनले प्रकाशन गरेको एक सामग्री फेसबुकमा देखियो।

०००

माथि उल्लेख गरिएका तथ्यहरू एकै दिन देखिए। देशमा निरन्तर ठूलासाना भूकम्प गइरहदा आमसर्वसाधारणहरू भूकम्पबारे कति भ्रमित छन् भन्ने यी उदाहरणले प्रष्ट हुन्छ। यो बेला सही सूचना र सचेतनाको ठूलो जरुरत छ ताकि सर्वसाधारणहरू आवश्यक पूर्वतयारी गर्न सकून् र सम्भावित क्षति न्यूनीकरणमा मद्दत पुगोस्।

उसो त वर्तमानमा भूकम्प सचेतनका लागि यथेष्ठ सामग्रीहरू प्रकाशन प्रशारण भैरहेका छन्। यहाँ विशेषतः भूकम्पबारे पूर्वजानकारी र सामाजिक सञ्जालमा प्रचार भैरहेको मोबाइल एलर्ट सेवाको सत्यताबारे आफूलाई जानकारी भएको केही तथ्य लेख्ने प्रयास गरेको छु। विज्ञानका केही जटिल सिद्धान्त र शब्दावलीहरूलाई समेत सामान्यीकरण गरेर आम सर्वसाधारणले बुझ्ने भाषामा यो आलेख तयार गर्ने प्रयत्न गरिएको छ।

भूकम्प किन जान्छ?


पृथ्वीको संरचनाको संक्षेपमा व्याख्या गरौं। यसको केन्द्रीय भाग अर्धतरल पदार्थबाट बनेको छ भने बाहिरी भाग कडा चट्टानबाट बनेको छ। चट्टानी भाग ठूलासाना टुक्राबाट बनेको छ। यस्ता टुक्रालाई टेक्टोनिक प्लेट भनिन्छ। वैज्ञानिक अध्ययनअनुसार पृथ्वीलाई सात मुख्य टेक्टोनिक प्लेटमा विभाजन गरिएको छ। मुख्य प्लेटअन्तर्गत पनि ठूलासाना थुप्रै प्लेट छन्।

यी प्लेट निरन्तर सुस्त चालमा हुन्छन्। यिनीहरूमा स्थितिशक्ति पनि सञ्चित भएर रहेको हुन्छ। यिनीहरूका किनारा खस्रो हुने कारण त्यहाँ घर्षण हुन्छ। घर्षणले प्लेटको चाललाई रोकिराखेको हुन्छ या सुस्त बनाएको हुन्छ। जब रोकिएका प्लेटको स्थितिशक्ति बढ्दै जान्छ र त्यो अवरोधात्मक घर्षण शक्तिभन्दा बढी हुन्छ तब प्लेट चिप्लिन्छन् र ठूलो कम्पन पैदा हुन्छ। टेक्टोनिक प्लेट कतिबेला चिप्लिन्छन् भन्ने पूर्वानुमान गर्न भने सकिँदैन।

बुझ्न सजिलोको लागि एक उदाहरण उल्लेख गरौं। हामी बाटोमा हिँड्दाहिँड्दै कैलेकाहीं चिप्लिन्छौं। हामीले हिँड्दा खुट्टा (जुत्ता चप्पल) र जमिनको सतहबीच घर्षण उत्पन्न भैरहेको हुन्छ, जसले हामीलाई चिप्लिनबाट बचाएको हुन्छ। जुन अवस्थामा यस्तो घर्षण बल हाम्रो शरीको बल (स्थितिशक्ति)भन्दा कम भैदिन्छ, हामी चिप्लिन्छौं। चिप्लिने त खुट्टा हुन् तर यसको कम्पन र असर टाउकोसम्मै पुगेको हुन्छ। हामी कतिबेला चिप्लिन्छौं भन्ने पूर्वजानकारी हुँदैन। तर चिप्लिने जोखिमयुक्त बाटोको बारेमा भने हामीलाई थाहा हुन्छ।

ठीक यस्तै टेक्टोनिक प्लेट कतिबेला चिप्लिन्छन् र भूकम्प जान्छ भन्ने कुरा पहिले नै थाहा हुँदैन। तर टेक्टोनिक प्लेटको चिरा र किनारा कताकता छन् र भूकम्पका लागि जोखिमयुक्त क्षेत्र कुनकुन छन् भन्ने कुरा भने वैज्ञानिक अध्ययन अनुसन्धानले पत्ता लगाएका छन्। त्यहाँ हामीले उच्च सावधानी अपनाउनु आवश्यक हुन्छ।

भूकम्पबारे पूर्वजानकारी साँचो हो ?


प्रकाश तरंग र ध्वनि तरंगजस्तै हाम्रो वातावरणमा विभिन्न प्रकारका प्राकृतिक तथा कृत्रिम तरंगहरू रहेका हुन्छन्। तिनीहरूको गति अति तीव्र हुन्छ। साधारणतया तरंगहरूको गतिको तुलनामा यान्त्रिक गति अति न्युन हुन्छ। उदाहरणका लागि सिधा सडकमा तीव्र गतिमा आइरहेकाे कारले टाढैबाट हर्न बजायो। हामीले हर्नको आवाज पहिले नै सुनिसकेका हुन्छौं तर कार केही समयपछि मात्रै नजिक पुग्छ। कारको गतिभन्दा हर्नले निकालेको ध्वनि तरंगको गति बढी छ। आवाज सुनेर हामी कार आइरहेको प्रति सतर्क हुन्छौं।

भूकम्प जाँदा त्यसबाट पनि विभिन्न प्रकारका तरंग पैदा भैरहेका हुन्छन्। भूकम्पले उत्पादन गर्ने साधारण तरंगलाई सिस्मिक वेभ (Sesmic Wave) भनिन्छ। पृथ्वीको भित्री भागमा रहेका भूकम्पको केन्द्रबाट उत्पादन हुने सिस्मिक वेभकाे गति करिब १० किलोमिटर प्रतिसेकेन्ड हुन्छ भने सतहमा उत्पादन हुने सिस्मिक वेभकाे गति करिब ६ किलोमिटर प्रतिसेकेन्ड हुन्छ। तर भूकम्पको कम्पनकाे गति करिब २ देखि ३ किलोमिटर प्रतिसेकेन्ड हुन्छ। यसको अर्थ केन्द्र (हाइपोसेन्टर) मा पैदा भएको भूकम्पको कम्पन सतह (इपिसेन्टर) मा पुग्नुअगावै त्यसले उत्पादन गरेका तरंगहरू सतहमा पुगिसकेका हुन्छन्। त्यही अवस्था सतहमा प्रसार हुँदा पनि हुन्छ। यसरी कम्पनभन्दा तरंगहरू एक सेकेन्डभन्दा कम वा बढी समय छिटो पुग्न सक्छन्। केन्द्रको दुरीमा त्यो भर पर्छ।

भूकम्पको हाइपोसेन्टर सतहभन्दा बढी गहिराइमा छ भने केही बढी समय अगावै तरंग सतहमा आइपुग्छन् भने हाइपोसेन्टरको गहिराइ कम भएमा थोरै समय अघि मात्र तरंग छिटो सतहमा पुग्छन्। उदाहरणको लागि पछिल्लोपटक जाजरकोटमा गएको भूकम्पको हाइपोसेन्टर जमिनको सतहबाट करिब १७ किलोमिटरभित्र रहेको अनुमान गरिएको छ। यसमा हिसाब गर्दा केन्द्रको कम्पन सतहमा पुग्न करिब ६ देखि ८ सेकेन्ड समय लाग्यो भने तरंग सतहमा पुग्न करिब २ सेकेन्ड समय लाग्यो। यसरी हेर्दा भूकम्पको कम्पनभन्दा यसले उत्पादन गरेका तरंगहरू करिब ४ देखि ६ सेकेन्ड अगावै सतहमा पुगिसकेका थिए।

यदि हामीसँग कुनै सिस्टम उपलब्ध हुने हो भने हामीले ४ सेकेन्ड अगावै भूकम्प आउने सूचना थाहा पाउन सक्थ्यौं। ४-६ सेकेन्ड समयले आकस्मिक अवस्थामा ज्यान जोगाउने उपाय अवलम्वन गर्न ठूलो मद्दत गर्नसक्छ। यो त भूकम्प गएको केन्द्रबिन्दु आसपासको कुरा हो। तर केन्द्रबाट जति टाढा गयो उति नै तरंग छिटो र कम्पन ढिलो पुग्छ। जस्तो भूकम्पको केन्द्रदेखि ५० किलोमिटर टाढाको कुनै ठाउँमा सिस्मिक तरंग पुग्न ५ देखि ८ सेकेन्ड लाग्छ भने जमिनको कम्पन पुग्न करिब १६ देखि २५ सेकेण्ड समय लाग्छ। यसको अर्थ भूकम्पको कम्पनभन्दा कम्तिमा ८ सेकेन्ड अगावै तरंग पुगिसकेको हुन्छ।

यही तथ्यलाई आधार बनाएर भूकम्प पूर्वसूचना प्रणालीको परिकल्पना गरिएको हो।

मोबाइलमा सूचना आउँछ ?


सबभन्दा पहिले अमेरिकाको क्यालिफोर्नियामा ‘सेक अलर्ट सिस्टम’मार्फत भूकम्पको पूर्वसूचना प्रविधि विकास गरिएको थियाे। क्यालिफोर्निया सरकारसँगको सहकार्यमा ‘सेकअलर्ट कम्पनी’ ले ‘माइसेक एप’ मार्फत सेवा दिइरहेको थियाे।
यसमा सिस्मिक वेभलाई सजिलै डिटेक्ट गर्नसक्ने यन्त्र ‘सिस्माेमिटर’ निर्माण गरिएकाे छ। उसले आफ्नै सर्वरसमेत निर्माण गरेको छ।

सिस्माेमिटरले हाइपोसेन्टरबाट आएका सिस्मिक वेभलाई ग्रहण गर्छ र सूचना सर्वरमा पठाउँछ। सर्वरले उक्त सूचनालाई उचित प्रशोधन गरेर इन्टरनेटमार्फत आफ्ना ग्राहकसम्म पुर्‍याउँछ। यो सूचना प्रशारणको गति करिब करिब प्रकाशको गतिसँग तुलना गर्न सकिने अनुरुप तीव्र हुन्छ। यसको अर्थ सिस्माेमिटरले सिस्मिक वेभ ग्रहण गरिसकेपछि सर्वर हुँदै ग्राहकसम्म सूचना पुग्न एक सेकेन्डको पनि ज्यादै थोरै अंश समय लाग्छ। तर कैलेकाहीं सिस्मोमिटरले तरंग ग्रहण गर्न समय लगाउन सक्छ।

तरंगको अनियमित दिशा र अन्य अवरोधकहरूका कारण यो समस्या देखिनसक्छ। यस्तो हुँदा भूकम्प र सूचनासँगै आइपुग्ने या भूकम्पभन्दा पछि सूचना पुग्नेसमेत हुनसक्छ। तर यो समस्या न्यूनीकरण गर्न उच्चतम प्रयत्न गरिएको हुन्छ। यो सूचना इन्टरनेटको उपलब्धतामा मात्र प्राप्त हुने हुँदा ग्राहकले प्रयोग गरिरहेको इन्टरनेटको अवस्थाले पनि यसलाई प्रभावित गर्नसक्छ।

०००

पछि एन्ड्रोइडले यो प्रणालीलाई पछ्याउने योजना बनायो। सन २०१९ मा क्यालिफोर्नियामा सेकअलर्ट र गुगलसँगको सहकार्यमा एन्ड्रोइडले यो परीक्षण गर्‍यो। परीक्षण सफल भएपछि २०२० मा पहिलोपटक क्यालिफोर्नियामा एन्ड्राेइड अर्थक्वेक
अलर्ट प्रणाली सञ्चालन गरियो। क्यालिफोर्नियामा अहिले माइसेक एप, एन्ड्राेइड अर्थक्वेक र वायरलेस इमर्जेन्सी अलर्ट गरी तीन फरक भूकम्प पूर्वसूचना प्रणालीहरूले सेवा दिइरहेका छन्।

एन्ड्रोइडले क्यालिफोर्नियापछि अमेरिकाका धेरै राज्यमा यो प्रणाली विस्तार गर्‍यो। अमेरिका बाहिर न्युजिल्याण्ड र ग्रीसमा समेत यो प्रणालीको सफल परीक्षण र बिस्तारसँगै एन्ड्रोइडले विश्वभरि नै एन्ड्राेइड अर्थक्वेक अलर्ट सिस्टम बिस्तार गर्ने योजना बनाएको छ। अहिले विश्वका धेरै देशहरुमा यो सेवा बिस्तारको काम भैरहेको छ। यही सेप्टेम्बर अन्तिम साताबाट भारतमा पनि यो सेवा सुरु भैसकेको छ।

पछिल्लो हप्ता भारतमा आफ्नै सर्वर जडान गरेर एन्ड्रोइडले सेवा सुरु गरेको हो। भारतमा सेवा सुरु भएको केही दिनमै नेपालको जाजरकोटमा भूकम्प गयो, जसको पूर्वसूचना भारतका धेरै ग्राहकका मोबाइलमा सम्प्रेषण भयो। तर धेरै सेवाग्राहीले आफ्नो मोबाइलमा सन्देश नआएको गुनासो गरे। सुरुवाती चरणमा केही प्राविधिक त्रुटि देखिएकोले तिनलाई सुधार गर्न थप कार्यहरू भैरहेको एन्ड्रोइडले जनाएको छ।

एन्ड्राेइड अर्थक्विक अलर्ट सिस्टमले कसरी काम गर्छ ?


आइफोन तथा एन्ड्रोइड मोबाइलहरूमा विभिन्न प्रकारका तरंगहरूसँग संवेदनशील उपकरणहरू जडान गरिएको हुन्छ। तिनले हाम्रो वातावरणमा भएका त्यस्ता तरंगहरू ग्रहण गर्ने र आवश्यक प्रतिक्रिया निर्माण गर्ने गर्दछन्। पछिल्लोपटक निर्माण भएका आइफोन तथा एन्ड्रोइड मोबाइलहरूमा भूकम्पीय तरंग सिस्मिक वेभ संवेदनशील उपकरणसमेत जडान गरिएको छ।

यस प्रणालीअनुसार प्रत्येक एन्ड्रोइड मोबाइलले एक मिनी सिस्माेमिटरको काम गर्छ। कुनै स्थानमा भूकम्पको हाइपोसेन्टरबाट आएका भूकम्पका तरंग यसले ग्रहण गर्छ, यसले तुरुन्तै उक्त खबर आफ्नो सर्वरमा पठाउँछ। जब धेरै मोबाइलबाट यस्ता खबरहरू एकैपटक सर्वरले पाउँछ, त्यसले उचित प्रशाेधन गरेर सूचना आफ्नो प्रणालीभित्रका सबै एन्ड्रोइड सेटहरूमा पठाउँछ। यसरी आएको सन्देश ‘अर्थक्वेक नियर मी’ लेखिएको सन्देश वा अरू कुनै नोटिफिकेसन साउन्ड वा सन्देश मोबाइलमा आउन सक्छ। तर यसरी सन्देश आदानप्रदान हुनको लागि पनि एन्ड्रोइड मोबाइलमा इन्टरनेट सेवा भने सुचारु (अन) भएको हुनुपर्छ। वाइफाइ वा सेलुलर डाटा कनेक्सन छैन वा अफ छ भने यो सूचना आदानप्रदान हुन सक्दैन। तसर्थ यो सुविधाको लागि मोबाइलमा वाइफाइ वा डाटा कनेक्सन अन राखिराख्नु अनिवार्य छ।

पुराना एन्ड्रोइड सेटहरूमा एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्छ भने सन २०२० पछि निर्माण गरिएका सबै एन्ड्रोइड सेटहरूमा अर्थक्वेक डिटेन्सन डिभाइससहित एपसमेत राखिएको हुन्छ। साधारणतया यो एप अन मोडमा नै हुन्छ। कैलेकाहीं कुनै कारणले यो अफ मोडमा हुनसक्छ, जसलाई प्रयोगकर्ताले अन गर्नुपर्ने हुन्छ।

यसको लागि मोबाइलको सेटिङकाे सेफ्टी एन्ड इमर्जेन्सीमा गइ अर्थक्वेक अलर्ट अन गर्नुपर्छ। त्यसो नदेखिएमा लाेकेसनमा गएर अर्थक्वेक अलर्ट देखिन्छ। त्यसलाई अन गर्नुपर्ने हुन्छ। आवश्यक परे यो सिष्टम अफ गर्न पनि सकिन्छ।

यसका केही सीमा छन्। यो प्रविधिले ४.५ म्याग्निच्युडभन्दा माथिको भूकम्पबारे मात्रै सूचना निर्माण गर्न सक्छ। वेभ प्रशारण हुने बाटोमा हुनसक्ने विविध अवरोधका कारण कुनै स्थानमा यो सिस्टमले काम नगर्न सक्छ या ढिलो गर्न सक्छ।

नेपालमा एन्ड्राेइड अर्थक्विक अलर्ट सिस्टम सेवा उपलब्ध छ?


एन्ड्रोइडले नेपालमा एन्ड्राेइड अर्थक्वेक अलर्ट सिस्टम सेवा विस्तार गरेको छैन। त्यसैले भूकम्प जाँदा सिस्टमबाट त्यस्तो सन्देश आउँदैन। तर गुगलले यसबारे जानकारी गराउँछ। २०२० पछि निर्माण भएका हरेक एन्ड्रोइड सेट र स्मार्टफोनहरूमा मिनीसिस्मोमिटर डिभाइस जडान गरिएकोले त्यसले सिस्मिक वेभहरूप्रति प्रतिक्रिया जनाइहाल्छ र त्यसलाई गुगलले ग्रहण गरेर सूचना निर्माण गर्दछ। यसको अर्थ भूकम्प आइपुग्नु अघि गुगलको सन्देश आउँछ। जाजरकोटमा भूकम्प जाँदा समेत धेरै उपभोक्ताको मोबाइलमा गुगलको नोटिफिकेसन आएको थियो।

तर धेरै सर्वसाधारणहरू यो सूचना प्रणालीसँग परिचित नभएका कारण यसको उपयोग गर्न सकेनन्। भविष्यमा त्यस्तो नोटिफिकेसनले समेत ठूलो मद्दत गर्नेछ।

प्राकृतिक प्रकोपहरू कतिपय रोकथाम गर्न सकिने या न्यूनीकरण गर्न सकिने छन् भने कतिपय हाम्रो नियन्त्रण पहुँचबाहिर छन्। भूकम्प न त रोकथाम गर्न सकिन्छ, न त न्यूनीकरण नै। न त यसको लामो समयअघि नै पूर्व जानकारी नै हुन्छ। त्यसैले जोखिमयुक्त स्थानका बासिन्दाले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि पहिले नै उच्चतम सावधानी र आवश्यक पूर्वतयारीहरू गर्नुपर्छ। मुख्यतः मापदण्डअनुरूप भौतिक संरचनाहरू निर्माण गर्ने र सँगसँगै सुरक्षित स्थानहरूको व्यवस्था सधैं गरिराख्ने। त्यसबाहेक केही सेकेन्डअघि मात्रै थाहा हुने अलर्ट सिस्टमले पनि आकस्मिक अवस्थामा मानिसको ज्यान जोगाउनका लागि ठूलो मद्दत गर्न सक्छ।

निश्चिन्त बनौं- आजका दिनसम्म भूकम्प आउनेबारे केही मिनेट, केही घण्टा वा केही दिन अगावै थाहा हुने कुनै पनि प्रविधि पत्ता लागेको छैन। यदि कसैले त्यस्तो कुरा गर्छ भने त्यो भ्रमसिवाय अरू केही हैन। अपेक्षा गरौं, भविष्यमा त्यस्तो कुनै प्रविधि पत्ता लाग्नेछ। तर केही सेकेन्डअघि सूचना प्रप्त हुने प्रणाली विकास भैसकेको छ। त्यसको सदुपयोग गरौं।

कात्तिक २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्