भूकम्प, मानसिक तनाव र प्राथमिक मनोवैज्ञानिक सहयोग

विसं २०८०, कात्तिक १७ गते (नोभेम्बर ३ तारिक २०२३) शुक्रबार पश्चिम नेपालको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ३५ हजार मानिस घरबारविहीन भएका छन्, १७ हजार सात सय घर पूर्णरूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केकाले बस्न नमिल्ने भएका छन्। भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको छ, तीमध्ये ८३ जना महिला र ७० जना पुरुष छन् भने २६४ जना घाइते भएका छन्।
भूकम्प र मानसिक स्वास्थ्यमा असर
स्वाभाविक रूपमा अकस्मात भूकम्पको विपदले गर्दा यसको असर भूकम्पबाट प्रभावितहरूमा केही दिन, साता र तीन, चार महिना रहन सक्छ जुन असामान्य परिस्थितिको सामान्य प्रतिक्रिय हो। भूकम्पबाट प्रभावितमा देखिन सक्ने लक्षणमा डर लाग्ने, नराम्रो सपना देख्ने, डराउने, टोलाउने, बोल्न मन नलाग्ने, झसंग हुने, फेरि भूकम्प आउने हो कि भन्ने डर, रुन मन लाग्ने, गुमाएका आफन्त सम्झिएर भक्कानिने, भोक नलाग्ने, निद्रा नपर्ने, अचानक ब्युँझिने, ऐंठन हुने, घटनालाई एकोहोरो सम्झिएर बस्ने आदि।
भूकम्पमा परी ज्यान गुमाएको नजिकको व्यक्तिलाई सम्झिरहने र बचाउन नसकेकोमा ग्लानि महसुस गर्ने, अपराधी मनोवृत्ति बढ्ने, शारीरिक समस्या देखिने, कुनै कुरामा ध्यान दिन नसक्ने, भविष्य अन्योल देख्ने समस्या, मदिराको लतमा लाग्ने, सन्तान गुमाएका दम्पतीले मनमा गुम्साएको पीडालाई रिस र आवेगमार्फत एकअर्कामा पोख्नेजस्ता समस्या हुन सक्छ। बालबालिकामा औंला चुस्ने, झसंग हुने, बिछ्यौनामा पिसाब गर्ने, आमाबुबासँग सधैं टाँसिएर बस्ने, नसुत्ने, खान नमान्ने, नखेल्नेलगायत असर देखिन सक्छ। तनावमा रहने, चिटचिटाहट हुने, नराम्रो सपना देख्ने र त्यसलाई वास्तविक ठान्ने, स्कुल जान डराउने, ध्यान केन्द्रित गर्न नसक्ने र साथीभाइसँग नखेल्नेजस्ता असर देखिने विभिन्न अध्ययनको निष्कर्ष छ। भूकम्पबाट प्रभावितमा माथिका लक्षण तीन, चार महिनाभन्दा बढी समयसम्म रहेमा त्यसले डिप्रेसन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर, आत्महत्या गर्ने सोच आउन सक्छ।
प्राथमिक मनोवैज्ञानिक सहयोग
प्राकृतिक विपत्ति तथा मानवद्वारा सिर्जित अन्य दुःखद घटनाले समाजमा असहज अवस्था उत्पन्न गराउँछ। यस्तो असहज अवस्थालाई सामान्य बनाउन भावानात्मक सहयोग अत्यावश्यक हुन्छ। प्रभावित व्यक्ति र परिवार र समुदायलाई दिइने भावनात्मक तथा व्यावहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो।
विभिन्न घटनाका कारण उत्पन्न असहज सामाजिक तथा मानसिक अवस्थालाई सहज बनाउन लगतै सुरुमा दिइने मनोवैज्ञानिक सहयोगलाई प्राथमिक मनोवैज्ञानिक सहयोग भनिन्छ।
विभिन्न प्राकृतिक प्रकोप तथा मानव सिर्जित समस्याबाट उत्पन्न हुने आफन्तको मृत्यु, आफ्नो तथा परिवारका सदस्याहरूको अपर्झट कडा बिरामी, अंगभंग, ठूलो चोटपटक, धनसम्पत्ति, घर व्यवसायमा आएको क्षति वा सम्भावित खतराले ल्याएको तनाव, डर, असुरक्षित महसुस, दुविधा घटाउन दिइने सेवालाई नै प्राथमिक मनोवैज्ञानिक सहयोग भनिन्छ।
प्राथमिक मनावैज्ञानिक सहयोगका उद्देश्यअन्तर्गत प्रभावित व्यक्ति/समुदायलाई तत्काल शारीरिक तथा भावनात्मक सुरक्षा प्रदान गर्ने, मानिसबीच आदरपूर्वक र भेदभावविहीन सम्बन्ध स्थापना गर्ने, प्रभावित व्यक्तिलाई शान्त र भावनात्मक रूपमा स्थिर बनाउने, प्रभावित व्यक्तिलाई गम्भीर प्रकारका मनोवैज्ञानिक वा मानसिक समस्या हुनबाट जोगाउने, प्रभावित व्यक्तिहरूका तत्कालीन आवश्यकता पत्ता लगाउने र सोहीअनुसारको व्यावहारिक सहयोग प्रवद्र्धन गर्ने, जतिसक्दो चाँडो प्रभावित व्यक्तिलाई उनीहरूका परिवार, साथीभाइ, छरछिमेकलगायत अन्य सामाजिक सहयोग सञ्जालसँग जोड्ने, घटनापश्चात् परेको मनोवैज्ञानिक समस्या वा कठिनाइसँग सामना गर्नका लागि व्यक्तिलाई सहयोगी सूचना प्रदान गर्ने, समस्यामा रहेका व्यक्तिलाई पूर्णरूपमा सामान्य जीवनमा फर्किन आवश्यक पर्ने सहयोगको पहिचान गर्ने रहेका छन्।
प्राथमिक मनोवैज्ञानिक सहयोगका मुख्य तीन सिद्धान्त अवस्था हेर, सुन र समन्वय गर रहेका छन््। प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्दा व्यावहारिक सहयोग प्रदान गर्ने र प्रभावितको आवश्यकता एवं गुनासोको लेखाजोखा गर्ने। प्रभावितको आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्ने। प्रभावितहरूको कुरा सुन्ने तर बोल्न दबाव नदिने, समस्यामा परेकाहरूलाई स्थिर हुन सहयोग गर्नेजस्तै आरामदायी अभ्यास, व्यायाम, योग, थेरापी गर्ने। थप जोखिम हुनवाट जोगाउन सूचना र सहयोगबारे जानकारी दिने र थप सहयोग आवश्यक गरे सिफारिस गर्ने।
प्राथमिक मनोवैज्ञानिक सहयोग कसलाई दिने ?
भूकम्पको घटनामा परी असुरक्षित महसुस गरेका, द्विविधामा परेका, अस्थिर भइरहेका तथा सशंकित महसुस गरिरहेका बालबालिका, किशोरकिशोरी, वयस्क, बूढाबूढी, आपतकालीन वा दुर्घटनाग्रस्त क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने कार्यकर्ता तथा कर्मचारीलाई प्राथमिक मनोवैज्ञानिक सहयोग आवश्यक पर्न सक्छ।
प्राथमिक मनोवैज्ञानिक सहयोग कसले दिने ?
प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी तालिमप्राप्त वा आवश्यक ज्ञान तथा अनुभव भएका जोकोही व्यक्तिले यो सहयोग प्रदान गर्न सक्छन्। मनोविज्ञ तथा मानसिक चिकित्सक, मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता, सामाजिक कार्यकर्ता तथा स्वयंसेवक, शिक्षक, समुदायका अगुवा, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, परम्परागत उपचारकर्मी, कलाकार, लेखक, निर्वाचित जनप्रतिनिधि, सरकार तथा सामाजिक अभियन्ताले घटना भएको केही दिनपछिबाट प्राथमिक मनोवैज्ञानिक सहयोग दिन सक्नुहुन्छ। जब कुनै ठाउँ वा समुदायमा प्रकोप वा दुर्घटना हुन्छ, तब त्यस समुदायको परिस्थितिको अवलोकनअनुसार शीघ्र सहयोग आवश्यक भएमा प्राथमिक मनोवैज्ञानिकको सहयोग दिनुपर्छ।
प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्दा आवश्यक पर्ने व्यवहार
प्राथमिक मनोवैज्ञानिक सहयोगको उद्देश्य भनेको व्यक्तिको तनाव कम गर्ने, तत्कालीन आवश्यकतामा सहयोग गर्ने र दैनिक कार्यलाई नियमित बनाउन सहयोग गर्ने हो, त्यसैले व्यक्तिले अनुभव गरेका आघातजन्य अनुभव र गुमाएका चिज–वस्तुबारे कुरा नगर्नुहोस्। सबभन्दा पहिले हस्तक्षेप नगरीकन अवस्था अवलोकन गर्ने र अनि मात्र आफूले के सहयोग गर्न सक्छु भनेर आदरपूर्वक सोध्ने। इदि, आवश्यक भएमा व्यक्तिलाई व्यावहारिक सहयोग गर्ने। अवलोकन गरी, यदि चाहेमा मात्र परिवार, अन्य अवस्थाबारे कुराकानी गर्नुहोस्। विस्तारै बोल्नुहोस् र सरल भाषा प्रयोग गर्नुहोस्।
यदि, व्यक्तिले बोल्न चाहन्छ भने, उसले के भन्न खोज्दै छ र आफूले कसरी सहयोग गर्न सकिन्छ भन्ने दृष्टिले ध्यान दिएर सुन्नुहोस्। व्यक्तिका सकारात्मक प्रयासलाई प्रोत्साहन गर्ने र तत्कालीन जिज्ञासालाई समेट्ने गरी उपयुक्त र सही जानकारी दिने। व्यक्ति तथा समुदायका लागि सजिलै उपलब्ध रहने। आवश्यकताअनुसार गोपनियता कायम गर्नुहोस्। सेवाग्राहीको समस्या र आवश्यकता हेरीकन सहयोगका लागि सिफारिस प्रणाली स्थापना गर्न पैरवी गर्नुहोस्। व्यक्तिका समस्या/अवस्थाप्रति संवेदनशील हुनुहोस्। आफ्नो भावनात्मक र स्व–हेरचाहका उपायमा अभ्यास गर्नुहोस्।
तालिमप्राप्त व्यक्तिले यो सहयोग दिँदा मानसिक सुस्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम रहन्छ। साइकडेस्क फाउन्डेसन, द स्कुल अफ साइकलोजी नेपाल, एसोसिएसन अफ साइकलोजिस्टस् इन नेपाललगायत अन्य संस्थाका मनोविद् र काउन्सलरको करिब २० जनाको टोलीले १ महिनासम्म निःशुल्क प्राथमिक मनोवैज्ञानिक सहयोग तथा आवश्यक परेकालाई मनोविमर्शको सहयोग प्रदान गरिरहेको छ।
कात्तिक २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्