दसैँ बिदापछि कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिने

सिमकोेट – दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी दसैँ बिदामा घर गएर कार्यालयमा नफर्केपछि गाउँपालिकाले कारबाही गर्ने भएको छ। राज्यबाट पारिश्रमिक लिने तर कार्यालयमा उपस्थित नै नहुने अवस्था आएपछि गाउँपालिकाले त्यस्ता कर्मचारीलाई नियमानुसार कारबाही गर्न लागेको हो।

गाउँपालिकामा सेवाग्राही सेवा लिन आए पनि कर्मचारी नभएको कारण काम नगरी उनीहरूलाई फिर्ता हुनुपर्ने अवस्था सिर्जना भएको थियो। सेवाग्राहीले सेवा नपाएको गुनासो आएपछि गाउँपालिका अध्यक्ष प्यारीलाले शाहीले कर्मचारीको हाजिरी छड्के गर्दा कार्यालयमा ३२ जना कर्मचारी रहेको र कार्यालयमा २२ जना कर्मचारी अनुपस्थित रहेको पाइएको बताए।

सेवाग्राहीको गुनासो आएपछि हाल काठमाडौंमा रहेका प्रशासकीय अधिकृत सीताराम राईलाई फोन गरेर कार्यालयमा आउन पटक–पटक आग्रह गर्दा पनि तिहार अगाडी आउन नसक्ने बताएको अध्यक्ष शाहीले जानकारी दिए। प्रशासकीय अधिकृत राई दसैँ पछि कार्यालयमा उपस्थित भएका छैनन्।

कर्मचारीकै कारण सेवाग्राहीले दुःख पाएको महसुस आफूले पनि गरिरहेको र अब नियमानुसार कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कारवाही गर्ने उनले बताए।

उनले अधिकांश जिम्मेवार कर्मचारी कार्यालयमा उपस्थित नभएका कारण कार्यालयले सम्पादन गर्ने अधिकांश काम रोकिनुका साथै आर्थिक कारोवार ठप्प रहेको बताए।

प्रशासकीय अधिकृत राईले दसैँ बिदा हुनुभन्दा अगाडि पनि केही दिन बसेर कार्यालयको काम गरेर जान अध्यक्ष शाहीले आग्रह गर्दा पनि त्यतिबेला नमानेको अध्यक्ष शाहीले बताए।

कात्तिक २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्