सुरक्षाकर्मीले गरे हिल्सा क्षेत्रका सीमास्तम्भको संयुक्त अनुगमन (फोटो फिचर)

सिमकोट – हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भको दुई देशका सुरक्षाकर्मीले संयुक्त अनुगमन गरेका छन्। दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्थाबारे संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गुन्जन प्रताप मल्लका अनुसार हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीका (बिओपी) सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीको सहभागितामा हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका सीमास्तम्भको संयुक्त अनुगमन गरिएको छ।

 वर्षमा तीन पटक यसरी संयुक्त रुपमा सीमा स्तम्भको अनुगमन गर्नुपर्ने भए पनि यस वर्षको पहिलो अनुगमन गरिएको हो। हिल्सादेखि किटसम्मका नेपाल र चीनको सिमानाका नौ वटा सीमास्तम्भको संयुक्त अनुगमन गर्न नेपाली सुरक्षाकर्मीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक पप्पु यादव र चिनियाँ सुरक्षाकर्मीको तर्फमा निरीक्षक फरेष्ट लियोले गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक यादवले दुई देशका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमास्तम्भ अनुगमन कार्य हिल्सादेखि किटसम्मका पाँच (१) र (२), ६(१)र ६(२), ७ (१), ८ (१) र ९(१) र (२) नम्बरका सीमास्तम्भको भएको बताए।

यी सबै सीमास्तम्भको अवस्था राम्रो रहेको निष्कर्ष संयुक्त सुरक्षाकर्मीको अनुगमन टोलीले गरेको उनले बताए। यसका लागि दुवै देशका ११–११ जना सुरक्षाकर्मी खटिएका थिए।

नेपाली सुरक्षाकर्मीले नियमानुसार सीमा स्तम्भको अनुगमन गर्न तयार भए पनि चिनियाँ सुरक्षाकर्मीको केही ढिलाइ गर्ने गरेको कारण तोकिएको अवधिमा भने अनुगमन हुन सकेको छैन। दुई देशका सीमा सुरक्षाकर्मीको काउण्टर पार्टको बैठक भने नियमित हुने गरेको छ।

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्