दिनभरिका १० मुख्य समाचार

सरकारले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ। युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औं सम्मेलन (कोप- २८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रूपमा प्रस्तुत गर्ने बताएको हो।

000

युरोपेली सङ्घ (इयूले) जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ। इयूले  मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको इयूले जनाएको छ।

000

हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भको दुई देशका सुरक्षाकर्मीले संयुक्त अनुगमन गरेका छन्। दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्थाबारे संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो।

000

तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा प्रहरीले एक सय ६५ जनालाई पक्रेको छ। उनीहरुको साथबाट  ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

000

मधेशको प्राचीन मिथिला क्षेत्रको पर्व छठ व्रतको तयारी थालिएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीका अर्थात भोली ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ। यस्तै, काठमाडौँमा रहेका नदी तथा पोखरीहरुमा पनि छठपर्वका लागि तयारीको काम थालिएको छ।000

श्रीमतीको हत्या आरोपमा प्रहरीले अछाममा एक जनालाई नियन्त्रणमा लिएको छ। मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान शेरबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन्।

000

चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ। बिहीबार चलचित्र ‘दिमाग खराब’का निर्माता र नेपाल चलचित्र संघबीचको छलफल सकारात्मक भएपछि चलचित्र आगामी मंगलबार (मंसिर ५ गते) सम्म प्रदर्शन हुने भएको हो। पर्याप्त शो नदिइएको भन्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेको थियो।

000

चार देश सम्मिलित टि ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो। यो हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ।

000

बाबर आजमले तीनवटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले शाहिन शाह अफ्रिदीलाई टी–२० र शान मसूदलाई टेस्ट क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ।निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म एकदिवसीय कप्तान भने तोकेको छैन।

र,

चीनका राष्ट्रपति सी जिनपिङले चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन्। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन्। राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो। करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गरेका थिए।

000

कात्तिक ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्